केका लागि राजनीति ?

‘जोगी हुन राजनीति गरेको होइन ।’
हाम्रा नेताले पटक–पटक यसो भनेका सुनेका छौँ । नेता मात्र होइन, अब त तोरीलाउरे टाइपका पुच्छर पनि लाजै नमानी यसो भन्छन्, ‘नेता भएकाले जोगी नै हुनुपर्छ भनेर हामी कसैले पनि भनेका छैनौँ नि र’
यिनीहरूको भनाइमा झल्कन्छ– व्यक्तिगत स्वार्थका लागि पो राजनीति गरिएको हो । सहरमा घरघडेरी जोर्न, सन्तानलाई स्तरीय विद्यालय वा विदेशमा पढाउन, आफन्तलाई जागिर ख्वाउन, ठेक्कापट्टा हत्याउन यस्तै–यस्तै ।
यिनका भनाइमा भल्कन्छ– दुनियाँका छोराछोरीको ठेक्का लिएका छौँ र ? हामीजस्तै नेता बन्नु पर्‍यो । बठयाइँ गर्न सक्नुपर्‍यो । दुनियाँका आँखामा छारो हाल्न जान्नु पर्‍यो । यति भएपछि त जिन्दगी बनिहाल्छ नि र
कम्युनिस्ट राजनीतिले यो उचाइ लिँदाखेरी अहिलेको अवस्था के छ, पक्कै पनि मूल्यांकनको विषय हुन सक्छ । हिजो आफ्नो सिरु नउम्रने पाखो पार्टीका नाममा दिएर खरो क्रान्तिकारीमा दर्ज भएकाहरूको अहिले सहरका महल, गाडी, तीन पुस्तालाई पुग्ने सम्पत्ति जोड्नुलाई के भन्ने ? हिजो निमुखा जनताको घरदैलोमा पुगेर उनीहरूकै रोटीढिँडो बाँडेर खानेहरूले भने– ‘हामी तपाईंहरूकै जीवनस्तर उकास्न हिँडेका हौँ । अबका मालिक भनेकै तपाईंहरू हो । भोकभोकै भने पनि उठ्नुपर्छ अब ।’ हो, यसो भन्नेहरू कोही गौँथलीका गुँडभित्र पसे । कति जनताकै हितका लागि (सायद सबैलाई अटाउन खोजेर होला) झन् बडेमाको महल किन्न लागि परे । पन्ध्र दिन नुहाउन नपाउनेहरू विदेशी पफ्र्युमका सोखिन भए । पैदलै भारत–चीन छिचोल्नेलाई सुविधासम्पन्न गाडी चाहिने भयो ।
चुहिने छानो वा खुला चौरमा पढ्ने गरिब जनताका छोराछोरीको प्रतिनिधित्व गर्दै यिनीहरू आफ्ना सन्तानलाई निजी र स्तरीय स्कुुलमा पढाइरहेछन् । यो तिनै निमुखा जनताको हितमै गरिएको होला । एक छाक खान विदेशीको गुलामी गर्नुपर्ने सर्वसाधारणको प्रतिनिधित्वस्वरूप नै यिनीहरू पाँचतारे होटलमा ज्युनार गरिरहेछन् । धर्तीलाई बिछ्यौना बनाएर आकाश ओढ्नेहरू सबैको हितकै लागि महलमा सयल गरिरहेछन् । सायद हामीले बुझ्ने यही होला । यिनकै सुखसुविधालाई टुलुटुलु हेरेर चित्त बुझाउनु नै हाम्रो नियति होला, हगि ?
थाहा भयो– यिनीहरूले जोगी हुन राजनीति गरेका होइनन् । यी त सबका सब खरा क्रान्तिकारी । अभावलाई हतियार बनाउन सफल भए । गरिबीलाई ढाल बनाउन सके । भोकलाई ऊर्जामा परिणत गर्न पनि यिनै सफल भए । बग्यो रगतको खोला । मानव लासको पहाड बन्यो । त्यही लासैलासको चाङले भेटियो सत्ता । मिल्यो शक्ति । शान मिल्यो, मान मिल्यो । पद, प्रतिष्ठा, पैसा मिल्नुपर्ने सबै मिल्यो । अनि किन चाहियो जनता ? अहिले पनि जनता त यिनकै पाइतालामुनि छन् । यिनैले जनी गरे बाँच्न पाउने हुन् । हावा खाएरै बाँचिरहेछन् जनता । मस्ती त यिनै नेतालाई छ अहोरात्र ।
गौतम बुद्धको नाम जपेर नेपालीको भोक मेटिनेवाला छैन । सगरमाथा हेरेर आङ ढाकिने होइन । प्राकृतिक सुन्दरता, विविधता भनेर यसले पनि हाम्रा अभाव टर्दैनन् । भोक मेट्न त खानै पर्‍यो । आङ ढाक्न लगाउनै पर्‍यो । यहाँका दक्ष जनशक्ति, उच्च दिमाग भएका अमेरिका, युरोप, जापान पुगेका छन् । पाखुरीमा बल भएकाहरू खाडी मुलुक पुगेर सस्तो मजदुरीमा जिन्दगी कटाइरहेछन् । दक्षता भएकालाई प्रयोग गर्न सक्दैन यो देश । विशेषज्ञता उपयोग गर्ने सोच छैन । पाखुरीमा बल भएकालाई काममा लगाउन सक्दैन यो देश । छन् यहाँ अशक्त, भङ्जा वा नेताजन्य दिमाग बोकेका लठैत । र, अब बन्छ कसरी मुलुक ? यो देशका नेता भन्नेहरूले यसमा किन चिन्ता गर्दैनन् ? कि उनीहरूको दायित्वभित्र पर्दैन यो ?
बीउ विदेशी भए पनि यहाँको माटो र हावापानी पाएपछि यहीअनुसार फल दिने रहेछ । जतिसुकै राम्रा विदेशी सिद्धान्त घोके पनि यहीँको माटोमा हुर्केकाको दिमाग पनि उही त हुने रहेछ । परिणामले यही देखाउँछ । हो, यिनका कुरा कुनचाहिँ नराम्रा थिए र । अहिले हेर्नुस्, यिनका काम कुनचाहिँ राम्रा छन् त र आमनेपालीले यतिबेला देशको अवस्था हेरेर चित्त बुझाउने छाँट कहाँनेर होला त र
देशका ठूला मानिएका नेत कुनचाहिँ मूलशक्तिमा पुगेनन् ? सबका सब नै पुगेका छन् । यिनको रबैया हेरियो, हविगत पनि देखियो । युवा नेता भनिएकाहरूको हैसियत पनि नदेखिएको होइन । चार वर्ष मस्त निद्रामा परेर अन्तिम घडीमा ब्युँझेझैँ गर्ने युवा पनि पुरानै मानसिकताबाट ग्रसित छन् । युवा भनिनेहरूले यो गरे, त्यो गरे भन्ने ठाउँ छैन । जुन कुराको परिणाम केही देखिँदैन भने त्यसको केही अर्थ हुन्न । सय केजी वजन उचालेर भरदिन कोही उभिरह्यो भने पनि विज्ञानले त्यसलाई ‘काम’ मान्दैन । बरु एक केजी वजन लिएर एक मिटर मात्रै अघि सर्‍यो भने काम मान्छ, मैले बुझेको त यही हो । हाम्रा युवा, पाका वा पितृ नेताहरूको हालत त राम्रै हेरियो नि । यसले सारा नेपालीलाई त लज्जित बनाएको छ नै विश्वलाई नै हँसाएको छ भन्दा बढी होओइन ।
जुन देशको बहालवाला मन्त्री जेल जान्छ । पटकौँ जनप्रतिनिधि भइसकेका नेता भ्रष्टाचारीमा दरिन्छन् । त्यसै देशका भाग्यमानी (?) जनता हामी । हाम्रा आदर्श, निष्ठाका प्रतिमूर्ति यी । भाग्यले पाएका नेता यी, दूर्भाग्यले यिनकै पक्षमा नारा लगाउन परेको छ ।
यी गन्थन गरिरहँदा प्रश्न उब्जेको छ, अब देश कसरी अघि बढ्छ ? आम नेपालीको भविष्य के ? देश कसरी समृद्ध बन्छ ? के जनताले सन्तोषको सास फेर्न पाउँछन् ? भनिन्छ हाम्रो मुलुक कहिल्यै पराधीन भएन । बुझ्न जरुरी छ, यो देश स्वाधीन पनि कहिल्यै हुन सकेन । विदेशीले खटाएको हावामा सास फेर्नु परेको छ । उसले तोकेको सीमामा खुम्चिनु हाम्रो विवशता हो । जसले जे भने पनि यहाँको धरातलीय यथार्थ त यही हो नि । यही कुरो नबुझ्नाले पनि हामी पछि परेका छौँ र परिरहन्छौँ अझै ।
लाग्छ, यो देशका नेताहरू राजनीतिमा सामान्य पनि साक्षर नभईकन नेता बने । अझ ठूलो नेता बनिहाल्ने भोक पाले । यहाँको अवस्थालाई बुझ्नै सकेनन् । हो, अब हामी सकुशल अघि बढ्ने हो भने, समृद्धि चाहने हो भने देशको यथार्थलाई बुझ्नै पर्दछ । हामी कुन अवस्थामा छौँ भन्ने जान्नै पर्दछ । आमनेपालीको चिन्ता र चासोको विषयमा ज्ञान हुन जरुरी छ । अब पनि भ्रममार्गका यात्रा गरिरहने हो भने हामी खाल्डोमै जाकिने हो । रातारात अनागरिक बन्नुपर्ने अवस्था आउने छ ।
ज्ञान हुन जरुरी छ– सबै समय उस्तै रहन्न । चेतना हुनै पर्छ– सहनेले सधैँ सहँदैन । झुटको खेती सर्वथा चल्दैन । देश हाम्रै हो । हाम्रै लागि हो । हामी भएरै देश भएको हो । देश भएरै हामी भएका हौँ । सधैँ सामान बिक्री गरिरहेको पसल, एक दिन आफैँ बिक्रीको सूचना ‘यो पसल बिक्रीमा छ’ भनेर टाँस्न बाध्य नबनोस् ।

प्रतिक्रिया