थर्ड रिभर्स वेभ

असोज १७ गते पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सम्मिलित हुन बाबुराम भट्टराई विराटनगर आउने भए । प्रहरीले कालो रङ्विरुद्ध अभियान चलायो । विराटनगरभरि कालो झन्डा निषेध भयो । कालो सर्ट लगाउनेलाई कार्यक्रमस्थलमा आउन दिइएन । कालो टोपी लगाएकालाई पस्नै दिइएन । कालो मात्र हैन, नेभिब्ल्यु कपडा लगाएकालाई समेत धपाइयो । सबै सिनित्त पारेपछि बाबुराम आउनुभयो र भाषण गर्नुभयो । बन्द हड्ताल गर्नु हुँदैन भनेर उपदेश दिनुभयो ।
नेपालका नेता डबल स्ट्यान्डर्ड, ढोंग, पाखण्ड र आडम्बरको महारोगले ग्रस्त छन् । ‘आपैँm बोक्सी आपँैm झाँक्री’ बनिरहेका हुन्छन् । सत्ताबाहिर हुँदा एउटा कुरा र सत्तामा पुग्नासाथ अर्को कुरा गर्छन् । पाँच वर्षअघि अर्थमन्त्री हुँदा पनि यिनै बाबुरामले यही विराटनगरमै उद्योग व्यवसायीको भेलालाई सम्बोधन गर्ने क्रममा, ‘अब ८/१० वर्ष सबैले बन्द हडताल गर्न छाडेर देशको विकास र समृद्धिमा लाग्नुपर्छ’ भनेका थिए । लगत्तै उहाँले सरकार छाड्नुभयो र त्यसपछि बन्द हडताल मात्रै गर्नुभयो । साँच्चै भन्ने हो भने अहिले नेपालमा सबै कुराको छिनोफानो हिंसाबाटै गर्ने जुन प्रवृत्ति बढेको छ त्यसको स्रोत उहाँहरू नै हुनुहुन्छ । उहाँहरूका गतिविधि, व्यवहार, कर्म र चरित्र हेर्दा उहाँहरूसँग रचनात्मक र सिजनात्मक सोच रहेनछ भन्ने निष्कर्षमा पुगिन्छ । अहिले पछिल्लो कालमा राज्य आपैँm हिंसाको पक्षमा उभिएको छ । एक्लोदुक्लो नागरिकले ल्याएको जायज गुनासो नसुन्ने तर ढुंगामुढा गर्दै आउने हुल्याहाहरूको नाजायज मागलाई तुरुन्तै सम्बोधन गर्ने शैलीले शक्ति प्रदर्शनबाहेक अर्को उपाय छैन भन्ने सन्देश प्रवाह गरेको छ ।
जनता आक्रोशित छन् । यो आक्रोशको कारण पनि राज्य नै भएको छ । राज्यले गरेका विभेद खपिनसक्नु छन् । युएनडिपीको मानव विकास प्रतिवेदनलगायत तमाम प्रतिवेदनले पहाडे बाहुन–क्षेत्रीको हैसियत नेवार, मनाङे, थकाली, गुरुङ र तराईका फर्वार्ड कास्ट (राजपूत, कायस्थ, भूमिहार र ब्राह्मण) भन्दा निकै पछाडि देखाउँछ । तर, राज्यले तिनैलाई  ‘अन्य’  मा फालिदिएको छ र आरक्षणलगायत राज्यका अवसरहरूबाट वञ्चित गरिदिएको छ । यसले राज्य वस्तुनिष्ठ छैन, विवेकशील छैन र न्यायिक पनि छैन भनेर जनाउँछ । पछिल्ला पाँच वर्षमा जति सरकार फेरिएका छन् ती सबैले खुंखार अपराधीका डरलाग्दा अपराधका मुद्दाहरू मात्र फिर्ता लिएका छन् । तर, तत्कालीन परिस्थितिको आवेगमा हुन गएका तथा परिबन्दमा परेका निमुखाहरू अहिले पनि पश्चात्तापको रापमा पिल्सिँदै जेलमै सडिरहेका छन् । लोकतन्त्र आएपछि अख्तियारले मोटा भ्रष्टाचारीलाई नछुने र निमुखालाई नछोड्ने नीति लिएको छ । पाँच बर्षअघि अर्थमन्त्री हुँदा बाबुरामजी आपैँmले भन्सार र करका कर्मचारीलाई मात्र दुई सय प्रतिशत भत्ता सुटुक्क राखिदिएका थिए । सबैलाई थाहा छ, भन्सार र कर कर्मचारीको लागि रसिलो पोषिलो ठाउँ मानिन्छ । प्रिपेड घुसबाट आक्रान्त भएका सिँचाई मन्त्रालय अन्तर्गतका ईन्जिनियरहरू शरण माग्न प्रधानमन्त्री कहाँ आए तर प्रमले तिनीहरूलाई राहत हैन आहत दिनुभयो र घुस्याहा मन्त्रीलाई धाप मार्नुभयो । दुइटा ‘खोका’ पाएपछि विजय गच्छदारले दरबन्दी नै नभईकन पेलपाल गरेर दुईजनालाई एआइजी बनाइदिनुभयो । एसएसपीमा पाँच पद मात्र रिक्त थियो, ५०–५० ‘पेटी’ चढाउने अरू १० जनालाई समेत् थपेर १५ जनालाई एसएसपी बनाइदिनुभयो । यस विषयमा आएका उजुरीलाई कार्पेटमुनि लुकाएर प्रमले उल्टै विजय गच्छदारको माथा चुम्नुभयो ।
दीक्षान्त समारोहमा विद्यार्थीलाई सम्बोधन गर्दै प्रमले,  ‘तपाईंहरू विदेश गए देश कसले बनाउँछ ?’  भनेर प्रश्न गर्नुभयो । तर, देशमा बस्न नसक्ने परिस्थिति कसले निर्माण गर्‍यो, त्यो कुरा बताउनु भएन । योग्यता र क्षमता भएका प्रतिभावान युवाहरू वञ्चितीमा पर्ने स्थिति कसले सिर्जना गरेको छ ? लोकतन्त्र आएपछि मात्रै संस्थानहरूमा आफ्ना पकेटका हजाराँै व्यक्तिलाई तोकआदेशबाट नियुक्ति गरियो र पछि प्रक्रिया मिलाएजस्तो गरेर स्थायी गरियो । दुई बर्षअघि नेपाल टेलिकममा मात्र १४ सय जनालाई यसरी भित्रभित्रै मिलाएर स्थायी गरियो । समाजकल्याण मन्त्रालय अन्तर्गत नौ सय ४३ जनालाई यसैगरी स्थायी गरियो । त्रिभुवन विश्वविद्यालयमा आफ्ना मान्छेलाई खुसुखुसु आंशिक प्राध्यापकमा छिराइयो, केही बर्षपछि तिनैलाई करारमा राखियो र अव यसो प्रक्रिया मिलाएर स्थायी गर्ने सुरसार भएको छ । यसरी आ–आफ्ना मान्छेलाई मात्र भित्रभित्रै अवसर मिलाइदिने तर प्रतिभाशाली जतिलाई पाखा पार्ने र परम्परा किन बसालियो ? आरक्षणको नाममा हुनेखानेका छोराछोरीलाई मात्र अवसर र स्थान दिने, अनि बाहुन–क्षेत्रीको जातमा जन्मन पुग्यो भन्दैमा बाहुनका छोराछोरीलाई सबै अवसर र स्थानबाट वञ्चित गर्ने, किन ? बाबुराम भट्टराईजीले पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्नुभएका कथनको प्रतिक्रियामा तत्काल उठेका प्रश्न हुन् यी । जनताको माझबाट आएका प्रश्नजति सबै दरीमुनि छोप्ने अनि पानीमाथिको ओभानो बनेर कुर्लने योभन्दा नकच्चरो ताल अरू के हुन्छ ?
दीक्षान्त समारोहमा प्रमको भाषण सुन्नासाथ निराजन श्रेष्ठजीले प्रमसमक्ष राख्न खोज्नुभएका प्रश्नहरू (मेरो फेसबुक वालमा पठाउनुभएको) यस्तो छ । हजुरहरूले पनि थुप्रैपटक खुलामञ्चमा चर्को भाषण गर्नुभयो । प्रतिक्रियामा चर्को ताली पाउनुभयो तर हजुरहरूले जनतासामु यथार्थ ओकल्न सक्नुभएन । हाम्रो राजनीतिको रोगलाई जनतासामु ल्याइदिन सक्नुभएन । हजुरहरूले भन्न सक्नुभएन, उद्योगका मजदुर साथीहरू, काम नगरी खान पाइन्छ भनेर यदि हाम्रो पार्टीमा लाग्नुभएको हो भने गलत हुनुहुन्छ । यातायात मजदुर साथीहरू, हाम्रो पार्टीमा लाग्नुको अर्थ मनलाग्दो भाडा उठाउन पाउनु भन्ने होइन । व्यापारी महोदयहरू, नेताको नजिक हुनु र राजनीतिक दल र तिनका भ्रातृसंगठनलाई चन्दा दिनुको अर्थ राज्यलाई कर बुझाउनु पर्दैन भन्ने होइन । शिक्षक साथीहरूलाई पनि भन्नुभएन, हाम्रो पार्टीमा लाग्नुको अर्थ शिक्षालयको मर्यादाविपरीत बढी राजनीतिक गतिविधि अनि थोरै शैक्षिक गतिविधि गर्दा पनि तलब पाइन्छ भन्ने पटक्कै होइन । कर्मचारीलाई बुझाउन सक्नुभएन, हाम्रो पार्टीमा लाग्नुको अर्थ ढिलो कार्यालय गएर छिटो फर्कन पाइन्छ भन्ने होइन । विद्यार्थीलाई पनि भन्न सक्नु भएन, हाम्रो पार्टीमा लाग्नुको अर्थ पढ्दै नपढी परीक्षामा उत्तीर्ण भइन्छ भन्ने कदापि होइन ।
‘निराजनजीले उठाएका यी प्रश्न जल्दाबल्दा छन् र आमजनताको दिमागमा छट्किरहेका छन् ।
‘थर्ड वेभ’ का लेखक स्यामुयल पि.हन्टिङ्गटनले अव लोकतन्त्रको लागि खतरा राजा वा सेना हुने छैन भनेका छन् । राजनीतिक नेताहरू र निर्वाचित सरकारकै एकाधिकारवादी र सर्वसत्तावादी चरित्र, व्यवहार र कार्यशैली नै लोकतन्त्रको लागि खतरा हुनेछ भनेका छन् । नेताहरूले विश्वास गुमाउनु, सरकारले वैधानिकता गुमाउँदै जानु, निर्वाचित भनिएको सरकार उत्तरदायित्वबिहीन बन्नु र सर्वसत्तावादतर्फ उन्मुख हुनु, लोकतन्त्रका आधारहरू तयार नहुनु, संकीर्ण राष्ट्रवाद, जातिय र धार्मिक उन्माद र साम्प्रदायिक अधिनायकवादलाई उनले ‘थर्ड रिभर्स वेभ (अर्थात तेस्रो उल्टो लहर)’ भनेका छन् । स्यामुयल पी. हन्टिङ्गटनले दर्शाएका सबै स्थिति अहिले नेपालको राजनीतिमा विद्यमान छ, तसर्थ हामी लोकतन्त्रको उल्टो लहरमै छौँ ।

प्रतिक्रिया