भूपिन व्याकुल ‘कविताको ट्रेन्चभित्र छिरेर जीवनका आक्रमणहरूको सामना गर्न इच्छुक एक सिर्जनशील अराजक’ हुन् । नेपाली समकालीन कविताका गम्भीर हस्ताक्षर यी कविका तीन कवितासंग्रह ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक’, ‘शब्दहरूको नेपथ्य’, ‘हजार वर्षको निद्रा’ प्रकाशित छन् । उनको नयाँ निबन्धसंग्रह ‘जीवन : साझा बसको अन्तिम सिट’ प्रकाशोन्मुख छ । ‘कविता मेरो लागि एक सफल मनोचिकित्सक हो । मानसिक असन्तुलनबाट जोगिन म यो चिकित्सकको क्लिनिकमा पुगिरहन्छु र स्वस्थ बाँच्ने प्रयास गर्छु’ भन्ने व्याकुलसँग गरिएको साहित्य वार्ता ।
अहिले के लेख्दै हुनुहुन्छ ?
निबन्धसङ्ग्रह ‘जीवन : साझा बसको अन्तिम सिट’ छिट्टै बजारमा आउँदै छ । त्यसको अन्तिम तयारीमा केही समय लगानी गरेर अब प्रकाशनको प्रतीक्षामा छु । कृतिगत रूपमा निबन्धको दुनियाँमा यो मेरो पहिलो कदम हो । ज्ञात–अज्ञात निबन्धका पाठकहरूको अनुहार सम्झँदै फेरि कवितामै लागिरहेको छु । अर्को वर्ष कविता कृति ‘पागलको गीत’ निकाल्ने सोचमा छु । र, त्यसको तयारीमा छु ।
भूपेन्द्र खड्का र भूपिन व्याकुलमा फरक के छ ?
गणितीय विम्बमा भन्दा पहिलाको भूपिन व्याकुल व्यक्ति भूपेन्द्र खड्काको जीवनको मात्र एक ‘सब सेट’ थियो । भूपेन्द्र खडका ‘युनिभर्सल सेट’ थियो र तर त्यसका सबै ‘इलेमेन्ट्स’ भूपिन व्याकुलमा थिएनन् । अहिले स्थिति एक सय असी डिग्री फरक भएको पाउँछु । वर्तमानमा भूपिन व्याकुल ‘युनिभर्सल सेट’ हो र भूपेन्द्र खड्का त्यसको ‘सब सेट’ । जिन्दगीको सिंहदरबारबाट अचेल भूपिन व्याकुलले भूपेन्द्र खड्कालाई निर्देशन दिन सुरु गरेको छ । यिनीहरूको बिचमा अन्तद्र्वन्द्व जारी छ ।
साहित्यमा भन्ने गरिएको ‘मोफसल’ आफ्नो लागि कत्तिको खतरा ठान्नुहुन्छ ?
व्यक्तिगत रूपमा ‘मोफसल’मा म कुनै खतरा महसुस गर्दिनँ । यो भूगोल सिर्जनाको लागि स्वर्ग हो । बरु, अपेक्षित रूपमा लेख्न नसकेकोमा अलिक खिन्नता महसुस भइरहन्छ । खतरा त राजधानीको प्रवृत्तिमा छ । ग्लोबलाइजेसनको प्रभावले मोफसल र राजधानीको दूरी घटेको सत्य हो तर सामन्तवादी युगमा मुखियाको लौराले गाउँ चलाएझैँ साहित्यको देश चलाउन चाहने केही अनुदार मुखियाहरूले मोफसलका बलशाली स्रष्टाहरूलाई नजरअन्दाज गरेका प्रमाणहरू अझै छिटपुट देखा पर्दै छन् । मोफसलका स्रष्टाहरूले सम्पूर्णत: योग्यता राख्ने सुविधा र सम्मानबाट अझै वञ्चित गरिँदै छ उनीहरूलाई ।
दसवर्षे जनयुद्ध साहित्यका लागि उर्वर थियो भन्ने भनाइ सुनिन्छ । हाम्रो साहित्यले यसको उपयोग कुन ढंगले गर्यो ?
मैले हाम्रो युद्ध–साहित्यको व्यवस्थित अध्ययन गरेको छैन । जे जति अध्ययन गरेको छु त्यसको आधारमा विश्लेषण गर्दा लाग्छ हामीले युद्धलाई दुईवटा अति
(भहतचझभ)मा प्रतिविम्बित गर्ने कोसिस गर्यौँ । कि त वृत्त बाहिरबाट युद्धको सम्पूर्णत: विपक्षमा रहेर त्यसलाई सम्बोधन गरियो कि त युद्धको केन्द्रमा मात्र सीमित भएर त्यसको अतिरञ्जनापूर्ण व्याख्या गरियो । वास्तवमै यो मुद्दामा सन्तुलनको समस्या देखिएको सत्य हो । गोविन्द वर्तमानको ‘सोह्र साँझहरू’ सापेक्षत सन्तुलनमा लेखिएको सबैभन्दा उत्कृष्ट प्राप्ति रह्यो ।
अहिलेको कविताको केन्द्रीय स्वर के हो ?
हाम्रा सबैभन्दा शक्तिशाली कविताहरू सपनाको दुनियाँतिर उन्मुख कविताहरू नै रहे । तर, कविका सुन्दर सपनाहरूले बिपनाको धरातलमा अवतरण गर्न पाएनन् । ढिला गरी अवतरित हुन पाए पनि तिनीहरूले लामो आयु पाएनन् । कविहरू स्वप्नजीवी प्राणी हुन् । उनीहरूको स्वप्नयात्रा जारी छ । अहिले पनि कविताको केन्द्रीय स्वर आशाको संसार चियाउने तृष्णा नै हो जस्तो लाग्छ । त्यसलाई मृगतृष्णा नै भनिहाल्नु गलत हुन्छ । यद्यपि आशावादी धेरैपटक दुर्घटित भएको छ । तर, कविले अँध्यारोभित्र बसेर उज्यालो क्षितिज हेर्न छाडेका छैनन् । जुन दिन कविले अँध्यारोलाई उज्यालो प्राप्तिका रणनीति तर्जुमा गर्ने कार्यालय बनाउन छोड्नेछन्, त्यो दिन यो भूगोलभित्र मानव जीवनको सबैभन्दा सुन्दर घाम सधैँको लागि अस्ताउनेछ ।
अहिले साहित्यमा नियो माक्र्सिजम् र उत्तरआधुनिकता चर्चामा छ, यसको बारेमा तपाईंको बुझाइ के छ ?
माक्र्सवाद जीवनलाई व्याख्या गर्ने सापेक्षित रूपमा बढी विज्ञानसम्मत दर्शन मानिएको छ । विज्ञान भएकोले समयको प्रयोगशालामा यसको पुनव्र्याख्या जरुरी थियो, जरुरी रहनेछ । नियो माक्र्सिजम् माक्र्सवादको सुधारिएको र व्यापक रूप हो । विशेषत: कार्ल माक्र्सले जन्माएको सिद्धान्तमा मनोविश्लेषण, आलोचनाको सिद्धान्त र सात्र्रको अस्तित्ववादी चिन्तनको गाढा प्रभाव नियो माक्र्सिजम्मा देखिन्छ । म्याक्स बेबरको सामाजिक असमानताको सिद्धान्त यसको एक मुख्य आधार बनेको छ । नियो माक्र्ससिस्टहरू अर्थोडक्स माक्र्सिस्टहरूले व्याख्या गरेको आर्थिक असमानताले उत्पन्न गर्ने व्यक्तिको बाह्य शोषणमा मात्र सीमित नभई मनोवैज्ञानिक र अन्य सामाजिक सांस्कृतिक कारणले उत्पन्न गर्ने आन्तरिक शोषणमा समेत व्यापक छलफलको माग गर्दछन् । म पनि सामान्य रूपमा यही बाटोको निकट पाउँछु आफूलाई ।
जहाँसम्म उत्तरआधुनिकताको चर्चाको कुरा छ, व्याख्याको अन्यौलतामा यसको प्राण निसास्सिरहेको देख्छु म । मलाई यो दर्शन बढी नै अराजक लाग्दछ । माक्र्सवाद र उत्तर आधुनिकताको मुख्य पृथक्ता नै यही हो । मेरो बुझाइमा माक्र्सवाद पनि अराजक दर्शन नै हो तर यो सिर्जनात्मक छ जबकि उत्तर आधुनिकतावादमा सिर्जनात्मक अराजकता (अचभबतष्खभ बलबचअजष्कm) प्रस्ट देखिन्न । एक केन्द्रको विरुद्धमा अनन्त केन्द्रको खोजी, बहुलवाद र व्यक्तिको ‘इन्टरप्रिटेसन’ नै यथार्थ सही व्याख्या मान्ने यसका नाराहरू आकर्षक त छन् तर ती व्यावहारिकताको जमिनमा नटेकेर कतै हावामा उभिन खोजेका जस्ता लाग्छन् ।
अहिले कविता लेखनको धार कता गइरहेको पाउनुभएको छ ?
कलावादी कविताहरूको बतासले मेटाफिजिकल कविताको पहाडलाई कमजोर साबित गर्न खोजिरहेको जस्तो देखिन्छ । म कवितामा सौन्दर्यको साधक नै हुँ तर कवितामा तर्कको बहिष्करण मलाई रुचिकर लाग्दैन । कतिपय कविहरू कवितामा विचार र तर्कको कुरा आयो कि एउटा अस्वस्थ आग्रहले ग्रसित हुन थाल्दछन् । तर, इतिहास साक्षी छ, संसारका श्रेष्ठ कवितामा विचार र तर्कको चलखेल पनि छ । सेक्सपियरको ब्िि तजभ धयचमि’क ब क्तबनभ होस् वा एन्ड्रियु मार्बलको हृदय हल्लाउने प्रेमकविता त्य ज्ष्क ऋयथ :ष्कतचभकक होस्, त्यहाँ तर्कले विचारलाई पुष्टि गर्ने सार्थक प्रयास छ । खोजी गर्दा त्यस्ता कयौँ उदाहरण यता र उता दुवैतिर पाइन्छ । तर, हामीहरू सायद च्याप्टो अनुभूतिको पर्खालभित्र मात्र थुनिएर कविता लेख्न आनन्द मानिरहेछौँ । अर्कोतिर विचार र तर्कको आग्रहमा राजनीतिक गुटका घोषणापत्रको समर्थनमा कलाको घाँटी निमोठी कविता रचना गर्ने अर्को विरूप अभ्यास पनि भैरहेको देखिन्छ । यी दुवै अतिवादी धारबाट कवितालाई जोगाउनु जरुरी छ । मैले कवितालाई जीवन्त रुखसँग तुलना गरेको छु । कविताको रुख त्यसको जरा (मानवीय विचार र तर्क) र फलफूल (सौन्दर्य) बाट निर्मित हुन्छ । कुनै एकको अभावमा कविता दुर्घटित हुन्छ ।
तपाईंका कविताको मूल आधार र आदर्श के हुन् ?
मेरो कविताको प्रमुख आधार मानिसका दु:ख हुन्, जीवनका अभाव हुन् । मानिसका गहिरा दु:ख र अभावलाई सम्बोधन गरेर लेख्न मन लाग्छ तर कहिलेकाहीँ बहकिन्छु । मेरो कविताको आदर्श जीवनवादी कविताहरू हुन् ।
शास्त्रीयताबाट मुक्त भनिएका मोहन कोइरालाका क्लिष्ट कविता कत्तिको रुचाउनुहुन्छ ? र तपाईंलाई मन पर्ने कवि को–को हुन् ?
प्रयोगशीलताबिना साहित्य र कला निरस हुन्छ । त्यो मानिसको रुचिको सिमानाबाहिर पुग्ने सम्भावना हुन्छ । तर, प्रयोगको नाममा वा आफूलाई अरू कविबाट अलग देखाउने मोहमा कविताका तत्त्वको आंशिक प्रयोग पनि नगरी रचना गरिएका कविताले मलाई खासै छुँदैनन् । मेरा लागि कविता ध्वनी र प्रतिध्वनी मात्रै होइन । यस्ता कविताका सर्जक मलाई ठ्याक्कै त्यस्ता उत्तेजित मानिसजस्ता लाग्दछन्, जो अरुबाट पृथक उभिन आफ्नो आँखा फुटाउँछन् वा स्वस्थ हातखुट्टा काट्न समेत अघि सर्दछन् । मोहन कोइराला महान् प्रयोगवादी कवि हुन्, म सम्मान गर्दछु । तर, उहाँका कम कविताहरूले मात्र मेरो मस्तिष्क र हृदयका तारहरू हल्लाएका छन् । यसमा मेरो आफ्नो आग्रहले पनि काम गरेको हुन सक्दछ, स्वीकार गर्दछु । मैले धेरै कवि मन पराएको हुन सक्छु तर बढी मन पराएका कविहरू गोपालप्रसाद रिमाल, भूपी शेरचन, वासु शशि, तुलसी दिवस, विमल निभा, दिनेश अधिकारी, तीर्थ श्रेष्ठ, श्यामल, राजेन्द्र भण्डारी, श्रवण मुकारुङ आदि हुन् ।
कति होला कविताको आयु ?
अर्को ग्रहका एलियनले कविता लेख्छन् कि लेख्दैनन्, थाहा छैन । तर, यस पृथ्वीमा मानव सभ्यता रहिरहने समयसम्म कविता लेखिइरहनेछ । यहाँको सम्पूर्ण सभ्यता नष्ट हुनुपूर्व ती एलियन आएर पृथ्वीवासीका कविता लगी आफ्नो ग्रहमा नक्कल उतार्नेछन्, आफ्नै भाषामा । यसरी कविता ब्रह्माण्डको अस्तित्व रहेसम्म रहिरहनेछ ।
सुन्दर प्रेम कविता प्रेम सफल भएपछि लेखिन्छ कि असफल भएपछि ?
प्रेमको असफलतामा मलाई अचेल विश्वास छैन । दैहिक रूपमा नजिक–टाढा हुनुले त्यसको सफलता वा असफलता मापन गर्न सकिँदैन । सुन्दर ‘प्रेम कविता’ टाढा या नजिक दुवै अवस्थामा लेख्न सकिएला । तर, मलाई लाग्छ, बढी सुन्दर ‘प्रेमकविता’ प्रेमी या प्रेमिकाको अनुपस्थितिमा नै लेखिन्छ । किनकि कविता सापेक्षित रूपमा अभावको दर्शन नै बढी हो ।
कविता नभएको भए तपाईं कति निराश हुनुहुन्थ्यो होला ?
मेरी आमाले मलाई सधैँ भन्नुहुन्छ कि मैले कविता नलेखेको भए या आत्महत्या गर्थें या जोगी बन्थेँ । उहाँलाई कविताको दर्शन थाहा छैन तर कविताले छोरालाई सामान्य जीवनमा फर्किन सघाएको कुरा थाहा छ । मैले मेरो कविता कृति ‘हजार वर्षको निद्रा’मा आमाको यही बुझाइलाई लिपिबद्ध गरेर ‘कवि नभएको भए’ नामक कविता लेखेको पनि छु । यो अतिरञ्जनापूर्ण पनि सुनिएला तर यो सत्य नै थियो कि जस्तो बारम्बार लागिरहन्छ । बाँकी निराशाको के कुरा गर्नु र ?
–प्रस्तुति : दीपक सापकोटा
प्रतिक्रिया