डोर्नियर विमान दुर्घटना र वर्तमान राजनीतिक सन्दर्भ

कतिपय घटना जो नचाहेर पनि सुन्नैपर्ने हुन्छ । कतिपय यस्ता दृश्य जो नचाहेर पनि देख्नैपर्ने हुन्छ र कतिपय यस्ता शाश्वत दृष्टान्त जो चाहेर वा नचाहेर पनि आत्मासात् गर्नैपर्ने हुन्छ । सुनूँ–सुनूँ लाग्ने मुरलीको धुन पनि कहिलेकाहीँ मनमस्तिकमा नमीठो झंकार बनेर गुन्जिन्छ । रानीवनको कोइलीको कु्ँहू–कुहूँ पनि बिरानो वनको न्याउलीभैँm एक तमासको उराठलाग्दो बिलौनाको भाकामा रूपान्तरण हुन्छ । सारंगीको त झन् मुटु हल्लाउने र आल्हादित पार्ने कारुणिक व्यथाले तन, मन र जीवनभरलाई पुग्ने अटुट सम्झना उपहार दिएर कहिल्यै नबिर्सने लाहाछाप लाउँछ । यही मुरलीको विरहीधुन, न्याउली विलौना र सारंगीको झंकार सुन्दासुन्दै अभ्यस्त भइसकेका हामी नेपाली यतिखेर सीता एयरको डोर्नियर विमान दुर्घटनामा परी एकैसाथ मुत्युपत्रमा हस्ताक्षर गर्न विवश मृतआत्माको सामूहिक चित्कारको मृत्युधुन सुन्न पुन: एकपटक बाध्य हुनुपरिरहेको छ  ।
लुक्लाको लागि उडेको सीता एयरको डोर्नियर विमान भक्तपुरको लोकन्थलीस्थित मनोहरा खोलानजिकै रहेको मानव बस्तीबीच मैदानमा गएर दुर्घटनाग्रस्त भयो । चालक दलका तीन सदस्यसहित स्वदेशी र विदेशी गरी १९ जनाको मुत्यु भएको खबर पर्दा बाहिर आयो । मृत्युको खबर सधैँ गोप्य राख्ने कालले सायद आÏनो गन्ती पनि १९ नै पुर्‍याइएको हुनुपर्छ । नेपाली सेनाका वरिष्ठ हवल्दार शिव ढकालको सट्टामा नायक कुमार मर्‍यांगदीलाई पनि मृत्यको पत्र पठाएर कालले ठूलो भूल गर्‍यो । घटनाको सम्बन्धमा आत्मपरक विश्लेषण गर्दै कतिले चालकको कमजोरी, कतिले प्राविधिक गडबढी त कतिले हवाई संगठनको लापरबाहीमाथि पनि शंका तथा रोश व्यक्त गरे । अचम्मको कुरा त उडानमा रहेको विमानमा वाज वा चिल ठोक्किएर दुर्घटना हुनसक्ने प्रारम्भिक अनुमान पनि गरियो । त्यसो त दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन सरकरले पाँच सदस्यीय छानबिन आयोग गठन गरेको छ । जब कुनै अप्रत्याशित घटना घट्छ वा सार्वजनिक सरोकार राख्ने अहं विषयवस्तु निरूपणका लागि सरकारले बेलाबेलामा महादेव आयोग गठन गर्छ । ढिलै भए पनि घटनाको सत्यता सार्वजानिक गर्छ । दासढुंगामा परी मदनकुमार भण्डारी र जीवराज आश्रितको राजीनितिक जीवन सप्तगण्डकीसँगै बगेर गयो । अहिलेसम्म सो घटनाको वास्तविकता अध्याँरोमा नै छ । राजदरबार हत्याकाण्डको गुदी अझै बाहिर आउन सकेको छैन । न्यायाधीश रणबहादुर बमको हत्या प्रकरण अझै बेखबर छ । यी उदाहरण त सरकारको बाहिर देखाउने हात्तीको दाह्रा मात्रै हुन् । तैपनि, घटनाको यथार्थ एक दिन जनतासामु अवश्य आउनेछ । आशा गराँै, एक दिन जनताको संविधान पक्कै बन्छ भनेजस्तै यो विमान दुघर्टनाको वास्तविकता पनि एकदिन पक्कै पर्दा बाहिर नआउला भन्न सकिन्न ।
सीता एयरको विमान दुर्घटना त एउटा दृष्टान्त मात्र हो । नेपालको अस्थिर राजनीतिकका कारण आज नेपाली जनताले अब राजनीतिक दलहरूको समग्र राजनीतिक उत्तरदायित्व र जिम्मेवारीप्रति विश्वास गर्न छाडिसके । एक्काइसौँ शताब्दीको नयाँ नेपाल बनाउने वाचा गरेका हाम्रा राजनीतिक दलका नेताहरूले देशलाई फेरि अठाराँै शताब्दीको भड्खालोमा जाक्दै छन् । मानौँ हाम्रा नेता मुलुकलाई पनि हवाई दुर्घटनाकै जस्तो अवस्थामा पुर्‍याउन उद्दत छन् । नेताहरूले सहमति र सहकार्यको बेमौसमी राजनीतिको काउसो खेती गरेको पनि धेरै भइसक्यो । गाँजमात्र सप्रियो तर बोटमा राम्रो र मीठो राजनीतिक फल कहिल्यै फुलेन, फलेन र पाकेन पनि । लाग्छ–नेताहरू यदि सधैँ यही कुर्सीमोह र सत्तामोहको महमा झिँगाभैँm लडीबुढी खेलिरहने हो भने नेपाल पनि सीता एयरको डोर्नियर विमानजस्तै दुर्घटनामा नपर्ला भन्न सकिन्न किनभने नेपाली नीलो आकाशमा अस्थिर राजनीतिको बेमौसमी कालो बादल मडारिइरहेको छ । जसरी उक्त विमान दुर्घटनाको एउटा कारण तथा अनुमान वाज हो भने आज नेपालमा पनि पूर्व र पश्चिमबाट विदेशी वाजले तीखा आँखा गाडिरहेका छन् । यदि, उक्त विमान दुर्घटनाको अर्को कारण प्राविधिक गडबडी मान्ने हो भने नेपालका नेताहरूले आÏनो राजनीतिक इन्जिन तथा पाटपुर्जा अब सही हालतमा राख्नुपर्ने परिस्थिति आइसकेको छ । विमान चालक पाइलट विजय तण्डुकारले आÏनो जीवन–मृत्युको घन्टी बज्दाबज्दै पनि नेपालको हवाई उडड्यनको इतिहासमा मनहराको सिंगो मानव बस्तीलाई अवश्यम्भावी दुर्घटनाबाट बचाएर प्रंशसनीय काम गरे । नेपालको सुन्दर भविष्य हाँक्ने पाइलट भनाउँदा नेताहरूले अब यो घटनाबाट पाठ सिक्नैपर्छ । हामीकहाँ मरेको मान्छेलाई दोष थोपरेर बाँचेको मान्छेले त्यसको जसको घाँडो आफूले भिर्ने पुरानो चलन छ । के उसले पनि एकदिन यसरी नै मर्नु पर्दैन ? साच्चै यो बेलामा नआएको नेताहरूको बुद्धि बंगारो अब कहिले आउँछ ? आखिर नेपाली राजनीतिको प्रयोगात्मक परीक्षण उडान कहिलेसम्म ? कि नेपाललाई अझै घोप्टेभीरमा लगेर खसाल्ने हो कि काला पहाडमा लगेर ठोक्काउने विचार छ ? के तिमी नेताहरूको मस्तिष्कको इन्जिन त ठीक छ ?

प्रतिक्रिया