इनारमा हालेर दुई छोराको हत्या

वीरगन्ज, १६ असोज । पतिको यातना र कचकचबाट आजित एक महिलाले आफ्ना दुई छोरासहित सामूहिक आत्महत्याको प्रयास गरेकी छन् ।

ती महिलाले सामूहिक आत्महत्याको प्रयास गरे पनि उनी बाँच्न सफल भएकी छन् । घटनामा दुई छोराको ज्यान गएको छ । बारा भथौडा–८ बैराठपुरका सिकेन्द्र पटेलकी पत्नी आशाले आफ्ना दुई नाबालक छोरासहित आत्महत्याको प्रयास गरेकी हुन् ।
मृत्यु हुनेमा ६ वर्षीय गोलु पटेल र चारवर्षीय नवीन पटेल छन् । सोमबार बिहान १० बजे आशाले घरनजिकैको सार्वजनिक इनारमा दुवै छोरासहित हामफालेकी थिइन् । इनारमा आशा छोरासहित फाल हालेको देखेपछि स्थानीयले इनारबाट तीन जनाको उद्धार गरे पनि आमा अचेत अवस्थामा र दुवै बालक मृत भेटिएका थिए ।
करिब ३५ फिट गहिरो इनारमा आशाले पहिले दुवै छोरालाई धकेलेपछि आफूले फाल हालेकी थिइन् । अचेत अवस्थामा रहेकी आशालाई गाउँमै उपचार गराएपछि उनी होसमा आएकी थिइन् । आशालाई प्रहरीले हिरासतमा लिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । प्रहरीसँगको बयानमा आशाले लोग्नेको यातना र कचकच सहन नसकेर दुवै छोरासहित सामूहिक आत्महत्याको प्रयास गरेको बताएकी छन् ।
आशाका अनुसार, पति सिकेन्द्रले जाँड खाएर राति अबेर घर आउने र आफूलाई कुटपिट गर्ने गरेका थिए । सिकेन्द्रले दुवै छोरालाई पनि नसाको सुरमा कुटपिट गरेको आशाले बताइन् । ‘सधँै रक्सी खाएर राति अबेर घर आउँछ,’ उनले भनिन्, ‘नसाको तालमा गालीगलौज र कुटपिट गरेर बच्चाहरूलाई पनि घाइते बनाउँछ ।’
‘सहन नसकेर छोरासँगै मर्ने निर्णय गरेकी हुँ,’ आशाले भनिन् । आइतबार राति पनि जाँड खाएर सिकेन्द्रले कुटपिट गरेका थिए । सोमबार बिहान पनि बिनासित्ति गालीगलौज गरेर कुटेर सिकेन्द्र आफ्नो काममा गएको आशाले बताइन् । सिकेन्द्र बाराको नितनपुरस्थित हनुमान मेटल उद्योगमा विगत पाँच वर्षदेखि मजदुरका रूपमा कार्यरत छन् ।
घटनापछि सिकेन्द्र फरार रहेको इन्स्पेक्टर रामनाथ घिमिरेले बताए । मृतक दुवै बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको छ । आशा प्रहरी हिरासतमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर घिमिरेले बताए ।

प्रतिक्रिया