श्राद्धभोजले ४९ बिरामी

वीरगन्ज, १७ असोज । बारा पिपरा सिमरा–६ औराहा टोलमा विषाक्त खाना खाएर ४९ जना बिरामी परेका छन् । बिरामी पर्नेमा दुई गर्भवती महिला, १४ महिनाका काखे बालकदेखि लिएर ७० वर्षका वृद्धसमेत छन् ।

स्थानीय श्रवणकुमार उपाध्यायको घरमा आइतबार राति सोह्रश्राद्धको पितृप्रसाद खाएकाहरू बिरामी परेका हुन् । प्रसादमा उनीहरूले सेलरोटी, खीर र अचार खाएका थिए । बिरामी परेकालाई पेट दुख्ने, बान्ता आउने, शरीर काम्ने र ज्वरोको लक्षण देखिएको छ । बिरामीमध्ये ३२ जनाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा, दुईको नेसनल मेडिकल कलेज र अन्यको गाउँकै स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । आइतबार राति श्राद्धमा प्रसाद खाएकाहरू सोमबार बेलुकीदेखि बिरामी परेका थिए । सोमबार तीन बिरामी नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि आएका थिए । मंगलबार भने श्राद्धको प्रसाद खाएका अधिकांशलाई पेट दुख्ने र बान्ता हुन थालेपछि एम्बुलेन्सबाट उपचारका लागि वीरगन्ज पुर्‍याइएको हो ।
सिडिओ कृष्णहरि पुष्करको निर्देशनमा मंगलबार सदरमुकाम कलैयाबाट गएका दुई एम्बुलेन्सले बिरामीको उद्धार गरेर उपचारका लागि वीरगन्ज पुर्‍याएका थिए । विषाक्त खाना खाएर बिरामी पर्नेमा पिपरा सिमरा–६ औराहा टोलका १४ महिनाका उत्सव चालिसे, दुईवर्षीय मनीष न्यौपाने, ७० वर्षीय देवप्रसाद नेपाल, ६० वर्षीया कृष्णकुमारी अधिकारी, सविता विक, गंगा नेपाल, प्रतिमा अधिकारी, सूचना अधिकारी, सुशीला अधिकारी, रामप्रसाद अधिकारी, दीक्षा अधिकारी, दीक्षान्त अधिकारी, बबि राना, उर्वशी पौडेल, आतुशा पौडेल, राधिका अधिकारी, कृष्ण पौडेल, सावित्री नेपाल, सरिता नेपाल, रत्न पोखरेल, लाले विक, रमा पोखरेल, सुस्मिता अधिकारी, ईश्वर वाग्ले, इच्छा अधिकारी, कविता वाग्ले, मनिका न्यौपाने, पवित्रा चालिसे, तुलसा वाग्ले, रीता वाग्लेलगायतका छन् ।

प्रतिक्रिया