उपत्यकामा चाडपर्वलाई विशेष सुरक्षा

काठमाडौं, १८ असोज । नजिकिँदो चाडपर्व दसँै–तिहार तथा छठमा सम्भावित आपराधिक घटना हुन नदिन उपत्यकामा बिहीबारदेखि विशेष सुरक्षा योजना लागू हुने भएको छ । विगतमा चाडपर्वमा भएका आपराधिक घटनाको विश्लेषण गर्दै महानगरीय प्रहरी आयुक्त कार्यालयले बिहीबारदेखि लागू हुने गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो ।
आयुक्त कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको सुरक्षा योजनाअनुसार चाडपर्वको अवधिमा काठमाडौंमा मात्रै ३ हजार २ सय प्रहरी परिचालन गरिनेछ । त्यसमध्ये २ हजार ७ सय प्रहरी परिसरकै हुनेछन् भने पोसाक तथा सादा पोसाकका गरी ५ सय प्रहरी थप गरिनेछ । प्रहरीका अनुसार योजनाअन्तर्गत ४२ वटा सिआरभी गाडी, २४ वटा मोबाइल गाडी, ५ वटा वानटन गाडीसहित प्रत्येक वृत्तमा एक/एकवटा हुने गरी थप ५ वटा गाडीको व्यवस्था गरिनेछ ।
भिभिआइपी निवास, सुनचाादी पसल, बैंक, वित्तीय क्षेत्र तथा बजार सुरक्षाका लागि मात्रै १६ स्थानमा क्युआरटी मोटरसाइकल टोली रहने जानकारी पत्रकार सम्मेलनमा दिइयो । त्यस्तै, महानगरीय प्रहरी परिसर ललितपुरमा ८ सय १४ र भक्तपुर परिसरमा ४ सय ७८ गरी जम्मा ३ हजार ९ सय ९२ प्रहरी परिचालन गरिनेछ । जसमा एसएसपी २, एसपी २, डिएसपी १४, प्रहरी निरीक्षक ५७, जुनियर प्रहरी अधिकृत ५ सय १५ र प्रहरी जवान ३ हजार ४ सय २ जना परिचालित हुनेछ ।
सुरक्षा योजनामा हत्या, करणी, मानव बेचबिखन, अपहरण, पाकेटमार, चोरी, पेयपदार्थमा नशालु पदार्थ मिसाउने, डकैती, लंगुरबुर्जा, समूह भिडन्तलगायत सुरक्षा ‘थ्रेट’ हुने उल्लेख छ । आयुक्त कार्यालयका निमित्त प्रमुख डिआइजी परशुराम खत्रीले चाडपर्वमा देश/विदेशबाट घर फर्केकाहरूले सामान तथा पैसा ल्याउने मात्र नभई रकमको ‘ट्रान्ज्याक्सन’ धेरै हुने भएकाले यस बेला सुरक्षा अवस्था मजबुत बनाउनुपरेको बताए । उनले भने, ‘अपराधरहित दसैँ मनाउन योजनाले सहयो गर्नेछ ।’
योजनाअनुसार पटकाजन्य पदार्थ नियन्त्रणमा पनि प्रहरीले सतर्कता अपनाउने भएको छ । सवारीसाधनबाट हुने दुर्घटना, टिकटमा हुने कालोबजारी मात्र नभई मन्दिर, गुम्बा, पाण्डाल, यज्ञ तथा होम गर्ने स्थानमा पनि सुरक्षाकर्मी खटाइनेछ । सुरक्षा योजना ३० कात्तिकसम्म लागू हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया