के छ ब्लगमा !

त्रकारिताको एउटा माध्यम ‘ब्लग’ पनि हो । ब्लग चलाउनुलाई नागरिक पत्रकारितासँग जोडेर हेर्ने गरिन्छ । अभिव्यक्तिको सजिलो माध्यमका रूपमा लिइन्छ । इन्टरनेटको दुनियाँमा आफ्नो भावना अभिव्यक्त गर्ने विकल्पको रूपमा विभिन्न सामाजिक सञ्जालदेखि ब्लगसम्म छन् । आफ्नो भावनाको अभियान विस्तारको साधनका रूपमा ब्लग लोकप्रिय छ । कुनै समय हवाई पत्रिकामा आफूलाई पोख्नेहरू अहिले ब्लगमा छचल्किन थालेका छन् मस्तसँग । सूचना प्रविधिको विकासको कुरा गर्दा ब्लगिङ्को विकासको कुरा छुटाउन नहुने स्थितिमा पुगेको छ ।
ब्लगको इतिहासलाई यकिन गरेर यही समयबाट प्रारम्भ भएको भन्न नसकिए पनि यसको लोकप्रियता सुरु भएको समय भने भन्न सकिन्छ । ब्लगको चर्चा सन् १९९९ पछि चुलिन थालेको हो । सन् १९९८ को अक्टोबरमा बु्रस एब्लिसन नामका व्यक्तिले इन्टरनेटको जालोमा आफ्नो ‘ओपन डायरी’ राखेका थिए । त्यसपछिको समयमा सोही प्रकृतिका हजारौँ ब्लग देखिन थाले । ‘ओपन डायरी’ले पाठकका प्रतिक्रियालाई स्थान दियो र त्यहीँबाट नै ब्लग समुदायको जन्म भयो । सन् १९९९ को अगस्टबाट ब्लगर डट कम सञ्चालनमा ल्याएपछि ब्लगरको संख्या बढ्न थाल्यो । जसलाई गुगलले सन् २००३ को फ्रेबुअरीमा आफ्नो बनायो ।
मुलधारका मिडियासँग नजिकिन आफ्नै संसारमा मस्त हुँदै ब्लगको माध्यमबाट आफूलाई चिनाउन लागिपरेका छन् नयाँ पुस्ता । आफ्नो रचनालाई जस्ताको तस्तै दुनियाँसामु निर्भिक रूपमा प्रस्तुत गर्दा    उनीहरू सन्तुष्ट हुन्छन् । स्वभावत: स्वतन्त्रता चाहने पुस्ता भएकोले पनि उनीहरू ब्लगमा झ्याम्मिएका हुन् । र, त्यो स्वतन्त्रताको भरपुर प्रयोग गर्न ब्लग जस्तो उत्कृष्ट माध्यम अरू हुन सकेको छैन । कसैको सम्पादनको नाममा कैँची लाग्ला भन्ने डर पनि नहुने र आफ्नो रचना प्रकाशनार्थ कसैमा बिन्ती बिसाउनुपर्ने बाध्यता पनि नहुने भएकोले ब्लगमा नयाँ पुस्ता स्वतन्त्रापूर्वक आफूलाई प्रस्तुत गर्छन् । भावना र रचना ब्लगमा पढेपछि उनीहरूको मनोविज्ञान पनि प्रस्ट थाहा हुन सक्छ ।
विद्यार्थी देखि विभिन्न पेसाकर्मीसम्ममा ब्लग उत्तिकै लोकप्रिय छ । त्यसो त व्यावसायिक ब्लगिङ गरेरै कमाउने पनि संसारमा धेरै छन् । नेपालमा पनि त्यसको क्रम अघि बढिसकेको छ । व्यक्तिगत रूपमा गुगलले दिएको स्पेस र सुविधा प्रयोग गरेर ब्लगिङ गर्ने हरूको संख्या ठूलो छ । पछिल्लो समयमा आफ्नो छुट्टै स्पेस र आधिकारीक दर्ता गरिएको डोमेन नेम लिएर ब्लग चलाउने पनि उत्तिकै बढेका छन् । ‘नागरिक पत्रकारिता’ लाई बढावा दिन भनेर सञ्चालनमा ल्याइएको मेरो रिपोर्ट डट नेट ‘सर्फ’ गर्ने हो भने त्यहाँ थुप्रै नेपाली ब्लगरहरू भेट्न सकिन्छ । सो साइटले साताका ब्लगरहरू पनि छान्दछ र उनीहरूसँग ब्लगको विषयमा कुराकानी पनि गर्दछ । सोही साइटमा भेटिएका शिव ज्ञवाली आफूले ब्लग चलाउनुको कारण यसरी खुलाउँछन्– ‘सुरुका दिनमा साथीहरूले ब्लग बनाएको देखेर लोभ लाग्थ्यो, अहिले आवश्यकता बनेको छ, मैले मेरा कुरा सेयर गर्न पाएको छु,  अभिव्यक्ति र लेखनमार्फत म मेरा अनुभव र बुझाई बाँड्न चाहन्छु ।’
ब्लगमा पोष्ट भएका सामाग्रीका ‘भिवर्स’ असीमित हुन सक्छन् । संसारको जुनसुकै कुनामा बस्ने मानिस पनि त्यसको ‘भिवर्स’ वा ‘कमेन्टेटर’ हुन सक्छ । त्यसैले यसलाई मूलधारका सञ्चारमाध्यमभन्दा पनि बढी शक्तिशाली मान्छन् अर्का ब्लगर झलक पौडेल । उनी आफ्नो ब्लगको भिजिटर हजारौँ भएको र दिनप्रतिदिन त्यसको संख्या बढ्दै गएको बताउँछन् । झलकले आफ्नो ब्लगमा भर्खरै पोस्ट गरेको ‘मलाई वेश्यावृत्ति मन पर्छ’ लेखलाई चेक रिपब्लीकमा रहेका पवन पौडेलले खुब मन पराए । केही दिनअघि मात्र काठमाडौं आइपुगेका उनी झलकको ब्लगको फ्यान भैँm बनेका रहेछन् । भन्छन् ‘झलकलाई भेट्न एकदम मन लागेको छ ।’ आफूले पोस्ट गरेका सामाग्री मन पराउने र ब्लगरको  फ्यान हुने सर्कल छुट्टै छ । ब्लगर शिव ज्ञवाली भन्छन्– ‘मेरो ब्लगको बुटवलको एक केटी साथी  फ्यान हुनुहुन्छ, उहाँले ब्लगमा कविता पढेकै कारण परिचय भएको हो र अहिले पनि निरन्तर सम्पर्क हुन्छ ।’
विराटनगरमा रहेर व्यवसायीक पत्रकारिता गरिरहेका सरोज कार्की ब्लग नचलाई बस्नै सक्दैनन् । भन्छन् ‘ब्लगिङकै मार्फत माइक्रो ब्लगिङका रूपमा टुइटरबाट धेरै साथीहरूसँग भेट हुन्छन्, उहाँहरूमध्ये केही साथी विराटनगर आएको बेला मेरो ठाउँ घुमाउन लैजान्छु, साथी धेरै बन्छन्, मलाई त्यही रमाइलो लाग्छ ।’ ब्लगमा जुनसुकै विषयमा रहेर सामग्री पोस्ट गर्नेदेखि कुनै एक सवालमा मात्र आफूलाई निरन्तर प्रस्तुत गरिरहने पनि हुन्छन् । पोखराका झलक पौडेलको ब्लग हेर्ने हो भने त्यहाँ उनका कविता, मुक्तकदेखि समसामयिक विषयमा गरिएका टिप्पणी हुन्छन् । त्यस्तै सुरथ गिरी पनि नेपाली ब्लगरहरूको सर्कलमा चर्चित नाम हो । त्यहाँ उनका अनेक रचना भेटिन्छन् । आर्थिक विकासदेखि चलचित्र र पुस्तक समिक्षासम्म उनका ब्लगमा पढ्न पाइन्छ । तर, कुनै सवालमा मात्र आफूलाई केन्द्रित गर्ने ब्लगरहरू पनि छन् । ब्लगर कविता पोखरेल आफ्नो ब्लगमा महिलाका सवालमा लेखिएका सामाग्रीहरू राख्छिन् । ‘महिलाहरू खुलेर बोल्न सक्दैनन्, यसले मलाई महिलाका बारेमा लेख्ने गरायो,’ उनले मेरो रिपोर्ट डटनेटमा भनेकी छिन् । ब्लगिङका कारण नै आफ्नो नामको छुट्टै पहिचान बनाउनेहरू पनि छन् । आकार पोस्ट नामको ब्लग सञ्चालन गर्ने अनिलप्रसाद घिमिरे ब्लगसंसारमा आकारको नामले चर्चित छन् । काठमाडौं विश्वविद्यालयको ईन्जिनियरिङका विद्यार्थी घिमिरे आफ्नो ब्लग नियमित अपडेट गर्छन् । केयुमा पढ्दै उनी क्लासका नोट र एसाइन्मेन्टहरू ब्लगमा राख्थे, पछि समाचारहरू पोस्ट गर्न थाले । अहिले उनको ब्लगलाई नेपालमा धेरै हेरिने विभिन्न साइटहरूको कोटीमा राखिन्छ ।
व्यावसायिक रूपमा ब्लगिङ गरेर गुगल एड ल्याएर पैसा कमाउने चाहना पनि हुन्छ, धेरै ब्लगरको । त्यसका लागि ब्लगलाई स्तरीय र धेरैले भिजिट गर्ने बनाउनुपर्ने हुन्छ । नेपालमा पछिल्लो समयमा व्यावसायिक ब्लगरहरूको संख्या थपिन लागेको छ । धेरै हेरिने साइटहरूमा नेपाली ब्लग पनि पर्न थालेका छन् । ब्लगमा राखिएका सामग्री अनुभूतिजन्य तथा स्वतन्त्र भएर आएका हुनाले पढ्न रुचाउनेहरू छन् । धुम्बाराहीका रमेश बस्नेत कार्यालय पुग्नेबित्तिकै माइसन्सार डटकम लगअन गरिहाल्छन् । पछिल्लो समययता उक्त ब्लग धेरै लोकप्रिय बनेको छ, जसले विज्ञापन पनि राम्रै पाइरहेको देख्न सकिन्छ ।
गुगललगायतका विभिन्न कम्पनीले ब्लगिङ गर्नका लागि ‘फ्री स्पेस’ दिएका हुन्छन् । त्यही स्पेसको सदुपयोग गर्दै ब्लगिङ गर्नेहरूको संख्याका बीचमा त्यस्तो जमात पनि छ, जो ब्लगलाई दुरूपयोग गरिरहेको छ । त्यस्ता धेरै नेपाली ब्लग छन्, जसमा अश्लील सामाग्रीहरू पोस्ट गरिएका हुन्छन् । यसैले ब्लगहरूलाई मर्यादित बनाउन जरुरी रहेको व्यवसायीक ब्लगरहरूको भनाई छ । सरकारीस्तरबाट नीति वा एकखाले आचारसंहिता बनाएर ब्लगलाई मर्यादित बनाउन बहसको थालनी भइसकेको छ ।

प्रतिक्रिया