लागुऔषध मुद्दाका बन्दी बढे

वीरगन्ज : वीरगन्ज कारागारमा रहेका कैदीबन्दीमध्ये सबैभन्दा बढी लागुऔषध मुद्दाका रहेका छन् । महिला तथा पुरुष दुवैखाले कैदीबन्दीमा लागुऔषध मुद्दाका सबैभन्दा बढी छन् ।
वीरगन्ज कारागारका अनुसार, लागुऔषध मुद्दाका सात सयभन्दा बढी कैदीबन्दी कारागारमा रहेका छन् । ७ सय ५० कैदीबन्दी राख्ने क्षमता भएको वीरगन्ज कारागारमा हाल १ हजार ३ सयभन्दा बढी कैदीबन्दी रहेको जनाइएको छ । तीमध्ये ६ जना बालबालिका रहेका छन् । भवन अभावका कारण कारागारमा रहेका अधिकांश महिला कैदी अहिले पनि खुला आकाशमुनि सुत्न बाध्य भएको महिलातर्फकी चौकीदार राधा दाहालले बताइन् । उनले भनिन्, ‘कारागार अहिले पनि महिलामैत्री हुन सकेको छैन । कारागारमा ७४ जना महिला कैदीबन्दी रहेका छन् ।’ तीमध्ये लागुऔषध मुद्दाका करिब ५० कैदी छन् । यसैगरी पुरुषतर्फ लागुऔषध मुद्दाका झन्डै ६ सय ५० कैदीबन्दी रहेको वीरगन्ज कारागारले जनाएको छ । लागुऔषधको मुद्दामा रहेका कैदीबन्दीमध्ये अधिकांश लागुऔषध ढुवानी गर्ने कारोबारीका छन् । (सौस)

प्रतिक्रिया