मैले भोगेको सजाय

एक समय थियो, सामाजिक रूपमा सक्रिय महिलाहरूलाई ‘आँखी’ ठान्थे मानिसहरू । आइमाई बाठी भए भगवान् रिसाउँछन् भनेर सजाय दिन उद्यत हुन्थे । समाजभित्रको यो क्रूरता राम्ररी भोगेकी छन् छमीकुमारी रानामगरले पनि । समाजबाट विकृति हटाउन गरेको पुण्यकार्यको ‘सजाय’ भोग्नुपर्‍यो उनले, आममानिसबीच नंग्याइयो । तर, पनि हार मानिनन् उनले, आज पूरै गाउँ उनको अभियानको पुजारी छ । आफ्नो कृत्यप्रति लज्जित छन् गाउँले । गत शुक्रबार मात्रै १० हजार अमेरिकी डलरबराबरको अन्तर्राष्ट्रिय स्तरको स्वर्णिम प्रतिभा पुरस्कार पाएकी छमीकुमारी सम्झँदै छिन्, ती दिन :
चार वर्षअघिको चैत, रातको आठ बजे । गाउँले सबै मेरो आँगनमा जम्मा भएका थिए । कसैका हातमा खुकुरी थिए, कोही रिसले मुर्मुरिँदै थिए । समूहको अगुवाइ मेरै ससुराले गर्नुभएको थियो । भात खाएर घरधन्दा गर्दै थिएँ, गाउँलेको समूह एकाएक ममाथि आइलाग्यो ।
श्रीमान् कमाउन विदेश गएका थिए, म ससाना छोरी र सासूससुराको रेखदेख गरेर बस्दै आएकी थिएँ । आफ्नै ससुरा मेरा विरुद्ध खनिएपछि मेरो पक्षमा निरीह छोरीहरू र सासूबाहेक कोही थिएनन् ।
मलाई घरभित्रबाट बाहिर निकाले । त्यो राक्षसी समूह मलाई नांगै बनाउन कस्सियो । सपनामा थिएँ कि बिपनामा मलाई होसै भएन । जिउमा एकसरो म्याक्सी मात्रै थियो । गाउँले मलाई हातपात गर्न थाले, शरीरमा लगाएको पुरानो भइसकेको म्याक्सी देब्रे कुमबाट च्यातिएर भुइँमा झर्‍यो । एक धर कपडा बाँकी रहेन । सासू चन्द्रकुमारीले मलाई छेकेर लाज ढाकिदिनुभयो ।
कल्पनै नगरेका ठूला वेदना सामुन्ने आइदिँदा आँखा होइन, मन रुँदोरहेछ । मेरा आँखाबाट आँसु खसेन । बरु छोरी अनि नन्दहरू रुन थाले । आफ्नो अपमानको पीडा उनीहरूको चित्कारबाट महसुस गरेँ मैले । साना नानीहरूको चिच्याहटले पनि गाउँलेहरूको हृदय पग्लिएन । मलाई नंग्याएर मात्रै चित्त बुझेन उनीहरूलाई, कयरखोला कटाएर गाउँ निकाला गरेको घोषणा गर्न चाहन्थे ।
मान्छे हर समय आफ्ना पीडामा मात्र छट्पटाउँछ । देखेका पीडा, सुनेका पीडा अरुका पीडा हुन्, तिनीहरूमा मानिस एकैछिन् रोइदिन्छ र तत्क्षण बिर्सिदिन्छ । लाग्यो, इतिहास र ग्रन्थहरूमा वर्णित पीडाभन्दा कम भोगिनँ मैले । द्वापर युगमा पाण्डवले जुवामा दाउ राखेकी द्रौपदी पाण्डवको हारसँगै नांगिनुपरेको थियो । जुवामा हारिएकी द्रौपदीलाई दुशासनले नांगेझार पार्न लागेका थिए । द्रौपदीले भगवान् श्रीकृष्णलाई पुकारिन्, कृष्ण उनको साडीको रूप लिएर आए । उनलाई दुशासनले नंग्याउन सकेन ।
आजको युगमा म पनि जुवा, मदिराकै कारण नांगिनुपरेको थियो । मैले यो विकृतिको विपक्षमा आवाज उठाएकै कारण द्रौपदीले भन्दा पनि कठोर नियति भोग्नुपरेको थियो । कमसेकम उनले नांगिनु त परेको थिएन । मेरो कसुर थियो, शक्तिखोर गाविस–८, मा रहेको मेरो गाउँ देवीटारमा जाँडरक्सी नियन्त्रणका लागि अगुवाइ गर्नु ।
०००
समयले कति चाँडो कोल्टे फेर्छ र मानिसलाई नयाँ गोरेटोमा पुर्‍याउँछ । आज म त्यही महसुस गर्दै छु । चार वर्षअघि मात्रै राक्षस बनेर मेरा अघि देखिएका गाउँले अहिले मप्रति कृतज्ञ छन्, सबै मेरो पक्षमा छन् । मलाई रातको प्रहरमा खोला कटाउन खोज्ने गाउँले अहिले म नभए अगाडि बढ्न नसक्ने बताउन मेरै अघि आउँछन् । त्यतिबेला मेरा सन्तानका कारण चाहेर पनि मैले यो गाउँ त्याग्न सकिनँ । रातमा गरिएको बेइज्जतीलाई आफ्नै शक्ति लगाएर दिनमा ढाकेँ । लाग्यो– सूर्यको रातो लालीले मेरो इज्जत ढाकिदियो । मनमा उठेको पीडा नजिकैको गुह्य खोलामा गएर आँसुमा बगाइदिन्थे । रुँदारुँदै कसैले बोलाए आफैँभित्रबाट दरिन्थेँ अनि भन्थेँ, ‘हजुर मैले गर्नुपर्ने केही छ कि ?’
चार वर्षअघिको गाउँ आज छैन, फेरिएको छ पूरै । बाटोभरि सुँगुर र मानिसका दिसा छरिएका छैनन् । सबैका घरमा चर्पी छ । लोग्नेमान्छे र आइमाई दिनभरि नै रक्सी खाएर नानाभाँती अपशब्द बोल्दै पिँढीमा लडिरहेका हुन्थे । अहिले सबैलाई कामकै भ्याइनभ्याई छ । गाउँका एक सय ७३ घरधुरीमै गोठभरि बाख्रा छन् । पाखोबारीमा उन्नत घाँस हरिया भएर लहराइरहेका छन् । घरका पिँढी, मझेरी अनि छोराछोरी मात्रै होइन, बाख्रा, गाईभैँसीका गोठ पनि सुग्घर छ । गाउँका आमा, दिदी–बहिनीले दिनभर रक्सीमा मस्त हुने श्रीमान्को चुटाइ सहनुपर्दैन । कुनै घरमा दाजुभाइले त्यस्तो व्यवहार गर्न लागे भने त्यो घरमा मेरै खाँचो हुन्छ । आइमाई बाठी भई
पनि भन्दैनन् ।
मजदुरी गरेर जीवन चलाउनुपर्दैन । न त चाडबाडमा साहूकोमा हात पसार्नु नै पर्छ । हाम्रो जीवन आफ्नै मर्जीमा चलाउन सक्ने कमाइ हामी आपैँm गर्छौं । मेरै घरमा पनि यो वर्ष ८५ हजार रुपियाँको खसी बेचेँ । तीन छोरीलाई बोर्डिङ स्कुलमा भर्ना गरेकी छु । पतिले कतार गएर बगाएको पसिनाको कमाइ भविष्यको लागि बचत छ ।
०००
चार वर्षमा यति परिवर्तन ? नभोगेको भए म आफैँमा पनि यो प्रश्न उब्जिन्थ्यो होला । मेरै जीवनमा २०६५ सालयता आएको परिवर्तन हो यो । प्युठान माइतीबाट १३ वर्षको उमेरमा बिहे गरेर चितवन आएँ । पाँच कक्षासम्म त माइतीमै पढेकी थिएँ । यहाँ आएपछि हामी बाहुन, क्षत्रीसँग बोल्नै हुँदैन भन्ने रहेछ । मैले पनि त्यही सिकेँ । पढेका मान्छेसँग बोल्नै मन लाग्दैनथ्यो । जुम्रा हेर्ने, मेलापात जाने अनि घाँसदाउरा । यही नै नियमित जीवन बुझेकी थिएँ । तर, एकपटक गाउँमा महिला समूह गठनको लहर चल्यो । हामीले पनि रहरमा समूह बनायौँ । तर, के हो समूह थाहा भए पो † समूहको नाम पनि राखेका थिएनौँ । कहिलेकाहीँ जिल्लाबाट मान्छेहरू जान्थे । उनीहरू राजनीतिक मान्छे रहेछन् । कसैले अखिल नेपाल महिला संघ राख्नुपर्छ भन्थे, कसैले नेपाल महिला संघ अनि कसैले क्रान्तिकारी महिला संघ । जेजे भन्थे, त्यसैगरी चल्यौँ । तर, एकपटक २०६५ को माघ महिनातिर दुईजना क्षत्रिनी र बाहुनी हाम्रो गाउँमा गए । हामीचाहिँ ‘यी क्षत्रिनी बाहुनीहरू कम बाठा छन्, हामीलाई समूह भनेर थांनामा सुताउँछन्, अनि भत्ता आफू पचाउँछन्’ भन्थ्यौँ । म त अझै हकी स्वभावकी थिएँ, त्यसैले होला यस्ता कुरा भन्न अझ अगाडि हुन्थेँ । उनीहरूको नाम सीता पौडेल र ऋषिमाया थियो । तीनपटकसम्म उनीहरू गाउँमा आएर हामी महिलालाई समूहमा राख्न लागे । तर, हामी कहाँ टेर्नु । बरु, उनीहरूलाई गाउँबाट लखेट्नुपर्छ भन्थ्यौँ ।
गाउँका महिलाबाट समूह गठन गराउन नसकेपछि उनीहरूले गाउँका एक–दुई शिक्षकको सहयोग लिएछन् । हामी शिक्षकले भनेका मान्थ्यौँ । उनीहरूले एक दिन स्कुलको चौरमा भत्ता बाँड्ने कार्यक्रम छ भनेर बोलाए । सबै घरका आइमाई ‘भत्ता पचाउने, दिन बिताउने त हो नि’ भन्दै गयौँ । त्यहाँ पुगेको त तिनै पहिलाका क्षत्रिनी, बाहुनी पो रहेछन् । हामी कसैलाई पनि मन परेन । तर, पनि बस्यौँ किनकि गाउँका मास्टर त्यहीँ थिए । उनीहरूले एक/एक सय रुपियाँ भत्तासहित नजानिँदो पारामा गाउँका दिदीबहिनीको चारवटा समूह बनाइदिए । हामीलाई समूह भनेको थाहा थिएन, भत्ता पाएपछि बस्यौँ । मलाई देबीटार समूहको अध्यक्ष बनाइएको रै’छ । दोस्रोपल्ट त समूहका सबैलाई आफ्नो परिचय गर्न पो अह्राए ।
परिचय भनेको चाँहि के ? हामीलाई त्यति बेला थाहै थिएन । नाम, ठेगाना, ठाउँ भन्नुपर्ने कुरो पो आयो । उठेर आफ्नो नाम कसरी
भन्नु ? स्कुलको चौर त भुँइचालो गएजस्तो पो भयो हाम्रा लागि । कोही त चर्पी जाने भन्दै भागे । मैले नि त्यही जुक्ति पछ्याएँ । बल्लतल्ल घरको आँगनमा टेकेँ । लौ बचियो, सोचेर करेसामा बसेर टाउको समाउँदै थिएँ, अध्यक्षको घर भनेर यहीँ पो भात खान आए । बल्लतल्ल भात खुवाएँ । पछि थाहा भयो, उनीहरू हेफर इन्टरनेसनल संस्थाको परियोजना साझेदार संस्था महिला समन्वय समितिमार्फत हाम्रो गाउँमा समूह विस्तारसाथै आयआर्जनको कार्यक्रम गर्न
आएका रहेछन् ।
बिस्तारै तिनै क्षत्री, बाहुन आइमाईसँग घुलमिल हुँदै गएपछि हामी महिलाहरू मेलापातमा एकसाथ हुन थाल्यौँ । गाउँका २९ जनाको समूह मल बोक्न, ज्याला गर्न जान, घाँस, पानीमा पनि लहरै हुन थाल्यौँ । घरमा लोग्नेमान्छेले आइमाई ‘बढी’ हुन थाले भनेर दु:ख दिन पनि थाले । हामी भने मेलापातमा नयाँ कामको योजना बनाउँथ्यौँ । अनि, काम गथ्र्यौं । एकदुई पटक तालिम लिएपछि बाख्रा पालन थाल्यौँ । पहिला मलाई बाख्रा फाप्दैनथ्यो । तर, समूहमा आबद्ध भएपछि हेफरले दिएको सातवटा बाख्राले दिएको आम्दानीबाट थाहा भयो, बाख्रा नफापेको होइन, उसलाई स्याहार गर्न नजानेका रै’छौँ । आम्दानी हुन थालेपछि मेरो ससुराले पनि रिस गर्न छोडे, गाउँका लोग्नेमान्छे हामीप्रति सकारात्मक हुन थाले । गाउँको विकासका लागि थुपै्र काम गर्नसक्ने भएका छौँ । घरिघरि त आफैँलाई अचम्म लाग्छ, पढेका र लोग्ने मान्छेले मात्रै विकास गर्ने होइन रै’छन् । हामीजस्तो ‘गँवार’ पनि विकासको आधार हुने रैछौँ ।
प्रस्तुति : प्रतिमा सिलवाल

 

प्रतिक्रिया