सहमति खोज्न सर्वदलीय बैठकको दबाव

काठमाडौं, १६ असोज । विघटित संविधानसभाका दलहरुले मुलुकको राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरुले जिम्मेवारी साथ पहल गर्नु पर्ने बताएका छन् ।
काठमाडौंमा आज बसेको सर्वदलीय बैठकमा धारणा राख्ने अधिकांश दलहरु र नेताहरुले सहमति गरेर नयाँ निर्वाचनमा जानुपर्ने सुझाव दिएका हुन् । उनीहरुले निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्नेमा समेत सुझाव दिए ।
बैठकमा नयाँ निर्वाचनको सभासद् संख्या र प्रक्रियाका बारेमा पनि स्पष्ट हुनु पर्ने सुझाव आएको नेताहरुको भनाई छ ।
एमाले उपाध्यक्ष बामदेब गौतमले वर्तमान सरकारलाई निरन्तरता दिनु पर्ने सत्तारुढ दलहरुको सुझाव आएको बताए । यद्यपि आफूहरुले वर्तमान सरकार विस्थापित नहुँदा सम्म सहमतिमा समस्या हुने धारणा राखेको बताए ।
उनले भने, ‘पार्टीहरुले आ–आफ्ना अडान र विकल्प बारेमा बैठकमा धारणा राख्ने काम मात्रै भएको छ, ठोस निर्णय केही भएन् ।’
राप्रपा नेपालका अध्यक्ष कमल थापाले दलहरुका बीच आगामी निर्वाचन र निर्वाचित हुने सदस्य संख्याबारे परामर्श भएको जानकारी दिए । उनले भने, ‘१ बर्षका लागि संविधानसभा र चार बर्ष संसद् रहने गरेर निर्वाचन गर्न सुझाव दिएको छु ।’
राष्ट्रपति डा.रामवरण यादवले प्रमुख दलहरु सहमतिमा मुलुकको राजनीतिक गतिरोध अन्त्य गर्न दबाव दिए पछि प्रमुख दलले सर्वदलीय बैठक बोलाएर सुझाव लिएका हुन् । सर्वदलीय बैठकका सुझाव अनुसार दलहरु अगाडि बढ्ने छन् ।

प्रतिक्रिया