‘रेडियो देखेर छक्कै पर्थें’

मेरो जन्म वि.सं. २००६ माघ ८ गते भारतको विहारस्थित मधुवनीमा भएको हो । एक बहिनी र चार भाइमध्ये जेठो हुँ । बुबा सरकारी सेवामा हुनुहुन्थ्यो ।
मास्टरले पाटीमा खरीले कखरा लेख्न र चिन्न सिकाउनुभयो । घरमै विभिन्न मास्टरसँग पढेर ४ कक्षामा धरानमा भर्ना भएँ । ५ कक्षामा सरस्वती मावि जनकपुरमा पढेँ । ५ कक्षाबाट भ्यागुताझैँ बुरुक्क उफ्रेर एकैचोटि ७ मा विहारको तमुरिय मिडिल स्कुलमा पढेँ । ८ कक्षा विहारकै भोला उच्चंगल विद्यालयमा पढेँ । स्कुले जीवनमा म मेधावी विद्यार्थी थिएँ । मलाई नआउने विषय कुनै थिएन, तैपनि साइन्स र गणितमा भने भित्रैबाट अरुचि पैदा हुन्थ्यो । अंग्रेजीमा त म फुच्चे उस्ताद नै थिएँ । स्कुल पढ्न जाँदा मेरो पहिरनको कैरन यस्तो हुन्थ्यो– खाली खुट्टामा तल कट्टु अनि माथि सर्ट । कहिले पाइजामा–कुर्ता र हवाइचप्पल अनि कहिले भने कपडाको झोलामा टन्न किताबकापी बोकी करिब २ कि.मी. टाढाको स्कुलमा १० इन्चको टुप्पी हल्लाउँदै धोतीकुर्ता लगाएर पढ्न जान्थेँ ।
कान्छो भाइ अलि उपद्रो गथ्र्यो, पढाइमा त्यति ध्यान नदिने । मैले उसलाई प्रश्न सोध्न थालेपछि उसले बडो अचम्मको उत्तर यसरी पो दियो ।
– देवकोटाको निधन कहिले भयो ?
– देवकोटाको निधन कहिले भयो ।
– नेपालको राजा को हुन् ?
– नेपालको राजा को हुन् ।
– भानुभक्तले के लेखे ?
– भानुभक्तले के लेखे ।
– बुद्ध को थिए ?
– बुद्ध को थिए ।
म जे सोध्छु, रिट्ठो नबिराई त्यही बोलेको चाला देखेर भाइको गाला चड्काइदिऊँ जस्तो लाग्यो । मैले हान्नलाई लट््ठी उठाएको मात्र के थिएँ, भाई त्यहाँबाट भाग्यो । मेरा अगाडि सरौँतो (सुपारी काट्ने साधन) रहेछ । मैले पनि लखेट्दै मच्चाएर भाइतिर सराँैतो फालेँ । भाइको गोलीगाँठो भन्दा अलि माथि कस्सेर लाग्यो । ऊ ‘अइया बाबा । मरिगेली बापरे ।’ भन्दै भुइँमा थचक्क बस्यो । उसको खुट्टा रगताम्मे भयो । सबैले बोकेर उसलाई अस्पताल लिएर गए । उसको नसा छिन्नै लागेको कुरा डाक्टरले बताए । धन्य, नसा नछिनेकाले ठूलै दशाबाट जोगिएँ । त्यसो गरेकोमा मलाई कुट्न त कसैले कुटेन, तर निकै गाली खाएँ । त्यसपछि मैले लाटो र बाठो दुवै रिसलाई आÏनो जीवनबाट सदाका लागि विषझैँ धपाइदिएँ ।
सानोमा म दुब्लो, पातलो, छरितो, गम्भीर, अनुशासित र झूट नबोल्ने बच्चा थिएँ । उमेरले कच्चा भए पनि कसैले झूटो दोष लगाएमा वा झूटो बोलेमा मसँग ५–७ वटा रंगीचंगी लट्ठी थिए, तिनैले साथीसंगीलाई ठटाइहाल्थेँ । स्कुले जीवनमा म प्राय: हरेक कार्यक्रममा भाग लिन्थेँ । नाटक, कविता, सांस्कृतिक कार्यक्रम, खेलकुद सबैमा सहभागी हुन्थेँ । त्यति बेला म तगडा बालगायक थिएँ । गायनमा ठूलाठूलाको पनि पसिना कढाइदिन्थेँ । ५ मा पढ्दा पूर्वप्रधानन्यायाधीश केदारनाथ गिरी मेरा सहपाठी थिए । उनी मलाई “यो गीत हैन, यो गीत गा” भनेर फर्माइस गर्थे । कहिलेकाहीँ गीतको सुरमा खुरुखुरु गाउँदै उनको घरसम्म पुग्थेँ र पछि लुरुलुरु एक्लै गीत गाउँदै घर फर्कन्थेँ ।
मलगायत मेरा बालसखालाई गाउँले काकाले भूतको कुरा भन्नुहुन्थ्यो, ‘लखनको बगानमा भएको मचानबाट अनुहार–सनुहार केही नदेखिने भूत बेलाबेलामा नाके स्वरमा कराउने र बर्बराउने गर्छ । त्यो बाटो हिँड्दा तिमी बौआहरू कौवाझैँ चनाखो भएर हिँड्नु, नत्र तर्साउला †’ एक दिन खेलेर आउँदा अलि अबेला भई झमक्क साँझ परेछ । हामी बगाननिर पुगेका के थियौँ, साँच्ची नै मुहारसुहार केही नभएको भूत नाके स्वरमा करायो– ‘जगले रहे जिह हौ (ब्युँझेर बस है †’ मलाई त खासै डर लागेन, तर साथीहरू डराएर ‘शैलेन्द्र चाँडै हनुमान् चालीसा पाठ गर्’ भन्न थाले । न्वारानदेखिको बल झिक्दै जोडले पाठ गर्न सुरु गरेँ–
‘जय हनुमान ज्ञानगुन सागर,
जय कपिस तिहुँ लोक उजागर ।’
पाठ गर्दै जब म यी पंक्तिमा आइपुगेँ, फुच्चेहरूको अनुहार धपक्क बल्यो, ‘भूत पिचास निकट नहीँ आवै, महावीर जब नाम सुनावै ।” उनीहरू अब साँच्चै भूत आउँदैन भनेर ढुक्क भए । तर, अचम्म के भने मचानबाट तल ओर्लेर भूत हामीतिर आउँदै टर्च बालेर मैथिलीमा कराउन थाल्यो, ‘बच्चा सब, कथिला हल्ला करे छे, जोजो †’ नजिक आएपछि हामीले चाल पायौँ, ती त लखनको बगान कुरुवा माखन दाइ पो रहेछन् । बालवयको त्यो घटना सम्झिँदा अझै पनि एक्लैमा हाँसोको छर्रा र पर्रा चल्न थाल्छ ।
सानोमा हामी विभिन्न खेल खेल्थ्यौँ । लङ्जम्प, हाइजम्प आदि । आफूभन्दा चार हात लामघारे बाँस लिएर एक सासमा पोल जम्प गथ्र्यौ । खोखो र डन्डिबियो त हाम्रो प्रिय खेल थियो । चड्डी लगाएर कबड्डी पनि खुबै खेल्थ्यौँ । भलिबलमा स्म्यास हाल्नलाई म बडो राम्रो पास दिन्थेँ । साथीहरू यो नेटनिर कतिखेर पुगेर पास देला भनेर आश गरेर बस्थे । स्कुल जाँदा–आउँदा हरहरे साँप सधैँ भेट हुन्थ्यो । साँपको पुच्छर समातेर हावामा घुमाएर फाल्दै साथीभाइलाई धेरै पटक चटक पनि देखाएको छु । सानो बेलामा साथीहरू भेला भएर मेला हेर्न जाँदा बाइस्कोप पनि हेर्ने मौका पाएँ । त्यो हेरेर मेरो कलिलो दिमाग छक्क पथ्र्यो, सानो काठको बाकसमा त्यत्रा ठूला मानिस र सहर, मोटरगाडी कसरी दौडिन्छन् भनेर । रेडियो सुन्दा त झन् छक्क पर्थें । कहिले यो दिल्ली स्टेसन हो भन्थ्यो, कहिले आकाशवाणी लखनउ भन्थ्यो । त्यहाँ बोलेको कुरा जनकपुरमा त्यति चाँडो कसरी आइरहेछ र रेडियो भन्ने भाँडोमा बोलिरहेछ भनेर सारै छक्क पर्थें ।
विषयबाहेकका पुस्तकमा मलाई सानैदेखि सोख थियो । म ८ कक्षामा पढ्दा हरेक आइतबार एकजना विक्रेता साइकलमा पुस्तक बेच्दै हिँड्थे । म पकेट खर्च जोगाएर हरेक हप्ता पुस्तक किन्थेँ र पढेर साथीहरूलाई पनि पुस्तक पढ्न दिन्थेँ । त्यस बेलादेखि पुस्तक भेला गर्न लागेको बानी अहिले पनि छँदै छ । भाइबहिनी हो, मेरो निजी पुस्तकालयमा २० हजारभन्दा बढी नै पुस्तक छन् । ४ पैसा मोल पर्नेदेखि लिएर साढे दुई लाख मोल पर्ने पुस्तक पनि छ । तिमीहरूलाई काम लाग्ने पुस्तक पनि मसँग छ, कुनै दिन पढ्न र हेर्न मन लागेमा जयबागेश्वरीस्थित मेरो घरमा आउनू है †
वि.सं २०२२ मा भोला उच्चंगल विद्यालयबाट ११ कक्षा उतीर्ण गरेपछि मेरो स्कुले जीवन सदाका लागि समाप्त भयो ।
प्रस्तुति : अनुक्रमराज

प्रतिक्रिया