काठमाडौंको शिक्षण अस्पतालमा इन्टर मेडिकल कलेजको फ्री युनियनद्वारा आयोजित ‘इन्टर मेडिकल कलेज कविता प्रतियोगिता’मा विभिन्न मेडिकल कलेजका विद्यार्थीको बाक्लै उपस्थिति थियो । त्यहाँ अध्ययनरत तथा बाहिरबाट आएका मेडिकलका विद्यार्थीले समसामयिक विषयमा आधारित कविता वाचन गरे । प्रतियोगी तथा अप्रतियोगी गरेर झन्डै तीन दर्जनजति वाचित कवितामा अंग्रेजी र नेपाली भाषाका पनि थिए ।
‘पोइट्री राइड्स इन एभ्री हार्ट’ लिखित ब्यानरले सबैको ध्यान केन्द्रित गरेको थियो । यहाँ विभिन्न साहित्यानुरागीले कविता वाचन गरिरहँदा मैले भेटेका (मेरो सहयात्रामा) डाक्टरहरूको झ–झल्को आइरह्यो । यी, डाक्टर र साहित्यकार सँगसँगै बन्न चाहिरहेका विद्यार्थी देख्दा म पनि आफ्नो समय र परिस्थितिको स्मृतिमा पुगेँ । जुन बेला म आफ्नो गाउँमा स्वास्थ्य स्वयंसेविका बनेर बिरामीहरूका घाउमा टिन्चर आयोडिन लगाइरहेकी थिएँ, रुवा र टेपको प्लास्टर गरिरहेकी थिएँ, गाउँलेहरूले मलाई पनि डाक्टर नै सम्झिन थालेका थिए । ‘कान्छी त डाक्टर्नी पो भइछ’ भन्थे उनीहरू । म भने भित्रभित्र लाज लागे पनि निको हुँदै गरेका घाउ लिएर आउने बिरामीलाई देख्दा आफूलाई डाक्टर नै भएछु कि भन्ने सम्झन्थेँ । त्यतिबेला लाग्थ्यो– मेरो डाक्टर बन्ने सपना यतिमै सकिन्छ त ? डाक्टर बन्न त धेरै मिहिनेत पो गर्नुपर्छ । एक महिने साधारण तालिम मात्र थियो त्यो त ।
२०४६ साल जेठ १६ गते केहीले नथाम्ने गरी पानी पर्यो । घरमाथिको महभीर सिंगै खसेर पुर्लाझैँ भयो । माथिबाट लड्दै आएका ढुंगाहरू घरमास्तिरको बारीको पाटामा आएर अडिए । मेरो तालिमको चौथो दिन चल्दै थियो । वारिपारि देखिने साना खोल्सा पनि पत्पती धुँवा उडाउँदै बग्न थाले, तर्नै नसकिने गरी । हिउँदे खोलो बहुलाएर वरपरका सब थोक बढारेर ल्याएर किनारामा थुपार्दर्ै थियो । म त्यो पानी र आँधीबेहरीले गर्दा तालिममा जान रोकिनु पर्दा नमीठो मन पार्दै घरमै बसेकी थिएँ । १२ गतेदेखि मात्र सुरु भएको तालिममा जान नपाउँदा दिक्क लागेको थियो । लामोलामो सुस्केरा काढ्न मन लाग्थ्यो मलाई । भर्खरै एसएलसी सकेर फुर्सदको समय यसरी नै सदुपयोग हुँदै थियो । वर्षा रोकिने छाँटकाँट थिएन । हिजो हिँडेको बाटो त्यहाँ छैन जस्तै थियो वर्षाले । अघिल्लो सालको भुइँचालो सम्झँे । भोलिपल्ट बल्ल पानी रोकियो । गिलो भएको धर्ती टेक्तै घट्तो खोलो तर्दै म इवा हेल्थपोस्ट आइपुगेँ, मनमा अनौठो तरंग बोकेर । त्यहाँ आफ्ना लुगा बाहिर सेता गाउन लगाएका अहेव र डाक्टरहरूलाई देख्दा हामीचाहिँ कहिले यस्तो लुगा लगाउने हुने होला ? भनेर मनमा एक किसिमको हुटहुटी लागिरहन्थ्यो । तालिम सकिएपछि विभिन्न औषधिका बक्स, नियोजनका साधनसहित हामीलाई बिदा गरे, हेल्थपोस्टबाट फूलका बुके दिएर ।
आफ्नो यात्रा निरन्तर थियो । गाउँ घर छाडी सहरको पढाइलाई रोजियो । यहाँ त हरेक कुराको विकास एकै साथ पो हुँदो रहेछ जस्तो लाग्थ्यो । धुवाँ र धुलोको एलर्जीले छुनथाल्यो र डाक्टरकहाँ धाउन थाल्नुपर्यो । अनि, फेरि आफू गाउँमा स्वास्थ्य स्वयंसेविका भएको याद आइरहन्थ्यो । धुलोको एलर्जीबाट भएको आज्माको उपचारका लागि विभिन्न डाक्टर तथा अस्पताल चाहारियो । मुख खोलेर हिँड्नै पाइनँ धेरै वर्ष । खानपानमा साह्रै मुख बार्नुपर्ने । यति कष्ट खपिरहँदा पनि मैले आफ्नो कार्यकाल सम्झिरहेंँ ।
यी नवोदित कवि कवियित्रीहरूले आफ्ना रचना सुनाइरहँदा, मैले देखेभेटेका धेरै डाक्टर सम्झेँ । मेरो मनले आठराईको संक्रान्तिका बोहरा डाक्टरदेखि लन्डनका मेरो र अरूको उपचारमा संलग्न तथा मैले काम गरेका अस्पताल र क्लिनिकका डाक्टरलाई समेत सम्झन पुग्यो । आफू बिदेसिएका बेला अस्पतालीय कामको क्षण सम्झेँ, सेता गाउन लगाउने डाक्टरले मैले पुछेर सनक्क पारेको भुइँ टेकिदिँदा आफूलाई भित्रभित्र रिस उठे पनि बिरामीलाई कन्भिन्स गर्नसक्ने क्षमता र शिष्टता देख्दा आनन्द लाग्थ्यो । उनीहरूले आधा बिराम त डिअर र डार्लिङ, गुड गर्ल अनि गुड ब्वाई, वेल डन भनेर हँसिलो अनुहारले नै ओरालिदिन्थे । जसो गरे पनि वेल डन भनेर पूर्णरूपले हौस्याउँथे । तर, तिनीहरू कोही पनि साहित्यकार थिएनन् । त्यो नरम र शिष्टपन नै उनीहरूको कला रहेछ, साहित्य रहेछ ।
जब म नर्सिङ पेसामा लागेंँ, त्यो सेतो कोट आफूले पनि लगाउन पाउँदा मैले स्वयंसेविका भएका बेला देखेको सपना र रहर केही मात्रमा भए पनि पूरा भएको सम्झेँ । त्यसरी सेतो पहिरनभित्र सजिन पाउँदा डाक्टरहरूकै सहोदर भएको गर्व लाग्थ्यो । डाक्टर पनि सामान्य मान्छे नै हो तर पनि उसमा सेवामुखी भाव बढी हुन्छ । विशेषता नै यही हो । डाक्टरी लाइन उनीहरूको जीविकाको पेसा हो । उनीहरूभित्र पनि भावुकताका अनगिन्ती संवेगहरू हुन्छन् तर कतिपय मानिसले उनीहरूभित्रको संवेदनालाई बुझ्ने कोसिस गर्दैनन् । डाक्टरलाई पनि गीत मन पर्ला, ऊ पनि कविता लेख्ला, उपन्यास पढ्ला, भन्ने कमैले सोच्छन् । मैले कैयौँ त्यस्ता डाक्टर देखेकी छु, जो अप्रेसन थिएटरमा छिर्नुअघि भगवान्को फोटो अघि उभिएर आँखा चिम्ली केही बेर ध्यान गर्थे । अप्रेसन थिएटरबाट निस्केपछि कोठामा बसेर भजन सुन्थे । उनीहरू शरीरका मात्र नभएर मनका समेत डाक्टर थिए । तिनले छामी दिँदा, बोली दिँदा मात्र पनि बिरामीले निको भएजस्तो अनुभव गर्थे ।
म सम्झन्छु– गीतकार भोला रिजाललाई जसले बिरामीको सेवा गर्दै गीत र संगीतमा उत्तिकै कलम चलाएका छन् । डा. राममान तृषितका गीत आज पनि बजिरहेको सुनिन्छ । डाक्टर शंकरप्रसाद उप्रेती जसले जीवनको ५० वर्ष राजधानीभन्दा टाढाको गाउँमा बसेर गरिब दु:खीको सेवामा बिताउनुभयो र अहिले स्वयं लेखन कार्यमा व्यस्त हुनुहुन्छ । म डाक्टर रवीन्द्र समीरलाई सम्झिन्छु– जो डाक्टरभन्दा बढी साहित्यकारजस्तो लाग्नुहुन्छ । यी सबैले पेसालाई मर्यादित बनाउँदै सामाजिक सेवाका अतिरिक्त साहित्य पनि उत्तिकै सिर्जना गर्नुहुन्छ, उत्तिकै लोकप्रिय हुनुहुन्छ । तर, कतिपय डाक्टरका नाममा कलंक पनि भेटिएका छन् । कसैले आफ्नो ज्ञानलाई अहं र घमण्डको माध्यम बनाई एक ठाउँ गर्नुपर्नेे अप्रेसन अर्कै ठाउँमा गरिदिएका छन् । एउटा रोगीको घाँटीमा गर्नुपर्ने अप्रेसन अर्कैको पाठेघर निकालिदिएर क्षमा मागेका छन् । यति ठूलो जिम्मेवारी बोकेका डाक्टरका लापरबाही देख्ता ती दीनदु:खी बिरामी र पीडितप्रति कसको सहानुभूति रहँदैन होला र ?
त्यही साहित्यिक कार्यक्रममा आयोजकका रूपमा रहनुभएका डाक्टर रामप्रसाद उप्रेती पनि यस कुराका लागि उदाहरण हुनुहुन्थ्यो । उहाँले आफ्नो भाषणमा सेवाका क्रममा बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको जागिरसमेत छाडी आफ्नै देश फर्की रोल्पाको सानो अस्पतालमा भुटेको मकैलाई फीका रूपमा स्विकारेर पनि रमाउँदै बसेको उहाँको अनुभव सुन्न पाउँदा हर्षले आँखा रसाए ।
मेरो मन किन हो किन त्यहीँ बस्तै बसेन । जति यी रचनाकार आफ्ना रचना सुनाउँदै जान्थे उति म अतीततिर भासिँदै जान्थेँ । । उनीहरूका कविता सुनिरहँदा म सोचिरहेकी पनि थिएँ– काँधमा स्टेथेस्कप झुन्डयाएर कविता पढिरहेका यिनीहरूले कस्तो बाटो अँगाल्ने हुन् †
कार्यक्रमको अन्तमा विशेष अतिथि भएर सम्मनित हुँदै बुके ग्रहण गर्न पाउँदा तालिम सकेर गाउँको स्वास्थ्य स्वंयसेविका बन्न बिदाई हुने क्रममा समाउन पाएको बुके सझिएँ । साहित्यिक भावनाले ओतप्रोत भएका यी डाक्टर एक हातमा कलम–कुची र अर्का हातमा कँैची चलाउँदै पनि स्वार्थरहित समाज सेवा र साहित्य सेवा गर्दै देशका जाज्वल्य तारा बनून् यही सोचिरहेंँ । यिनीहरूको साहित्यिक भावना कहिल्यै नरित्तियोस्, सधैँ प्रवाहमय भइरहोस् । साहित्यिक तालको पानी कहिल्यै नसुकोस् । यी फूलका बुकेजस्तै मनमा हौसला र सुन्दर प्रेरणा प्राप्त भइरहोस् ।
प्रतिक्रिया