गृहजिल्लामा भएको भेलामा गृहमन्त्री गच्छदार नै अनुपस्थित

विराटनगर, १८ असोज । गृहमन्त्रीको विजयकुमार गच्छदारको अनुपस्थितिमै बुधबारदेखि विराटनगरमा दुईदिने सुरक्षा बैठक सुरु भएको छ । पूर्वाञ्चलका सुरक्षा प्रमुखको भेलामा गृहमन्त्री गच्छदार सहभागी नभएपछि भेलाको उद्घाटन गृहसचिव नवीन घिमिरेले गरेका थिए ।

प्रहरी महानिरीक्षक नियुक्तिमा लामो समयको विवादपछि अन्तत: आफूले भनेका व्यक्ति नियुक्त नभएपछि असन्तुष्ट बनेका गच्छदार यसअघि काभ्रेमा भएको मध्यमाञ्चलका सुरक्षा प्रमुखको भेलामा पनि सहभागी भएका थिएनन् । बुधबार सुरु भएको भेलामा उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री गच्छदार सहभागी हुने बताइए पनि उनी मंगलबार नै पार्टीको कार्यक्रमका लागि भन्दै धनगढी गएका थिए । उनी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष हुन् । आफ्नै गृहजिल्लामा भएको कार्यक्रममा समेत गृहमन्त्री गच्छदार सहभागी नहुनुलाई अर्थपूर्णरूपमा हेरिएको छ । शान्तिसुरक्षाको अवस्था र भावी रणनीतिका सम्बन्धमा छलफल हुने महत्त्वपूर्ण भेलालाई गृहमन्त्रीले महत्त्व नदिनु राम्रो नभएको कार्यक्रमका सहभागीले टिप्पणी गरेका थिए ।
उनी आफूले चाहेका भीष्म प्रसार्इंको सट्टा कुवेरसिंह राना प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि राना सहभागी कार्यक्रममा अनुपस्थित रहँदै आएका छन् । लामो समयको विवादपछि वरिष्ठताका क्रममा सबैभन्दा अगाडि रहेका राना प्रहरी महानिरीक्षक भएपछि गृहमन्त्री गच्छदार असन्तुष्ट भएका हुन् । यद्यपि सिडिओ, नेपाल र सशस्त्र प्रहरीका एसएसपी तथा राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखको सहभागितामा सुरु भएको भेलामा पनि सहभागी नहुनुलाई भने अर्थपूर्ण मानिएको छ ।
भेलामा सहभागी एक प्रहरी अधिकारीले भने, ‘पदीय जिम्मेवारी, नैतिक दायित्व सबैका हिसाबले गृहमन्त्री उपस्थित हुनुपर्ने हो तर त्यसो नहुनु देशकै लागि दु:खद् कुरा हो ।’ सुरक्षा निकायको उच्च व्यक्तिको समन्वय र समझदारीविना देशमा शान्तिसुरक्षा कायम गर्न नसकिने उनको बुझाइ छ । उनले भने, ‘देशमा शान्तिसुरक्षा कायम गर्ने विषयमा गम्भीर निर्णय लिनुपर्ने अवस्था आए कसरी समन्वय हुन सक्छ भन्ने चिन्ताको विषय भएको छ ।’
भेलाको उद्घाटन गर्दै गृहसचिव घिमिरेले सुरक्षा प्रमुख कुशल प्रशासक नभई वार्ताकारको रूपमा प्रस्तुत भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘सुरक्षा प्रमुख वार्ताकारको भूमिकामा रहने कुरा गृह मन्त्रालयलाई कुनै पनि हालतमा मान्य हुँदैन,’ उनले भने, ‘प्रशासकको रूपमा गरिएको इमानदार प्रयत्नको मन्त्रालयले अनुगमन गर्नेछ, त्यसैका आधारमा मूल्यांकनसमेत गरिनेछ ।’ उनले शान्ति सबैको चाहना र सुरक्षा सबैको प्रतिबद्धता भए मात्र समाज र देशमा शान्तिसुरक्षा कायम हुने धारणा व्यक्त गरे ।
भेलामा पूर्वाञ्चलका १६ जिल्लाका सिडिओ, नेपाल र सशस्त्र प्रहरीका एसपी, राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता छ । भेलामा शान्तिसुरक्षा र भावी रणनीतिका विषयमा छलफल हुने गृह मन्त्रालयका उपसचिव शंकर कोइरालाले जानकारी दिए । उनले भने, ‘चन्दा आतंक, हत्या, लुटपाट, अपहरण, फिरौती, वन पैदावारको तस्करीलगायतका संगठित अपराध नियन्त्रणका लागि भेलामा छलफल गरी रणनीति तय गरिनेछ ।’ भेलामा नेपाल प्रहरी प्रमुख कुवेरसिंह राना, सशस्त्र प्रहरी प्रमुख कोषराज वन्तलगायतको सहभागिता छ । बुधबार दिनभर पूर्वका सबै जिल्लाका सिडिओहरूले जिल्लाको शान्तिसुरक्षाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । उनीहरूले जिल्लामा भएका आपराधिक क्रियाकलाप नियन्त्रणमा भएको प्रगति तथा चुनौतीलगायतका विषय प्रतिवेदनमा प्रस्तुत गरेको मोरङका सिडिओ तारानाथ गौतमले बताए । भेला बिहीबार सकिनेछ ।

प्रतिक्रिया