औषधिमा ब्याक्टेरिया बेचिरहेका छन् भारतीय कम्पनी

काठमाडौं, १५ असोज । बहुराष्ट्रिय भारतीय कम्पनीहरू डाबर इन्डिया र श्री वैद्यनाथ आयुर्वेद भवन प्रालिले औषधिमा मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने ब्याक्टेरियासमेत बिक्री गरिरहेको पाइएको छ । डाबर र वैद्यनाथले उत्पादन गरेका बिरामीले प्रयोग गर्ने आयुर्वेदिक औषधिमा हानिकारक ब्याक्टेरिया फेला परेपछि सरकारले दुवै कम्पनीका औषधिको आयातमा रोक लगाएको छ ।

औषधि व्यवस्था विभागले गरेको अनुगमनका क्रममा डाबर र वैद्यनाथका १० थरीका आयुर्वेदिक औषधिमा मानव स्वास्थ्यलाई असर गर्ने ब्याक्टेरिया फेला परेको हो । रोग निको पार्ने औषधिमै ब्याक्टेरिया फेला परेपछि ती औषधिको आयातमा रोक लगाइएको औषधि व्यवस्था विभागका फार्मेसी निरीक्षक श्याम अधिकारीले बताए ।
डाबरका सात र वैद्यनाथका तीन किसिमका आयुर्वेदिक चूर्णमूलक औषधिमा ब्याक्टेरिया फेला परेपछि औषधि व्यवस्था विभागले सम्बन्धित ब्याचका ती उत्पादन बजारबाट फिर्ता उठाउनसमेत कम्पनीलाई निर्देशन दिएको छ । ती कम्पनीका नेपालमा रहेका कार्यालयमा पत्र पठाएर ब्याक्टेरिया फेला परेका ब्याचका सम्पूर्ण चूर्ण फिर्ता गर्न र फेला परेका औषधि नेपाल आयात नगर्न पत्र पठाएको हो ।
विभागले समस्या देखिएका औषधिको आयातमा रोक लगाए पनि बजारमा बिक्री भइरहेका ब्याक्टेरिया भएका औषधि भने कम्पनीले फिर्ता गरेको बारेमा अझै विभागमा जानकारी दिएको छैन । विभागले पत्र पठाएपछि अनिवार्य रूपमा उत्पादकले ती ब्याचका उत्पादक फिर्ता गरिएको परिणामबारे जानकारी गराउनुपर्ने नियम छ ।
विभागका अनुसार डाबरको एएल ०९२ ब्याचको त्रिफला चूर्ण, एएल ०७३३ नम्बर ब्याचको लवणभाष्कर चूर्ण, एएल ०००४ नम्बर ब्याचको अभिपत्तिकर चूर्ण, एएल ००२७ नाम्बर ब्याचको सतवरयादि चूर्ण, एएल ००४ नम्बर ब्याचको अश्वगन्धा चूर्ण, एएल ००६६ नम्बरको पञ्चसकर चूर्ण र एएल ००३१ नम्बरको तल्लिसदि चूर्णमा ब्याक्टेरिया फेला परेको हो । त्यस्तै, वैद्यनाथको ब्याच नम्बर ४ को प्युशानुग चूर्ण, ब्याच नम्बर ३ को महासुदर्शन चूर्ण र ब्याच नम्बर ६ को चोपचिन्यादि चूर्णमा ब्याक्टेरिया फेला परेको छ ।
चिकित्सकका अनुसार प्युसानुग चूर्ण महिलाको तल्लो पेट दुख्दा, अभिपत्तिकर चूर्ण ग्यास्ट्रिक र लावनभास्कर पाचनको उपचारका लागि प्रयोग गरिन्छ । त्यसैगरी, चोपचिनियादी चूर्ण छालासम्बन्धी एलर्जी, अश्वोगन्धा चूर्ण निद्राका लागि र तनाव कम तथा शीतोपलादी चूर्ण खोकीको उपचारमा प्रयोग गरिन्छ ।
ग्यास्ट्रिक, महिलाको तल्लो पेट दुख्दा खाने औषधि, पाचन प्रणालीको, छालासम्बन्धी एलर्जीको, निद्राको, तनाव कम गर्ने, खोकीको, खाना पचाउने तथा मिर्गाैलालगायत रोग उपचारमा प्रयोग गरिने औषधि मापदण्डविपरीत निम्नगुणस्तरको र मिसावटयुक्त पाएपछि औषधि व्यवस्था विभागले ती औषधि फिर्ता गरी तत्काल नष्ट गर्न औषधि उत्पादन कम्पनीलाई पत्र पठाएको छ । ‘आयुर्वेदिक ती औषधिले बिरामीको रोग निको हुने भन्दा पनि थप इन्फेक्सन हुने देखियो,’ औषधि निरीक्षक अधिकारीले भने, ‘त्यसैले हामीले ती ब्याचका सबै औषधि फिर्ता गर्न निर्देशन दिएका हौा ।’ उनका अनुसार ती औषधि फिर्ता नगरिए ती उत्पादकको नेपालमा दर्ता लाइसेन्स नै खारेज हुनेछ ।
औषधिको गुणस्तर कस्तो छ भनेर विभागको ल्याबमा गरिएको परीक्षणका क्रममा ती औषधिमा मानव स्वास्थ्यलाई हानि गर्ने विभिन्न थरीका ब्याक्टेरिया फेला परेको विभागले जनाएको छ । निरीक्षण अधिकारीका अनुसार केही समयपछि विभागले पुन: बजार अनुगमन गर्नेछ । ‘हामी बजारमा फेरि अनुगमन गर्छौं, यदि फिर्ता लगिएको रहेनछ भने हामी कारबाही प्रक्रिया अघि बढाउाछौा,’ उनले भने ।
डाबर इन्डियाको आयुर्वेदिक औषधिको नेपालमा तीनकुनेस्थित लुना ट्रेनिङ कम्पनीले डिलरको अनुमति लिएको छ भने वैद्यनाथको रौतहटको गौरमा रहेका राजेश मेडिसिन प्रालिले लिएको छ । विभागले ती दुवै कार्यालयमा पत्र पठाइसकेकाले केही समयपछि पुन: बजार अनुगमन गर्ने भएको छ ।

प्रतिक्रिया