आरोप लगाउँदै एमाले छाडे जनजाति नेताले

काठमाडौं, १८ असोज । एमाले उपाध्यक्ष आशोक राईसहित पाँच दर्जन बढि आदिवासी जनजाति नेताहरुले आजदेखि पार्टी परित्याग गरेका छन् ।
‘अग्रगामी विचार समूह’ केन्द्रीय समन्वय समितिका नाममा आज काठमाडौंमा आयोजित कार्यक्रममा राईसहित ६१ जनाले एमाले परित्याग गरेको घोषणा गरेका हुन् । एमाले छाड्ने अधिकांश जनजाति नेताहरु राष्ट्रिय राजनीतिमा नाम कामएका छन् ।
केही जनजाति नेताहरु भने एमालेले पार्टी आचारण विपरित कार्य गरेको भन्दै कारबाहीमा परेका पनि छन् ।
एमाले परित्याग गर्नेमा उपाध्यक्ष राईसहित  विजय सुब्बा, रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, बीरबहादुर लामा, अजम्बर राई काङमाङ, महेश चौधरी, रिजवान अन्सारी, पे्रमकृष्ण पाठक, पासाङ शेर्पालगायत रहेका छन् । विचार समूहबाट यस अघि नै एमालेले आफ्ना मागलाई सकारात्मक रुपमा लिएको भन्दै रामचन्द्र झा लगायतका नेताहरु फिर्ता भएको जनाई सकेका छन् ।
त्यसैगरी एमाले छाड्नेमा हेमराज राई, लालबहादुर तामाङ, रणध्वज कन्दङवा, गोपाल ठाकुर, जोगीलाल यादव, मझिलाल थनेत थारु, होरीलाल चौधरी, लक्की शेर्पा, डम्बरसिंह तुम्बाहाम्फे, विजय राई, सोनी लामा, हरि घिमिरे, सानुराजा शाक्य, उर्मिला साह, रामसिंह यादव, मीना गुरुङ, डिबी नेपाली, महेन्द्र थापालगायत रहेको कार्यक्रममा जानकारी दिईएको थियो ।
माक्र्सवादको खोल ओढेर मुलुक र जनतामा भ्रम सिर्जना गरेको आरोप लगाएका जनजाति नेताहरुले जातीय पहिचानका लागि आफूले एमाले छाडेको दाबी गरेका छन् । उनीहरुले छिट्टै सबैलाई समेट्ने गरेर नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।
‘एमालेलाई सामन्तवादी सोंच र अवसवादी चरित्रका साथ अगाडि बढाइएको छ,’ राईले भने, ‘वर्गीय तथा जातीय मूक्ति र सामाजिक न्यायका लागि एमाले त्यग्नु परेको हो ।’

प्रतिक्रिया