विवादित टापुमा चिनियाँ जहाज प्रवेश

टोकियो : चीन र जापान दुबैले स्वामित्व दाबी गरेका टापु क्षेत्रमा मंगलबार चीनीयाँ पानीजहाज प्रवेश गरेका छन् । स्थानीय समय अनुसार मंगलबार राती साढे १२ बजे ती पानीजहाज टापु क्षेत्र प्रवेश गरेको जापानी सीमा सुरक्षा बलले जनाएको छ । ती पानी जहाज चीनको सरकारी जहाज भएको सुरक्षा बलले दाबी गरेको छ । जापानी सीमा सुरक्षाका एक अधिकारीले भने, ‘आज अपरान्ह साढे १२ बजे ती जहाजले टापु प्रवेश गरे । चारवटा पानीजहाज विवादास्पद टापु नजिकैको पानी प्रवेश गरेका छन् । पानीजहाज प्रवेश गरेको थाहा पाएपछि हामीले तत्कालै त्यहाँबाट हट्न भनेका छौं । तर, यस विषयमा उनीहरूले कुनै पनि प्रतिक्रिया जनाएका छैनन ।’ यी चार बाहेक थप चिनियाँ जहाज पनि त्यहाँ आएको र सबै जहाजलाई हट्न भनिसकेको जानकारी उनले दिए ।
यसैबीच, चीनले जापानसँग कूटनीतिक सम्बन्ध स्थापना भएको चालीसौँ वार्षिकोत्सव मनाउने तयारी गरेको भए पनि जापानसँगको विवाद बढेपछि कार्यक्रम स्थगित गरेको छ । विवादास्पद दुई टापुलाई यी दुवै देशले आ–आफ्नो भनी दाबी गर्दै आएका छन् । यसै दाबीका कारण दुई देशबीचको कूटनीतिक सम्बन्ध तनावपूर्ण बन्दै गएको छ  । सन् १९७० को दशकदेखि दुई देशबीच टापुको स्वामित्वका विषयमा झगडा कायम छ । (एएफपी)

प्रतिक्रिया