एलडिओविरुद्ध दलहरू आन्दोलित

राजविराज, १४ असोज । सप्तरीका एलडिओ कृष्णप्रसाद सापकोटाले आफ्नै प्रतिबद्धता पूरा नगरेको र विकास निर्माणका काममा चासो नदिएको आरोप लगाउँदै एक दर्जन राजनीतिक दल आन्दोलित भएका छन् ।

समाजवादी जनता पार्टी, नेपाली जनता दल, नेपाल मजदुर किसान पार्टी, नेकपा (एकीकृत), नेकपा (माले), संघीय सद्भावना, नेकपा माले (समाजवादी), संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाल लोकतान्त्रिक समाजवादी दललगायतका पार्टी एलडिओविरुद्ध आन्दोलित भएका हुन् ।
शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी एलडिओ सापकोटाले १५ भदौमा आयोजित समीक्षागोष्ठीमा व्यक्त गरेको प्रतिबद्धता पूरा नगरे १६ असोजबाट उनका विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । एलडिओ सापकोटाले १५ भदौमा जिल्लाको विकास निर्माणकार्य अनुगमन गराएर मात्र समीक्षागोष्ठी आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेकामा हालसम्म अनुगमन समितिलाई पूर्णता दिन नसकेकाले बाध्य भई आन्दोलनको तयारी गर्नुपरेको दलहरूले जनाएका छन् ।
यसैगरी एलडिओ सापकोटा लामो समयदेखि कार्यालयमा अनुपस्थित रहने र यदाकदा आइहाले पनि बेलुका आएर बिहानै कार्यालयबाट निस्कने गरेका कारण कार्यालयको दैनिक क्रियाकलाप प्रभावित हुनुका साथै काममा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको उनीहरूले जनाएका छन् । कार्यालयमा नबस्ने र विकासका काममा अनुगमनसमेत नगराउने एलडिओ सापकोटाको व्यवहारले जिविसमा ठूलै आर्थिक अनियमितता भएको पुष्टि हुँदै गएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया