मोज गर्न आउनेले गर्दा राम्रा निर्मातालाई मार

अभिनयमार्फत चलचित्र क्षेत्रमा प्रवेश गरेका राजकुमार राई निर्माता हुँदै अहिले नेपाली चलचित्र निर्माता संघका अध्यक्ष छन् । निर्माताहरूको हकहितका लागि जुझारू शैलीले लागिपर्ने व्यक्तिका रूपमा चिनिएका उनले आफ्नै सक्रियतामा छुट्टै निर्माता संघ पनि खोलेका थिए । हाल निर्माताहरूका दुईवटै संघ एकीकरण भइसकेका छन् । आफ्नो कार्यकालमा कुनै पनि गलत काम हुन नदिने अडान लिएका राईसँग नेपाली चलचित्रक्षेत्रबारे गरिएको कुराकानी :
चलचित्र क्षेत्रमा प्रवेश कसरी गर्नुभयो ?
कुनै योजना थिएन, न त अरूको जस्तो सानैदेखिको सपना नै थियो । एक समय मदरल्यान्ड भन्ने चलचित्रको युनिट पूर्व आइपुगेको थियो । युनिटलाई विभिन्न समस्या आइपर्थे । म तिनको समाधानमा लागिपर्थें । त्यसै चलचित्रमार्फत चलचित्रकर्मीहरूसँग भेट बाक्लियो । मलाई पनि अभिनयमोह पलायो । थुप्रै चलचित्रमा सानोतिनो भूमिकामा अभिनय गरेँ । चलचित्र निर्माण गर्ने सोच पलायो । पहिलो चलचित्र एक जना साथीसँग मिलेर बनाएँ । ०५८ सालमा चाहिँ एक्लैले ‘संगम’ चलचित्र निर्माण गरेँ । अब छैटौँ चलचित्र ‘प्रोड्युसर’ निर्माण गरिरहेको छु ।
छुट्टै निर्माता संघ पनि बनाउनुभएको थियो नि ?
जति बेला म चलचित्र निर्माणमा सक्रिय थिएँ, नेपाली र विदेशी चलचित्रबारे विभिन्न ट्याक्सको विवाद थियो । अग्रज निर्माता संघका प्रतिनिधिले हिन्दी चलचित्रलाई काखी च्यापिरहेका थिए । म संघको निर्वाचित प्रवक्ता थिएँ । मलगायत केही निर्माता साथीले नेपाली सिनेमाले बिदेशी सिनेमासँग फाईट गर्न सक्दैन, त्यसैले बिदेशी चलचित्रको ट्याक्स बढाएर निरुत्साहित गर्नुपर्छ भन्ने मुद्दा उठायाँै । तर, अग्रजहरूबाट हाम्रो आवाजलाई दबाउने काम भयो । नेपाली चलचित्रको पक्षमा मुद्दा उठाउन सजिलो होस् भनेर हामी केही साथी संघबाट अलग्गिएर राष्ट्रिय चलचित्र निर्माता संघ खोल्यौँ । हाम्रो मुद्दालाई सबैले सही माने, त्यसले बुलन्द रूप लियो । संघको एकीकरणपछि पनि मलाई नेतृत्वमा पुर्‍याएको त्यहि आवाजले नै हो ।
तपाईंको नेतृत्वमा संघमा कार्यगत एकता छ त ?
कुनै पनि संस्थाको प्रगतिका लागि सम्पूर्ण सदस्यबीच कार्यगत एकता हुनैपर्छ । सोचाइ र काम गराइ दुवैमा । निर्माता संघमा यो भावनाको खडेरी थियो तर मैले सिर्जना गराएको छु । मैले जितेपछि फुच्चे अध्यक्षका रूपमा आयो भनेर असहयोग गर्नेहरू धेरै थिए । संघ झन्डै फेरि टुक्रिएको । संस्थामा कतिले स्पेस पाएका थिएनन् त कतिलाई केमा चित्त बुझेको थिएन । ती सबैलाई ऐक्यबद्ध बनाएँ । सबैका समस्या समानरूपले सम्बोधन गर्दै संघमा समाबेश गरेँ । सबैभन्दा ठूलो सफलता निर्माताहरूबीच एकता गराइयो ।
निर्माता र हलबीच सेयरका कुरामा अझै विवाद छ नि ?
निर्माता र हलबीच जो सेयर विवाद थियो, त्यसलाई केही मत्थर पार्ने काम मैले गरेको छु । चलचित्रको प्रचारप्रसारका लागि रेडियो, एफएमलगायतमा गरिने खर्च निर्माताले तिर्दै आएका थिए, त्यसलाई सुधारेर हलले तिर्ने व्यवस्था गरिएको छ । प्रदर्शनका लागि प्रत्येक हलमा लाग्ने १२ सयभन्दा बढीको डिबी खर्च निर्माताले तिर्नुपथ्र्यो, अहिले हलमा लाग्ने खर्च हलले नै तिर्नुपर्ने व्यवस्था मिलाइएको छ । प्रदर्शनबाट उठेको रकम निर्माताले ५० प्रतिशत र हलले ५० प्रतिशत पाउने व्यवस्था थियो, अहिले निर्मातालाई ५५ प्रतिशत र हललाई ४५ प्रतिशत छ । चलचित्रको होल्डओभर कुन हलको कति भन्ने क्लियर थिएन, त्यसलाई व्यवस्थित गरिएको छ । यी कुराले निर्मातालाई राहत मिलेको छ, हलबाट आउने सेयरमा पनि वृद्धि भएको छ ।
नेपाली चलचित्रलाई विदेशी बजारमा विस्तार गर्नुपर्ने आवाज पनि उठ्ने गरेको छ नि ?
आन्तरिक प्रदर्शनले मात्र निर्माताको लगानी सुरक्षित गर्न सकेन । त्यसैले निर्माताहरूले संघ मार्फत बिदेशी बजारको खोजी हुनुपर्छ भनेर आवाज उठाएका हुन् । त्यो प्रयास भइरहेको छ । दार्जलिङ र सिक्किममा रेगुलर नेपाली चलचित्र प्रर्दशन हुने व्यवस्था मिलेको छ । डेनर्माकमा समेत नेपाली चलचित्र प्रर्दशन हुने भएको छ । हङ्कङ् र मलेसियामा बजार बिस्तारै बिस्तारीदै छ । विभिन्न देशमा नेपाली चलचित्र लैजान सरल र सहज व्यवस्था खोजिदै छ ।
नेपाली चलचित्रको कन्टेन्ट परिवर्तनका कुरा पनि उठ्ने गरेका छन्, हैन ?
संघमा आएदेखि नै दर्शकलाई थप आकर्षित गर्न चलचित्रको कन्टेन्ट परिवर्तन गर्नुपर्ने आवाज मैले उठाउँदै आएको हुँ । मेन स्ट्रिमका सिनेमाहरूलाई भारतबाट कपी गरेको आरोप लागिरहेको थियो । त्यसैले मौलिक पनका चलचित्र निर्माण गर्नुपर्नेमा जोड दिइएको हो । अहिले कन्टेन्टमा विस्तारै परिवर्तन आउँदै छ । राम्राराम्रा सिनेमा बनेका छन् । जसले चलचित्रक्षेत्रलाई राम्रो गर्ने देखिन्छ ।
संघको नेतृत्व फेरिए पनि चलचित्रको प्रदर्शन व्यवस्थामा सुधार भएजस्तो देखिँदैन नि ?
सुधारिएको छ । केही समयअगाडिसम्म वर्षमा पचास वटा चलचित्र निर्माण हुन्थे, अहिले डेढ सयबढी चलचित्र निर्माण भईरहेका छन् । तर, हलहरू तुलनात्मक रूपले बढेका छैनन् । यसैकारण प्रदर्शनमा समस्या पर्दै आएको छ । पछिल्लो समय बनेका मल्टिप्लेक्स हलमा विदेशी सिनेमा मात्र चल्थे, त्यसलाई ब्यबस्थित गर्न क्यु सिस्टम र फ्रि सिस्टम गरेर दुई तरिकाले चलाउने ब्यबस्था मिलाईएको छ । राम्रा चलचित्रलाई हिन्दी सिनेमा चलाइने हलमा समेत लाग्ने ब्यबस्था गरिएको छ । निर्माणमा तीव्रतासँगै जस्ता चलचित्र पनि बनिरहेका कारण प्रर्दशनमा समस्या परेजस्तो देखिएको हो । निर्माण गर्ने बित्तीकै प्रर्दशनमा हतारिने प्रवृत्तिले केही समस्या निम्त्याएको छ । अब चलचित्र निर्माणबारे पनि केहि नियम ल्याउने सोचसाथ हामी लागिपरेका छौँ । हल र चलचित्रको बर्गीकरण गर्ने नियमको तयारीमा छौँ । यसले मारमा परेका राम्रा सिनेमालाई राहतको ब्यबस्था गर्छ ।
थुप्रै चलचित्र भवनमा एकै समयमा तीनवटा भन्दा बढी चलचित्र प्रदर्शन हुने गरेका छन् । तैपनि नेपाली चलचित्रले व्यापार गर्न सकिरहेका छैनन् नि ?
अहिले चलचित्र राम्रा बनिरहेका छैनन् । पैसा हुँदैमा जसले पनि राम्रो चलचित्र बनाउन सक्छ भन्ने होइन । चलचित्र निर्माणमा पूर्ण ज्ञान हुनैपर्छ भन्ने होइन तर सिनेमासम्बन्धी केही जानकार त हुनैपर्छ । चलचित्रमा लगानी के, कहाँ र कस्तो तरिकाले हुँदै छ भन्ने कुरालाई व्यापारिक हिसाबले हेर्न सक्नुपर्छ । लगानी कति समयमा फर्कन्छ वा फर्कंदै फर्कंदैन भन्ने कुरा लगानी गर्नेले जान्नुपर्ने हो । अहिले अधिकांस निर्माताले यसमा ध्यान पुर्‍याएका छैनन् । जानेर, पढेर भन्दा पनि मोज र समय पास गर्न चलचित्रमा आउनेको बाढी छ । यसले गर्दा निर्माताहरू एकअर्कामा जुधिरहेका छन् । लगानी डुबे पनि डुबोस् भनेर जस्तोसुकै चलचित्र बनाउनेहरूका कारण राम्रा निर्मातालाई असर परेको छ । लगानी असुरक्षित बनेको छ ।
समग्रमा नेपाली चलचित्रक्षेत्र कुन स्तरमा देख्नुहुन्छ ?
चलचित्र क्षेत्रले बिस्तारै फड्को मार्दै छ । निर्माण गरेपछि नाफा र घाटा त हुन्छ ।
एभ्रेजमा भन्ने हो भने सय वटा चलचित्रमा पाँच–छ वटाले नाफाको व्यवसाय गरेका छन् अहिले  । हलिउड र बलिउडमा बर्षमा हजारौँ चलचित्र निर्माण हुन्छन्, बीस–पच्चीस वटाले नाफा गर्छन् । यसरी हेर्दा व्यवसायका हिसाबले नेपाली सिनेमा धेरै माथी छन् । नयाँनयाँ धारका विदेशमा बस्ने नेपालीले पनि हेर्ने खालको चलचित्र निर्माण हुन थालेका छन् । राम्रो बनाउनेले दर्शक र समिक्षकको गाली खाएका छैनन् । चलचित्र क्षेत्र धराशयी भएको कुरा हल्ला मात्र हो । हिरो बन्न जस्तोपायो चलचित्रमा लगानी गर्‍यो अनि नचलेपछि सम्पूर्ण क्षेत्रलाई नै धराशायी भन्नेहरूको कुरा मात्र हो । घाटा लागेकाहरूले फैलाएको हल्लाबाट म निरुत्साहित छैन ।
चलचित्र क्षेत्रको विकासका लागि थप आवश्यकता के देख्नुहुन्छ ?
पहिलो कुरा त स्पष्ट चलचित्र नीतिको आवश्यकता छ । जसबाट टेकेर सहजतापूर्वक चलचित्र निर्माण गर्न सकियोस् । चलचित्र क्षेत्रका विकृति–विसंगति हटाउन सकियोस् । करोडौँको लगानी हुने क्षेत्रलाई सरकारले उद्योगको मान्यता दिएको छैन, दिनुपर्छ । त्यसपछि यो क्षेत्रसँग सम्बन्धित मेटिरीपयल भित्र्याउँदा लाग्ने बिभिन्न कर छुट हुन्छ । ऋणको कुरामा बैकिङ् कारोबार गर्न सजिलो हुन्छ । चलचित्रकर्मीको हकहितका लागी भनेर राज्यस्तरबाट स्थापना गरिएको बिकास बोर्ड स्वायत्त हुनु पर्‍यो । एउटा चलचित्र ग्रामको आवश्यकता छ, जसमा सेन्सरदेखि चलचित्रको प्रेस मिट, अडियो विमोचनलगायतका हरेक सुविधा उपलब्ध होस् ।
प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया