पूर्वीमोरङका विद्यालय बन्द,

विराटनगर, १९ असोज । विद्यालय तहमा धिमाल भाषाको पठनपाठन अनिवार्य गर्नुपर्ने माग गर्दै संघीय धिमाल स्वायत्त राज्य परिषद्ले शैक्षिक संस्था बन्दको आह्वान गरेपछि बिहीबारदेखि पूर्वी मोरङका विद्यालयमा पठनपाठन ठप्प भएको छ । परिषद्ले घोषणा गरेको अनिश्चितकालीन शिक्षण संस्था बन्दका कारण पूर्वी मोरङका निजी तथा सामुदायिक विद्यालय बन्द भएका छन् ।
परिषद्का कार्यकर्ताहरू बिहीबार बिहानै विद्यालयमा पुगेर विद्यालय बन्द गर्न दबाब दिएपछि मोरङको उर्लाबारी, पथरी, बेलबारी, जाते, लेटाङ, टाँडी, डाँगीहाटलगायतका गाविसमा सञ्चालित विद्यालय बन्द भएका हुन् । शिक्षण संस्था बन्दका कारण पूर्वी र उत्तरी मोरङका सबै विद्यालयमा पठनपाठन ठप्प भएको जिल्ला शिक्षा कार्यालय मोरङले जनाएको छ । त्यस क्षेत्रका निजी तथा सरकारी क्षेत्रबाट सञ्चालित विद्यालय, उच्चमावि तथा क्याम्पसहरूसमेत खुलेनन् तर सदरमुकाम विराटनगरसहित दक्षिण क्षेत्रमा सञ्चालित शिक्षण संस्था भने पूर्ववत् सञ्चालनमा रहे ।
धिमाल भाषामा पठनपाठन गर्नुपर्ने र पठनपाठनका लागि छुुट्टै शिक्षक दरबन्दीको माग गर्दै संघीय लोकतान्त्रिक मञ्चसम्बद्ध संघीय धिमाल स्वायत्त राज्य परिषद्ले शैक्षिक संस्था बन्दको आह्वान गरेको हो । सरकारले प्राथमिक विद्यालय तहमा मातृभाषाको अध्ययन गर्न पाउने भने पनि त्यसलाई कार्यान्वयन नगरेको भन्दै परिषद्ले बन्दको आह्वान गरेको हो । जिल्ला शिक्षा कार्यालय र सरकारसँग समेत विभिन्न समयमा माग राखे पनि बेवास्ता गरेकाले शिक्षण संस्था बन्दको आह्वान गरिएको परिषद्का अध्यक्ष वांगाई धिमालले बताए ।
धिमाल भाषाको पाठयक्रम र पाठयपुुस्तक निर्माणसमेत भइसके पनि विद्यालयहरूमा पठनपाठन र भाषा शिक्षक व्यवस्था नगरिएको भन्दै परिषद्ले मोरङ जिल्लाभर अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको हो । पठनपाठन र धिमाल भाषाको दरबन्दीका लागि शिक्षा कार्यालय र मन्त्रालयसम्म पहल गर्दा पनि बेवास्ता गरेपछि हडतालमा उत्रन बाध्य हुनुपरेको अध्यक्ष धिमालको भनाइ छ । परिषद्ले मातृभाषामा पठनपाठन र भाषा शिक्षकको व्यवस्था गर्नुपर्ने, प्राविधिक शिक्षालयमा समानुुपातिक भर्ना गर्नुपर्नेलगायतका सातबँुदे माग अघि सारेको छ ।
यसैबीच निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन उर्लाबारीले  विद्यालय बन्दको कार्यक्रम फिर्ता लिन परिषद्लाई आग्रह गरेको छ । विद्यालय शान्तिक्षेत्र कार्यान्वयनका लागि सहयोग गर्न आग्रह गर्दै प्याब्सनले बन्द–हडताल नगर्न आग्रह गरेको हो । विद्यार्थीले निर्बाधरूपमा पढ्न पाउने अधिकारको सम्मान गर्न आग्रह गर्दै प्याब्सनले बन्दको कार्यक्रम फिर्ता लिएर त्यसबाहेकका आन्दोलनको विकल्प खोज्न आग्रह पनि गरेको छ ।
विद्यालयमा लठ्ठीको प्रयोग नगरिने
यसैबीच, मोरङ दादरबैरिया गाविसमा सञ्चालित नौवटा सामुदायिक तथा निजी विद्यालयका शिक्षकले विद्यालयमा लठ्ठीको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।
विद्यालयमा भयरहित सिकाइ हुनुपर्नेमा जोड दिँदै उनीहरूले पठनपाठनका क्रममा लठ्ठी प्रयोग नगर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । दादरबैरियामा बिहीबार सम्पन्न विद्यालय भयरहित सिकाइ र शान्तिक्षेत्रसम्बन्धी दुईदिने गोष्ठीमा तयार गरिएको आचारसंहितामा उनीहरूले सो कुरामा एकमत हुने निर्णय गरेका हुन् । परम्परागत शिक्षण विधि अपनाइरहेका अधिकांश विद्यालयमा शिक्षकहरूले लठ्ठी लिएर कक्षामा प्रवेश गर्ने र विद्यार्थीलाई कुट्नेलगायतका क्रियाकलाप दोहोर्‍याइरहेका छन् । लठ्ठीले नहिर्काए पनि लठ्ठी देखेर बालबालिकामा मानसिक डर पैदा हुने र त्यसले सिकाइ प्रक्रियामा समेत असर पार्ने भन्दै शिक्षकहरूले लठ्ठीको प्रयोग नगर्ने प्रतिबद्धता जनाएको गोष्ठीमा जिल्ला शिक्षा कार्यालय मोरङका स्रोतव्यक्ति विष्णुराज लामिछानेले बताए ।

प्रतिक्रिया