नेपाली वाङ्मयलाई अक्षरको अभिवादन

ज्ञनगुन साहित्य प्रतिष्ठानले प्रकाशन गरेको दुई कृति, नयराज पन्तको ‘म गोबरगणेश बन्नेछु’ र शेषराज सिवाकोटीको ‘डा. जीवेन्द्र देव गिरी अक्षरको अभिवादन’ भर्खरै हात परे । यी दुई कृतिले नेपाली भाषा, साहित्य र भाषाशास्त्रीय अध्ययनको बारेमा गम्भीर भएर विश्लेषण गरेका छन् । अहिले यी दुई कृति पढिरहँदा म नयराज पन्त र शेषराज सिवाकोटीलाई अभिवादन गर्दैछु ।
नयराज पन्त नेपालका सुविख्यात ज्योतिषविद् हुन् । पछिल्लो कालमा उनी नेपाल  प्रज्ञा प्रतिष्ठानका सदस्य पनि बनेका थिए । त्यही समयमा उनले ‘लिच्छवि संवत निर्णय’ नामक कृतिका लागि मदन पुरस्कार पनि पाए । उनी हठी र निडर स्वभावका थिए । त्यसैले उनको सम्पूर्ण जीवन अपेक्षित, प्रताडित र निन्दीत रूपमा बित्यो, किनभने यस्तो अभिमानी व्यक्तिलाई यस देशमा सबैले दुत्कार्ने र घमण्डी भनेर उपेक्षा गर्ने नेपाली संस्कृति छ ।
नेपाली संस्कृतिको अर्को पाटो पनि छ । त्यो पाटो हो, बाँचुञ्जेल खाँडो जगाउने मरेपछि प्रशस्ती र श्राद्ध गर्ने । सम्भवत: मैले उनीमाथि थोरै कलम खर्चेँ भने मचाहिँ उक्त लोकापवादबाट बच्ने छु भन्ने मेरो विश्वास छ किनभने, नयराजका बारेमा मैले आफ्नो तर्फबाट जस्तो गुरुभक्ति व्यक्त गर्न सक्थँे, त्यो काम उनको जीवनकालमै नि:स्वार्थ भावले गरेको थिएँ ।
साउन २६ गते नयराज पन्तको जन्म भएको ठ्याक्कै १०० वर्ष पूरा भएको छ । त्यही अवसरमा ज्ञानगुन साहित्य प्रतिष्ठानले २०१९ सालका प्रकाशित इतिहास– संशोधनको प्रमाण–प्रेममा भाग–१ नामक ३५८ पृष्ठ लामो पुस्तकमा परेको नयराज पन्तको ५० पृष्ठ लामो मन्तव्यलाई ‘म गोबरगणेश बनेछु’ शीर्षकमा प्रकाशनमा ल्याएको छ ।
जानकारी हुनुपर्ने पक्ष के भने नयराज पन्तले लेखेका इतिहासमा केहि अशुद्धि छन् भने तिनको निराकरण गरिनुपर्छ । ००७ सालकै दशकबाट उनले काठमाडौंको ‘मासाँ गल्ली’मा एउटा उपाधिविहीन गुरुकुलीय संस्कृत शिक्षालयको थालनी गरे । त्यस शिक्षालयमा पढ्ने नयराज पन्तका २१ जवान चेलाले नेपाली इतिहास लेखमा छ्याप्छ्याप्ती पाइने अशुद्धि हटाउने अभियान २००९ बाटै आरम्भ गरे । कालान्तरमा यसै संशोधन अभियानले २०१९ सालबाट इतिहास संशोधन मण्डल भन्ने नाम पनि ग्रहण गर्‍यो । उक्त प्रकाशन मालाको २७ औं ग्रन्थ थियो– इतिहास संशोधनको प्रमाण प्रमेय । त्यसको अर्थ हुन्थ्यो, गलत ढंगले रचना गरिएका ऐतिहासिक लेखनीहरूको सप्रमाण खण्डन मण्डन ।
संशोधकहरूको विचारमा कुनै पनि भनाइको खण्डन वा आलोचना मात्र पर्याप्त हुँदैन । यसका लागि प्रष्ट्याई गर्ने आधिकारिक सामाग्री लालमोहर, ताडपत्र, शिलापत्र वा मुद्दा यस्तै केही भरपर्दो सामाग्री पनि नत्थी गरिएको हुनुपर्छ । त्यसको ज्वलन्त नमुना हो– प्रमाण प्रमेय । यस पुस्तकका रचयिता धनबज्र बज्राचार्य र अन्य सहयोगीहरूमा सात जना मेधावी संशोधक थिए । तिनैको अनुसार, उक्त पुस्तकको भूमिका लेखन नयराज पन्तलाई दिइयो तर २०१९ पछि त्यो पुस्तक फेरि प्रकाशमा आएन । सौभाग्यवश, गुणग्राही प्रतिष्ठानका संस्थापक शेषराज शिवाकोटी निजी लगानीमा योग्य बुवाका अयोग्य पुत्र डा. महेश राज पन्तको उस्तै मन्तव्यसहित उक्त शीर्षकमा यो पुस्तिकाको पुन: प्रकाशन भएको छ । जसमा संशोधन अभियानको पृष्ठभूमि, उद्देश्य र सम्भावनाबारे चाखलाग्दो विवरण दिइएको छ । र, कवितात्मक शैलीमा सो को ध्येय यसरी प्रकाश पारिएको छ ।
‘डा. जीवेन्द्र देव गिरी अक्षरको अभिवादन’ किताबचाहिँ विभिन्न २१ लेखकहरूले नेपाली केन्द्रीय विभाग, त्रिविमा सहप्राध्यापकका रूपमा कार्यरत जीवेन्द्रदेव गिरीका विषयमा विभिन्न कोणबाट लेखिएका १७२ पृष्ठ लामो पुस्तक हो । ०५२ देखि नै निरन्तर यसप्रकारका विशेषांक र जीवनीपरक पुस्तक प्रकाशित गर्दै आएका शेषराज शिवाकोटीको परिश्रमको प्रतिफल हो यो किताब, जसमा मोदनाथ प्रश्रित, सत्यमोहन जोशी, प्रा. ठाकुरप्रसाद पराजुली, प्रा. केशव सुवेदीलगायत २१ ले डा. गिरीबारे लेखेका विविध रचना समेटिएका छन् । नेपाली वाङ्मयका गम्भीर अध्येता र सूक्ष्म विश्लेषक डा. जीवेन्द्र देव गिरीबारे लेखिएको यस किताबले उनको जीवनको एउटा गम्भीर पक्षको उद्घाटन गर्छ । नेपाली वाङ्मयमा उनको योगदानको कदरस्वरूप प्रकाशित यस किताबले यी गौरवशाली विद्वानलाई पाठकमाझ चिनाउन मद्दत गर्नेछ ।

प्रतिक्रिया