दाउरा बेचेर घर चलाउँछन् महिला

नेपालगन्ज, २१ असोज । कोहलपुर–८ की उजेली थापा उज्यालो हुन नपाउँदै हँसिया र डोरी लिएर जंगलतिर दौडिन्छिन् । अँध्यारोमा जंगल पुगेर अबेर दाउरा बेचेर घर फर्किनु उनको दैनिकी नै हो । हरेक दिन जंगल जानु उनको बाध्यता हो । उनले यसैगरी ११ जनाको परिवार पालेकी छन् ।

कोहपलपुर क्षेत्रमा दाउराको भरमा परिवार चलाउने उजेली एक्ली भने होइनन् । यस क्षेत्रका अधिकांश महिलाले दाउरा बेचेरै परिवार धान्दै आएका छन् । तर, दाउरा बेचेरै भए पनि परिवार चलाएको महिलाहरू भने खुसी नै छन् । ‘दाउरा बेचेर जीवन चलाउनु कष्टपूर्ण छ,’ नेपालगन्जस्थित धम्बोझी चोकमा दाउराको भारी बिसाउँदै उजेलीले भनिन्, ‘तर दाउरा बेचेरै भए पनि चामल– दाल किन्छौँ, यसैबाट सबै परिवार पालिएको छ, खुसी नै छौँ ।’ एकाबिहानै भोकै घरबाट निस्कने गरेकी उनको आधा दिन त जंगलमै बित्छ । दाउराको खोजीमा उनी निकै टाढा–टाढासम्म पुग्छिन् । ‘नजिक दाउरा पाइँदैन निकै जंगल घुम्नुपर्छ । दाउरा बेचेर बेलुका मात्र घर फर्कन्छु,’ उनले दैनकी सुनाइन् । श्रीमान् भारतमा कमाउन गएकाले र घरमा अन्य कमाउने कोही नभएका कारण पूरै परिवार उजेलीमाथि निर्भर छ ।
यस क्षेत्रका आर्थिक अवस्वथा कमजोर परिवारका पुरुषजति भारतमा कमाउन जाने गरेका छन् । घरमा बस्ने महिलाहरूले दाउरा बेचेर परिवार पाल्ने गरेका छन् । पिपरिकी धनरुवा गिरी पनि उजेलीजस्तै पिठ्यँुमा दाउराको भारी बोकेर नेपालगन्ज आउँछिन् । पसिनाले निथ्रुक्क भिजेकी धनरुवाले हातले निधारको पसिना पुछ्दै भनिन्, ‘हाम्रो त कमाइ यही हो, परिवार यसैबाट पालिन्छौँ ।’ ५० वर्ष पार गरिसकेकी धनरुवा बिहानदेखि बेलुकासम्म दाउराको खोजीमा हुन्छिन् । बुढेसकालमा पनि दु:खसँग संघर्ष गरिरहेकी उनले जंगलबाट ल्याएको दाउरा बिक्रीका लागि नेपालगन्जका होटलका ढोकासम्म पुर्‍याउँछिन् ।
धनरुवाले एक भारीको ५० रुपियाँका दरले दाउरा बिक्री गर्छिन् तर उनको दाउरा सजिलैसँग अरूले किनिदिँदैनन् । ‘कसैले २० रुपियाँ, कसैले ३० रुपियाँमा देऊ भन्छन्,’ उनले सुनाइन्, ‘अरूको दैलोमा बेच्न लगेको माल त भइहाल्यो नि दिउँसो त ५० रुपियाँका दरले बेच्छौँ रात पर्न थाल्यो भने थोरै मूल्यमा भए पनि बेचेर जानुपर्छ ।’ थापा र धनरुवा मात्र होइन यस गाउँका सबैले यसरी नै दाउरा बिक्री गर्छन् ।
गाउँका महिला समूह बनाएर दाउरा खोज्न जंगल जान्छन् । समूहमा दाउरा खोज्दा रमाइलो हुने उमा पुन बताउँँछिन् । उनले पनि दाउरा बेचेरै जीविका चलाएकी छन् । यसैबाट आएको पैसाले चामल, नुन, तेल, दाल किन्ने गरेकी छन् । दाउरा बेचेर परिवार पाल्ने यी महिला सरकारले आफूहरूजस्ता गरिबका लागि वैकल्पिक रोजगारी दिनुपर्ने बताउँछन् ।

प्रतिक्रिया