सेयर पुँजी ४५ करोड पुर्‍यायौँ

यस संस्थाका बारेमा बताइदिनुस् न ? 
सामुदायिक बचत तथा ऋण सहकारी संस्था २०५१ साल माघ १४ गते स्थापना भएको हो । यो संस्था स्थापनाको समयमा ४१ जना सेयर सदस्यबाट सुरु गरेका हौँ, जुन समयमा ३२ हजार पाँच सय सेयर रकम थियो । हाल आठ हजार सेयर सदस्य विस्तार भइसकेका छन् भने सेयर रकम करिब ४५ करोड रहेको छ ।
सहकारी स्थापना गर्ने सोच कसरी आयो ?
हामीले यो संस्था स्थापना गर्ने समयमा गाउँघरमा थोरैथोरै रकम पनि चर्को ब्याजमा लिने/दिने चलन थियो । बैंक तथा वित्तीय संस्थामा साधारण नेपालीको पहुँच थिएन । यस क्षेत्रमा एउटा बैंकको उपशाखा थियो । त्यसमा धनी वर्गको मात्र पहुँच थियो । सहकारीको बारेमा केही थाहा थिएन । गरिब वर्गका लागि सहकारी राम्रो भन्ने थाहा पाएका थियौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले २०५१ धुलिखेलमा एउटा सहकारी सम्बन्धी तालिम सञ्चालन गरेको थियो । सो तालिममा सहभागी भएलगत्तै डिभिजन सहकारी कार्यालय धुलिखेलमा यो संस्था विधिगत रूपमा दर्ता गरी सञ्चालनमा ल्याएका हौँ ।
सामुदायिक बचत तथा ऋण सहकारीले एसियाली स्तरको अवार्डसमेत प्राप्त गरेको छ, यसबारेमा केही बताइदिनुस् न ?
एसियाली ऋण महासंघको एसिस ब्रान्डको पहिलो चरणको ‘ब्रोन्च’ अवार्ड प्राप्त गरेको मात्र हो । हाम्रो सँगै
चारवटा सहकारी यो अवार्ड प्राप्त गर्न सफल भएका थिए । सहकारीले एसियाली ऋण महासंघको सूचकांकमा उत्तीर्ण हुँदै गएपछि तेस्रो सिल्भर, दोस्रो गोल्ड र सबैभन्दा उत्कृष्ट प्लेटेनियम अवार्ड प्राप्त गर्छ । यसका लागि हामी प्रयासरत रहने नै छौँ । संस्थाले ६०–७० अंक ल्याई यो तहको पुरस्कार प्राप्त गरेका हो । सिल्भर तहका लागि ७२–८०, गोल्डेन तहका लागि ८१–९० र प्लेटेनियमका लागि त्योभन्दा माथिको अंक प्राप्त गर्नुपर्ने हुन्छ । मैले यसलाई गर्भको रूपमा लिएको छ । अझ तेस्रो सिल्भर, दोस्रो गोल्ड र सबैभन्दा उत्कृष्ट प्लेटेनियम अवार्ड प्राप्त गर्न प्रतिस्पर्धा गर्न बाँकी छ यसलाई चुनौतीका रूपमा लिएको छु ।
सहकारी क्षेत्रलाई कसरी हेर्नुभएको छ ?
नेपालमा २०४६ सालको प्रजातन्त्रपछि विकास भएको क्षेत्र भनेको सहकारी हो जस्तो लाग्छ । यसलाई सकारात्मक तथा नकारात्मक दुबै तरिकाले हेर्ने गरेको पाइन्छ । हाल सहकारी संख्यात्मक तथा गुणात्मक दुवै तरिकाले विकास भएका छन् । यसलाई सही ढंगबाट समग्र जनतामा पुर्‍याउनु आवश्यक छ । हाल सहकारीको संख्यात्मक रूपमा वृद्धि भइरहेको छ यसले के देखाउँछ भने मानिसहरूमा सहकारीप्रतिको आकर्षण बढेको सहजै अनुमान नगाउन सकिन्छ । सहकारीमा व्यवस्थापनको खाँचो छ । बिस्तारै बिस्तारै सहकारीलाई मर्जर अभियानमा लानुपर्छ । हामी पनि मर्जरमा जाँदै छौंँ । ३/४ वटा सहकारीलाई समेटेर मर्ज गरी एउटै बनाउनेछौँ ।
सहकारी मर्जर भएमा सदस्यले के सेवा पाउाछन् त ?
सहकारीको समस्या भनेको एउटै मानिस धेरै सहकारीमा सदस्यता हुनु हो । सहरका मानिस १० वटा सम्म सहकारीमा सदस्य बनी कारोबार गरी रहेको छ । संस्था मर्जर भए पनि यो क्रम नियन्त्रण हुन्छ जस्तो लाग्छ । संस्था मर्ज भए पछि पुँजीगत संरचना बलियो हुन्छ । व्यवस्थापन राम्रो, कम खर्च, नयाँनयाँ प्रविधि ल्याउन सकिन्छ । खर्च कम भएपछि नाफा बढी हुने भएकाले सदस्यहरू बढी लाभान्वित हुन्छन् । जसले गर्दा सदस्यहरूले सहज रूपमा सेवा पाउन सकिन्छ । सहकारी मर्ज गरी कम संख्यामा ल्याउन सक्यो सरकारले पनि यसलाई सेवा दिन सजिलो हुन्छ ।
सहकारी अनुगमन कत्तिको आवश्यक छ ?
सहकारी अनुगमन अहिलेको प्रमुख आवश्यकता हो । सघन रूपमा अनुगमन गर्नुपर्छ । अनुगमन नहुँदा सहकारीमा समस्या आएका छन् । सहकारी सञ्चालन जसरी गरे पनि हुन्छ भन्ने मान्यतालाई नियन्त्रण गर्नुपर्छ । सहकारीलाई कमाइ खाने भाँडो लिने गरेका छन्, यसलाई नियन्त्रण गर्नुपर्छ । सहकारी विभागले अनुगमन गर्न नसके विभिन्न विषयगत संघहलाई जिम्मा लगाउनुपर्छ ।
सहकारी मापदण्डअनुसार सहकारी सञ्चालन भएका छन् त ?
सहकारी विभागले जारी गरेको मापदण्ड कतिपय सहकारीले कार्यान्वयन गरेका छन् त केहीले गरेको पाइँदैन । यसको कार्यान्वयन गरिनुपर्छ भन्ने मेरो मान्यता हो । जसका लागि उपयुक्त माध्यम भनेको अनुगमन हो । अनुगमनमा मापदण्ड कार्यान्वयन भए/नभएको सहजै पत्ता लगाउन सकिन्छ । यसलाई पारदर्शी रूपमा सघन अनुगमन गर्न र मापदण्ड कार्यान्वयन गर्न आवश्यक छ । सहकारी विभागको अनुगमनका लागि दक्ष जनशक्ति हुनु जरुरी छ । यो मापदण्डमा केही कुरा हटाउनुपर्ने बुँदा छन् । सहकारीलाई लगाउनु नहुने कुरा हटिनुपर्छ ।
गरिबी निवारणमा सहकारीको भूमिका छ ?
सहकारीकै माध्यमबाट गरिबी निवारण भएको मैले महसुस गरेको छु । यसलाई कसैले मापन गरेको त छैन होला । जे भए पनि गरिबी निवारण भएकै छ । गाउँघरमा चर्को ब्याज लिने क्रम बन्दजस्तै भइसकेका छन् । यस्तो हुनुमा सहकारीको महत्त्वपूर्ण रहेको छ भन्ने लाग्छ । सहकारीले आर्थिक तथा सामाजिक रूपमा ग्रामीण जनतामा परिवर्तन गरेको छ । गरिबी निवारण गर्न सहकारीजस्तो व्यवसाय अरू कुनै छैन ।
संस्थाका भावी कार्यक्रम के छन् ?
संस्थाको भावी कार्यक्रम भनेको मर्जर हो । मर्ज गरी संस्थालाई बलियो बनाउनेमा हामी लागिपरेका छौँ । संस्थाका सदस्यलाई समूहीकरण गर्नेतर्फ पनि लागेका छौँ । सदस्यलाई व्यवसायमा लगाउने समूहीकरण गरी सञ्चालन गर्दा प्रभावकारी हुने देखिएको छ । संस्थाले सदस्यलाई विभिन्न खालका तालिम दिई व्यवसायतर्फ आकर्षित गराउने हाम्रो भावी कार्यक्रम हो । साथै, स्वच्छ रूपमा सहकारीको मूल्य, मान्यता र सिद्धान्तअनुरूप सञ्चालन गर्नुपर्छ । सरकारले यसलाई छाडा रूपमा छाडेको छ । यसलाई नियमन गर्नु आवश्यक छ । नीतिनियमलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार लाग्नुपर्छ । सहकारीलाई वित्तीय अनुशासनमा बसेर सञ्चालन गर्नुपर्छ । सबै सहकारीकर्मीले यसलाई व्यवसायका रूपमा लैजानुपर्छ ।

प्रस्तुति : काजी श्रेष्ठ

प्रतिक्रिया