एमाले असन्तुष्टले आज पार्टी छाड्दै

काठमाडौं, १८ असोज । एमाले उपाध्यक्ष अशोक राईसहित असन्तुष्ट नेताहरूले आज (बिहीबार) पार्टी परित्याग गर्दै छन् । एमालेले उत्पीडित जातिको अधिकारलाई अस्वीकार गरेको आरोप लगाउँदै ५ महिनादेखि अन्तरसंघर्ष जारी राखेका उपाध्यक्ष राईसहित केन्द्रीय समितिका पाँच नेताले पार्टी परित्याग गर्न लागेका हुन् ।

उपाध्यक्ष राई नेतृत्वको ‘अग्रगामी विचार समूह’का नेताहरूले राष्ट्रिय सभागृहमा औपचारिक सभामार्फत पार्टी परित्याग गर्ने अग्रगामी विचार समूहका नेता अजम्बर राई काङमाङले बताए । उनले भने, ‘भोलि (बिहीबार) राजनीतिक दासत्वबाट मुक्तिको
दिन हुनेछ ।’
बिहीबार उपाध्यक्ष अशोक राईसहित पोलिटब्युरो सदस्य विजय सुब्बा, केन्द्रीय सदस्य रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ र अजम्बर राई काङमाङले पार्टी परित्याग गर्नेछन् । देशव्यापी रूपमा कार्यकर्ता बोलाइएको भनेर प्रचार भए पनि बिहीबार काठमाडांैमा भएका नेताहरूलाई मात्रै बोलाइएको नेता राईले बताए । ‘चमकदमक देखाउने कार्यक्रम होइन, केवल एमाले छाडेको घोषणा मात्रै गर्ने हो,’ उनले भने, ‘देखाउने दिन विस्तारै आउँदै छ ।’
स्रोतका अनुसार ६० वटा जिल्ला कमिटीबाट पार्टी छाड्ने नेताहरुको लिस्ट आएको छ । तर, बिहीबार नै सार्वजनिक गर्ने कि नगर्ने भन्ने विषयमा अन्योल छ ।
‘६० वटाभन्दा बढी जिल्ला कमिटीबाट पार्टी छाड्ने कमरेडहरूको लिस्ट आएको छ,’ एक नेताले भने, ‘भोलि नै सार्वजनिक गर्ने नगर्ने विषयमा अन्योल छ, बिहीबार बिहान बसेर निर्णय गर्छाैं ।’ स्रोतका अनुसार भोलि नै नेताहरूको लिस्ट सार्वजनिक गरे पार्टीले खेल्न सक्ने भन्दै केही नेताले नाम सार्वजनिक गर्न नहुने मत राखेका छन् ।
पार्टी छाड्नेमा दुई दर्जनभन्दा बढी पूर्वसभासद् भए पनि उनीहरूको नाम भने सार्वजनिक नगर्ने बताइएको छ । संविधानसभा पुन:स्थापना हुने सम्भावनालाई ध्यानमा राखेर उनीहरूको नाम गोप्य राखिएको स्रोतको दाबी छ । ‘दुई दर्जनभन्दा बढी सभासद्ले पार्टी परित्याग गर्ने बताए पनि अहिले नाम घोषणा नगर्ने सहमति भएको छ,’ स्रोतले भन्यो, ‘संविधानसभा पुन:स्थापनाको सम्भावना नटरेसम्म उहाँहरूले कुनै घोषणा गर्नुहुन्न ।’
पार्टी परित्यागलगत्तै नयाँ पार्टी निर्माण प्रक्रिया अघि बढाइने नेता राईले बताए । उनका अनुसार जिल्लास्तरमा पनि पार्टी परित्यागका कार्यक्रम राखिनेछन् । पार्टी घोषणा गर्न अन्तिम तयारी गरेर उनीहरूले पार्टी छाड्न लागेका हुन् । स्रोतका अनुसार पार्टीको अवधारणापत्र, विधान र कार्यक्रम तयार भएको छ ।

प्रतिक्रिया