“महान होइन, असल मानिस बन्नु छ”

म्याड्रिड, १६ असोज । बार्सिलोनाका स्टार फुटबलर लिओनेल मेसीले आफू इतिहासमा विश्वकै उत्कृष्ट खेलाडीभन्दा बढी टिमका लागि राम्रो साथी बन्न चाहेको बताएका छन् ।
२५ वर्षीय यी अर्जेन्टिनी फुटबलरले लगातार तीनपटक फिफा वर्षखेलाडी अवार्ड जितेका छन् र यस वर्ष पनि उक्त अवार्डको बलियो प्रत्याशीका रूपमा उभिएका छन् । गत सिजन उनले कीर्तिमानी ७३ गोल गरेका थिए ।
‘व्यक्तिगत अवार्ड प्राप्ति तथा गोल आदि सबै टिममा रहेर गर्न चाहन्छु,’ स्पेनिस दैनिक डेली एल पायससँग कुरा गर्दै मेसीले भनेका छन् । उनले आफू राम्रो खेलाडीभन्दा पनि राम्रो मान्छे बन्न प्रयासरत रहेको बताए । यसैकारण आफूलाई समय–समयमा चिन्तामा पार्ने गरेको यी खेलाडीले बताए । ‘म विश्वको सर्वोत्कृष्ट खेलाडी बन्नुभन्दा पनि राम्रो मान्छे बन्नका लागि चिन्तित हुन्छु । जब तपाईंसँग तपाईंले खेल्ने बहुप्रचारित क्षमता र प्रशंसा गर्नलायक मुभहरू हुँदैनन्, तपार्इंसित के नै बाँकी रहन्छ र ?’ मेसीले भने, ‘जब म सन्न्यास लिन्छु तब म इतिहासमा एउटा असल मानिसको रूपमा परिचित हुन चाहन्छु । म गोल गर्न चाहन्छु तर त्यति मात्र होइन, मसँग खेल्ने साथीहरूबीच पनि म राम्रो साथी बन्न चाहन्छु ।’ मेसी आफ्नो पहिलो सन्तानको पर्खाइमा पनि छन् । आगामी महिना जन्मने उक्त वच्चाको नाम थिआगो राख्ने उनले बताइसकेका छन् ।
पिप गार्डिओलका पूर्वसहायक टिटो भिलोनोभाको प्रशिक्षणमा मेसीले १० गोल गरेका छन् । गार्डिओलाले गत सिजनको अन्त्यमा बार्सिलोनाको ४ वर्ष लामो बसाइबाट बिदा लिएका थिए ।  एजेन्सी

प्रतिक्रिया