ठेकेदारको लापरवाहीले अधिकांश आयोजना अलपत्र

सुर्खेत, १७ असोज । ठेकेदारको लापरवाहीकै कारण निर्माणमा ढिलाइ भएर सुर्खेतमा सञ्चालित विकास निर्माणका योजना समयमै सम्पन्न हुन सकेका छैनन् । सम्झौताअनुसार ठेकेदारले काम नगर्नु, सम्बन्धित निकायले समयमै अनुगमन नगर्नु, स्थानीय राजनीतिक दल तथा नागरिकले समेत बेवास्ता गर्नाले आयोजनामा केठेदारकै बोलवाला हुँदै आएको छ । आयोजना समयमै सम्पन्न नहुँदा त्यसको लागत झन् बढ्ने गरेको छ ।

चौकुनै सिमेन्ट उद्योग सञ्चालनका लागि ०६५ मा सुमार्गी निर्माण कम्पनीलाई ठेक्का दिइएको थियो । हालसम्म सञ्चालनमा आउनुपर्नेमा निर्माण कार्यसमेत सुरु भएको छैन । उद्योग सञ्चालनसम्बन्धी विषय अहिलेसम्म प्रतिनिधिमण्डलको भेटघाट र मागपत्रमा सीमित छ । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालनिकट मानिने अजेयराज सुमार्गीले दाहालकै आडमा उद्योग निर्माणमा ढिलाइ गरेको आरोप स्थानीयको छ ।
सम्झौताअनुसार झुप्राखोलामा एक महिनाअघि नै पक्की पुल निर्माण भइसक्नुपर्ने हो । साटाखानी र जर्बुटा गाविसको बीचमा पर्ने झुप्राखोलामा पक्की पुल १६ जेठभित्र सम्पन्न गरिसक्ने सम्झौता थियो । मध्यपश्चिमाञ्चल सडक डिभिजन कार्यालय नं. ४ ले माओवादी लडाकुको अस्थायी शिविर जाने बाटोमा पर्ने पुल १६ जेठभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको हो । तर, हालसम्म ५० प्रतिशत पनि काम सम्पन्न भएको छैन । सडक डिभिजन कार्यालयले १८ भदौ ०६७ देखि १६ जेठ ०६९ सम्म निर्माण गरिसक्ने सम्झौतामा ठेक्का लिएको थियो ।
हालसम्म खोलाको एक छेउको पिलर निर्माण गरिसकिएको छ भने अर्को छेउको आधा मात्रै निर्माण गरिएको छ । सम्झौताअनुसार काम नगर्दा निर्माणमा ढिलाइ भएको हो । निर्माणको जिम्मा लिएका ठेकेदारको ढिलाइ र सम्बन्धित निकायले समयमै अनुगमन नगर्दा निर्माणमा ढिलाइ भएको स्थानीय बताउँछन् । दशरथपुर, लेखफर्सा र कल्याणमा रहेका माओवादीका अस्थायी शिविरमा जाने सडक भएकाले दुई वर्षअघि सडक विभागले मध्यपश्चिमाञ्चल सडक डिभिजन कार्यालय नं. ४ सुर्खेतमार्फत पुल निर्माणको काम अघि बढाएको थियो ।
यस्तै सोही सडकअन्तर्गत कल्याण र साटाखानी गाविसको सिमानामा पर्ने चिंगाडखोलामा निर्माण गर्नुपर्ने पक्की पुल पनि समयमै सम्पन्न हुन सकेको छैन । पुल पनि मध्यपश्चिमाञ्चल सडक डिभिजन कार्यालय सुर्खेतले १६ जेठमा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता गरी ठेक्कामा दिएको थियो । निर्माणकार्य सुरु भएको दुई वर्ष बितिसक्दा पनि खोलाको एक छेउमा पिलर निर्माण र अर्को छेउमा जग निर्माणबाहेक अन्य काम हुन सकेको छैन ।
शान्ति तथा पुन:निर्माण मन्त्रालयले द्वन्द्वकालमा क्षति भएका भौतिक संरचना पुन:निर्माणको काममा समेत ठेकेदारको लापरवाहीका कारण समयमै सम्पन्न हुन नसकेको स्थानीय शान्ति समिति सुर्खेतका संयोजक मोहन थापाले बताए । समयमै कामसम्पन्न नगर्ने ठेकेदारलाई हटाएर नयाँलाई जिम्मा दिने वा कारबाही गर्नुको सट्टा आयोजनासम्पन्न नहुँदै पूरै रकम भुक्तानी गर्ने र पटक–पटक म्याद थप्नाले विकास निर्माणमा ढिलाइ हुनुका साथै व्ययभारसमेत बढ्ने गरेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया