नेपाली चलचित्रको कथा कमजोर : भुटिया

काठमाडौं, १६ असोज । सिक्किमेली निर्देशक साम्पेन भुटियाले निर्देशन गरेको चलचित्र लेटर आगामी १९ गतेबाट प्रदर्शनमा आउँदै छ । यसैको प्रमोसनका लागि निर्देशक भुटिया गत आइतबार सिक्किमबाट काठमाडौं आइपुगे । सिक्किममै बसेर दर्जनौँ छोटा तथा लामा चलचित्र निर्देशन गरेका उनले ठूलो पर्दाको नेपाली चलचित्र पहिलोचोटि निर्देशन गरेका हुन् । उनी उत्साहित छन् । भन्छन्, ‘नेपाली चलचित्र क्षेत्रमा लेटरले पनि इँटा थप्ने विश्वास लिएको छु ।’

सिक्किममा रहे पनि नेपाली चलचित्र पहिल्यैदेखि हेर्दै आएको उनले बताए  । पुराना चलचित्र लाहुरे, दर्पणछाया, बदलिँदो आकाशदेखि पछिल्ला मसाल, सानो संसार, मेरो एउटा साथी छलगायत चलचित्र उनले हेरेका रहेछन् । यी चलचित्र हेरेका आधारमा नेपाली निर्माताहरूले स्टोरी राम्रो बनाउनेभन्दा पनि स्टार राखेका भरमा चलचित्र राम्रो चल्छ भन्ने सोच राखेकाले नेपाली चलचित्रले मेहनतअनुसारको फड्का मार्न नसकेको उनलाई लागेको रहेछ ।
त्यसो त नेपाली निर्माता निर्देशकको थोरै साधनस्रोतका भरमा लगानी गर्नसक्ने आँट र दिन खोज्ने क्रिएसन विश्वमा अन्त कतै नभएको भन्दै उनले प्रशंसा पनि गर्न भ्याए । यद्यपि भेराइटीलाई बेवास्ता गर्दै एकै खालको विषयवस्तुमा दौडने प्रवृत्तिका कारण नेपाली चलचित्र आवश्यकताजति अघि बढ्न नसकेको उनी ठम्याउँछन् । भन्छन्, ‘हतारमा चलचित्र बनाउने र जस्तो पायो त्यस्तो कथा चलचित्रमा राख्ने परिपाटीले समस्या पारेको छ ।’
चलचित्र टिचर हो, जसले मनोरञ्जनका साथै सन्देश पनि बाँड्न सक्नुपर्छ भन्ने मान्यता बोकेका भुटियालाई नेपाली चलचित्रले आफ्नै कथालाई समेट्न नसकेको जस्तो लाग्छ । विश्वका सफल चलचित्रहरू सम्बन्धित देशको मौलिक कथामा निर्माण गरिएको बताउँदै निर्माण पक्षबीच एकताको अभावमा नेपाली चलचित्रले चाहेजति प्रगति गर्न नसकेको विश्लेषण गर्छन् । उनलाई नेपाली चलचित्रको प्रि–प्रोडक्सन कमजोर रहेको र निर्देशकले कलाकारलाई भूमिकाअनुरूप काम गराउन नसकेझैँ लाग्छ ।
सिक्किममा चलचित्र निर्देशनका अलावा थिएटरमा अभिनयसमेत गर्दै आएका भुटिया लेटरमा आफूले कलाकारलाई चरित्रअनुसार राम्ररी ढालेको दाबी गर्छन् । नेपालमा चलचित्र निर्माण गर्नभन्दा प्रदर्शन गर्न गाह्रो लागेछ भुटियालाई । लेटरमा कथालाई विशेष ध्यान दिइएको र यसमा अन्य नेपाली चलचित्रमा जस्तो एक्सन नरहेको उनले बताए ।

प्रतिक्रिया