एमाले असन्तुष्ट र तमलोपा नेपालबीच सहकार्य हुने

काठमाडौं, १६ असोज । एमाले उपाध्यक्ष अशोक राई नेतृत्वको ‘अग्रगामी विचार समूह’ र तराई–मधेस लोकतान्त्रिक पार्टी(तमलोपा) नेपालबीच नयाँ शक्ति निर्माणमा सहकार्य हुने भएको छ । अग्रगामी विचार समूहका नेताहरूले नयाँ पार्टी निर्माणमा सहभागी हुन प्रस्ताव राखेपछि तमलोपाका नेताहरूले सहमति जनाएका हुन् ।
सोमबार भएको छलफलमा अग्रगामी समूहका नेताहरूले पार्टी निर्माणमा सहभागी हुन औपचारिक प्रस्ताव राखेपछि तमलोपा नेपालका नेताहरूले सहमति जनाएको अग्रगामी विचार समूहका नेता अजम्बर राई काङमाङले बताए । उनले भने, ‘अब उहाँहरू पनि पार्टी निर्माणमा सहभागी हुनु हुनेछ ।’ उनका अनुसार अब तमलोपा नेपालका नेताहरू पनि नयाँ पार्टीको विधान, कार्यक्रम र घोषणापत्रलाई अन्तिम रूप दिन छलफलमा सहभागी हुनेछन् । दस्ताबेजमा सहमति भए एउटै पार्टी बन्न सक्ने नेता राईले बताए । ‘दस्ताबेजमाथि बसेर छलफल गर्छौं, सबै सहमत भए एउटै पार्टी बन्न सक्छ’ उनले भने । सोमबार बिहान ललितपुरस्थित अग्रगामी समूहका एक कार्यकर्ताको निवासमा भएको वार्तामा उपाध्यक्ष राईसहित अग्रगामी विचार समूहका राजेन्द्र श्रेष्ठ र रामसिंह यादव थिए । यसैगरी, तमलोपा नेपालका अध्यक्ष महेन्द्रप्रसाद यादवसहित सहमहामन्त्री अरविन्द्र शाह, केन्द्रीय सदस्य ब्रजकिशोर सिंह सहभागी थिए ।
विघटित संविधानसभामा नौजना सभासद् रहेको तमलोपा नेपाल महन्थ ठाकुरले नेतृत्व गरेको तमलोपाबाट विभाजित भएको पार्टी हो । स्रोतका अनुसार दुवै वार्तामा अग्रगामी विचार समूह र तमलोपा नेपालका नेताबीच उत्पीडितहरूको एउटै पार्टी बनाएर जानुपर्नेमा सहमत छन् । तमलोपा नेपालका अध्यक्ष महेन्द्रप्रसाद यादव पनि पुरानो एमाले कार्यकर्ता हुन् । एमाले केन्द्रीय सदस्यसमेत भएका यादव एमाले छाडेर केही वर्षअघि मात्रै मधेसी पार्टीमा लागेका थिए । यसैबीच, असन्तुष्ट एमाले नेताहरूले नयाँ पार्टी निर्माणका लागि विभिन्न साना दल र क्षेत्रीय मोर्चाहरूसँग वार्ता सुरु गरेको छ । कांग्रेसका असन्तुष्ट नेताहरू, जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक मञ्चलगायतसँग वार्ता सुरु गरिएको बताइन्छ ।
कांग्रेसका असन्तुष्ट पनि पार्टी छाड्दै
काठमाडौं : कांग्रेसका असन्तुष्ट जनजाति नेताहरूले १७ गते पार्टी परित्याग गर्ने भएका छन् । सभासद् कुमार राई, डिबी लामा, दुर्गामणि देवान, जुद्ध राईलगायले पार्टी छाड्न लागेका हुन् । देवान संखुवासभाका पूर्वसभापति हुन् भने राई ओलढुंगाका क्षेत्रीय सभापति हुन् । उनीहरू पनि एमाले असन्तुष्ट नेताहरूले बनाउन लागेको नयाँ पार्टी निर्माणमा सहभागी छन् । उनले कांग्रेसले उत्पीडितको मुद्दालाई स्थापित गर्न नमानेकाले पार्टी छाड्न लागेको बताए ।
‘नेपाली कांग्रेसजस्तो आफूलाई ठूलो प्रजातान्त्रिक शक्ति मान्ने पार्टीले संविधानसभालाई प्रक्रियामा लानै मानेन’ पार्टी परित्याग गर्ने घोषणा गरेका पूर्वसभासद् कुमार राईले सौर्यसँग भने, ‘उत्पीडितहरूको अधिकारलाई बेवास्ता गरिएपछि कांग्रेसमा बसिरहनुको औचित्य सकियो ।’ विवादित प्रक्रियालाई भोटिङ प्रक्रियामा नलैजानुमा नेपाली कांग्रेस मुख्य दोषी रहेको उनको आरोप थियो । यस्तै सोलुखुम्बुका पूर्वसभापति पदमबहादुर राईसहित आधा दर्जन जनजाति नेताले तत्काल पार्टी परित्यागको घोषणा गर्ने उनले जानकारी दिए ।
मुद्दा मिल्नेहरूसँग सहकार्य गर्दै जाने भन्दै राईले बलियो र वैकल्पिक मोर्चा निर्माणका लागि कुरा मिलेमा एमालेबाट असन्तुष्ट बनेकाहरू अशोक राईसहितको मोर्चामा जाने पनि उनले बताए । (सौस)

प्रतिक्रिया