कुखुरामा साढे १८ करोड लगानी

हेटौंडा, १४ असोज । मकवानपुरमा कुखुरा व्यवसायमा साढे १८ करोड लगानी भएको व्यवसायीहरूले बताएका छन् । शनिबार हेटौंडामा भएको पहिलो जिल्ला अधिवेशनमा अध्यक्ष पूर्णध्वज खड्काले प्रस्तुत गरेको प्रतिवेदनअनुसार मकवानपुरमा कृषकले पालेको ब्रोइलर र लेयर्स कुखुरामा १८ करोड ४५ लाख रुपियाँ लगानी रहेको छ ।

प्रतिवेदनअनुसार जिल्लामा लेयर्स कुखुरामा ११ करोड २५ लाख र ब्रोइलरमा ७ करोड २० लाख रुपियाँ लगानी रहेको छ । ०६३ मा एक सय ७६ कुखुरापालक किसान रहेको ०६९ सालमा नौ सय ५१ किसान यो पेसामा लागेका छन् । मकवानपुरमा ३२ वटा तयारी कुखुरा तथा अन्डा सप्लायर्स, तीन दाना–चल्ला सप्लासर्य र दुई दाना उत्पादन गर्ने उद्योग छन् भने उत्पादन भएको मासुको ३० प्रतिशत मकवानपुरमै खपत हुने गर्छ ।
नेपाल कुखुराबजार व्यवस्थापक संघका केन्द्रीय अध्यक्ष शंकरप्रसाद कँडेलले उद्घाटन गरेको जिल्ला अधिवेशनले पुन: पूर्णध्वज खड्काको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । भेलाले संघको प्रथम उपाध्यक्षमा उपेन्द्र घले, द्वितीय उपाध्यक्षमा हरिबहादुर खड्का, महासचिवमा सुनिल अधिकारी, सचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा विष्णुप्रसाद अधिकारीलाई निर्वाचित गरेको छ ।

प्रतिक्रिया