कोइरालाले पनि खाए कार्यकर्ताको कुटाइ

काठमाडौं, १४ असोज । कार्यकर्ताको आक्रमणमा पर्ने शीर्ष नेताहरूको सूचीमा कांग्रेस सभापति सुशील कोइरालाको नाम पनि थपिएको छ । काठमाडौंको कपनमा शनिबार भएको पार्टी कार्यक्रममा कोइरालालाई उनकै जिम्मेवार कार्यकर्ताले कांग्रेसका संस्थापक नेता बिपीको फोटो राख्न बनाइएको काठको फ्रेमले हिर्काए ।

यसअघि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालले आफ्नै कार्यकर्ताबाट कुटाइ खाइसकेका छन् । गत साउनको पहिलो साता काठमाडौंमा भएको विस्तारित बैठकमा एमाओवादी अध्यक्ष दाहाललाई कार्यकर्ताले कुर्सीले हिर्काएका थिए भने सुनसरीको एक कार्यक्रममा एमाले अध्यक्ष खनाललाई उनकै कार्यकर्ताले झापड हानेका थिए । कांग्रेस काठमाडौं क्षेत्र नम्बर–४ को अधिवेशन उद्घाटन गर्न कपन पुगेका सभापति कोइरालालाई भ्रातृसंस्था नेपाल विद्यार्थी संघका क्षेत्रीय सभापति प्रवेश बस्नेतले हिर्काएका हुन् । मञ्चमा क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठले सभापति कोइरालालाई पस्मिनाको खादा ओढाएर सम्मान गर्दै गर्दा प्रवेशले आफूलाई आसन ग्रहण नगराएको भन्दै फोटोको फ्रेमले हिर्काए ।
सभापति कोइरालालाई हिर्काएको फोटो फ्रेम छेक्न खोज्दा कांग्रेस क्षेत्र नम्बर–४ का सचिवद्वय श्याम संगत र नर्मदा पोखरेल घाइते भएका छन् । उनीहरूको ओम अस्पतालमा उपचार गरिएको छ । श्यामको टाउकोमा १४ टाँका लगाइएका छन् । पोखरेलको टाउकोमा पनि तीनवटा टाँका लगाइएको छ । कार्यक्रम सञ्चालन गरिरहेका श्यामलाई प्रवेशले सुरुमै हिर्काएका थिए ।
सभापति कोइरालाको पनि हातको दाहिने पातोमा फोटोको फ्रेमले लागेको छ । उनलाई सामान्य चोट लागेको प्रत्यक्षदर्शीले जनाएका छन् । कांग्रेसका अन्य नेताहरूले नछेकेको भए कोइराला मरणासन्न हुनेगरी कुटिने प्रत्यक्षदर्शीले जनाएका छन् । नेताहरूमाथि अन्धाधुन्ध आक्रमण गर्न थालेपछि मञ्चमै रहेका केन्द्रीय सदस्य गगन थापाले प्रवेशलाई समातेका थिए ।
‘क्षेत्रीय सभापतिले केन्द्रीय सभापतिलाई पस्मिनाको खादा ओढाएर सम्मान गर्दै गर्दा मञ्चमै पुगेर आक्रमण गरे,’ प्रत्यक्षदर्शी ओम संगतले सौर्यसँग भने । उनकाअनुसार प्रवेशले बिपी कोइरालाको स्केच तस्बिर हाल्न बनाइएको काठको दुई फिट लामो फ्रेमले नेताहरूलाई आक्रमण गरेका हुन् । सुरुमै कार्यक्रम सञ्चालक श्यामलाई हिर्काएपछि उनी सभापतिमाथि आक्रमण गर्न गएका थिए ।
‘केन्द्रीय सभापतिलाई सम्मान गर्न आग्रह गर्दैगर्दा एक्कासि दुईपटक टाउकोमा आक्रमण भयो, टाउकोमा १४ टाँका लगाउनुपरेको छ,’ ओम अस्पतालमा उपचार गरिरहेका श्याम संगतले सौर्यसँग भने । प्रवेश आफ्नै छिमेकी भएको र अघिपछि ‘दाइ जय नेपाल’ भनेर राम्रोसित बोल्ने गरेको उनले बताए । ‘आज के भयो किन आक्रमण गर्‍यो, अचम्म लाग्या छ,’ उनले भने । घाइते श्याम र प्रवेश दुवैको घर कालोपुलनजिकै छ ।
अर्का प्रत्यक्षदर्शी शिव अधिकारीका अनुसार प्रवेशले ‘मभन्दा कनिष्ठलाई आशन ग्रहण गराएको तर आफूलाई नगराएर अपमान गरेको’ गुनासो त्यसअघि नै गर्दै थिए । त्यही झोँकमा उनले नेताहरूमाथि आक्रमण गरेको उनले बताए । ‘मलाई अपमानित गरियो, तिमीहरू भिडियो खिच म मञ्चमा गएर वितन्डा मच्चाउँछु भन्दै आक्रमण गर्न गयो,’ अधिकारीले बताए ।
सभापति कोइरालामाथि आक्रमण गरेलगत्तै प्रवेशलाई कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । कार्यकर्ताले कुटपिट गर्न थालेपछि कोइरालाले प्रहरीको जिम्मा लगाउन निर्देशन दिएका थिए । उनकै निर्देशनमा बस्नेतलाई प्रहरीको जिम्मा लगाइयो ।
कांग्रेस कार्यकर्ताको कुटाइबाट प्रवेशको टाउकोमा चोट लागेको छ । उनको प्रहरीको निगरानीमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी जयबहादुर चन्दका अनुसार सुरुमा उनलाई बौद्धस्थित कम्युनिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । टाउकोमा लागेको चोटका कारण सिटीस्क्यान गर्न उनलाई मेडिकल कलेज लगिएको चन्दले बताए ।
कार्यक्रमको सुरुआतमै पार्टी सभापतिमाथि नै आक्रमण भएपछि कार्यक्रम केही समय रोकिएको थियो । घाइतेलाई अस्पताल लगिएपछि पनि कार्यक्रम स्थलमा हो–हल्ला भइरह्यो । युवानेता गगन थापाले कार्यकर्तालाई संयमित हुन आग्रह गरेपछि पुन: कार्यक्रम सुचारु भयो । कार्यक्रममा कांग्रेस महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, कोषाध्यक्ष चित्रलेखा यादवको पनि उपस्थिति थियो ।
यसैबीच, घटनाबारे छानबिन गर्न कांग्रेस क्षेत्र नम्बर–४ ले क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ । क्षेत्रीय सम्मेलनले सभापतिमाथि भएको आक्रमणप्रति भत्र्सना गरेको कांग्रेस युवानेता गगनले बताए ।
को हुन् प्रवेश ?
पञ्चायत कालदेखि नै सक्रिय भई सोलुखुम्बुबाट कांग्रेसको राजनीति गर्ने बस्नेत परिवारका सदस्य हुन् प्रवेश । उनको सिंगो परिवार तथा दाजुभाइ कांग्रेसको राजनीतिमै जोडिएका छन् । प्रवेशलाई जान्नेहरू उनी केन्द्रीय सदस्य सुजाता कोइरालाका विश्वासिला कार्यकर्ता पनि भन्छन् ।
उनका साथीहरू बस्नेत परिवारलाई सोलुखुम्बुमा आदर्श र इमान्दारिताको राजनीति गर्ने परिवार भन्छन् । उनका बुबा प्रेमध्वज सोलुखुम्बुका जिल्लास्तरका नेता हुन् । कांग्रेस नेता तथा पूर्वसभासद् पुरुषोत्तम बस्नेत प्रवेशका ठूलो बाबु हुन् । नेविसंघको राजनीति गर्दै आएका प्रवेश ठूलो बाबु सभासद् हुँदा उनका पिए थिए ।
दुई वर्षअघि उनी काठमाडौं क्षेत्र नम्बर–४ को क्षेत्रीय अध्यक्ष भएका हुन् । ‘हामी विद्यालय तहमा पनि सँगै पढेका हौँ,’ उनका साथी विपेन्द्र कार्कीले भने, ‘पछिल्लो समय कांग्रेसको राजनीतिसँग सन्तुष्ट थिएन तर यत्ति सारो एग्रेसिभ भएर पार्टी सभापतिलाई नै आक्रमण गर्ला भन्ने लागेको थिएन ।’

 

प्रतिक्रिया