प्रेम केही प्रख्यात नेपाली आख्यानहरूमा

प्रेम के हो, अथवा के होइन ? यसको परिभाषा कसरी दिने ? प्रेमको कुनै भाषा हँुदैन भन्छन् । जुन कुराको भाषा हुँदैन त्यसको परिभाषा पनि नहँुदो हो । यसर्थ, मैले यहाँ अनेकन व्याख्या र विश्लेषण गर्न खोज्नु औचित्यहीन ठहर्ला । तर, आज किन हो मलाई यो औचित्यहीन काम गर्न मन परिरहेको छ । त्यसैले प्रेमलाई परिभाषित गर्ने जमर्को गरेको छु । चाहे त्यो जति नै औचित्यहीन नहोस्, विश्लेषण गर्न गइरहेको छु ।
प्रेमको सापेक्ष र निरपेक्ष दुई परिभाषा छन् । हुन त मान्छेले यसलाई आ–आफ्नो हिसाबले अथ्र्याउँछन् । आमअवस्थामा प्रेम भनेर जेलाई भनिन्छ त्यो सापेक्ष प्रेम नै हो जो आफूबाहेक कुनै वस्तु वा व्यक्तिसँग सम्बन्धित रहन्छ । यस्तो प्रेममा उठ्ने हरेक भावना द्वैतवादको सिद्धान्तमा बाँधिएका हुन्छन् । जस्तो खुसीसँग दु:ख, मिलनसँग बिछोड । अनि, निरपेक्ष प्रेम भनेको चाहिँ उच्चतम अवस्था वा स्वरूप हो, जस्तो बुद्धजस्ता व्यक्तित्वले चर्चा गर्ने गरेको प्रेम हो । जस्तो फूललाई कहिल्यै यो मतलब हुँदैन कि उसको सुवास कसले कति पाउँदैछ । उसलाई निर्बाध फूलिरहनु छ । फूलबाट आफ्नो सुवास निरन्तर बहिरहन्छ । निरपेक्ष रूपमा । तर, प्रेम भनेर हामी सापेक्ष नै बुझ्छौँ र चर्चा गर्छौं ।
यद्यपि प्रेम जीवको शरीरमा आउने एउटा रासायनिक परिवर्तनको प्रक्रिया हो, यसलाई जैविक रूपान्तरणमा मात्र सीमित राखेर विश्लेषण गरिनुहुन्न । हुन त विपरित लिङ्गीप्रतिको आकर्षण र झुकावको प्रारम्भिक कारक भन्नु नै हर्मोनल चेन्जेज हो । पूरै बायोलोजिकल प्रोसेस । तर, प्रेम विज्ञानलाई छिचोलेर धेरै अगाडि बढेको देखिन्छ । प्रेमको केही मनोवैज्ञानिक विश्लेषण गर्नु पनि वाञ्छनीय छ ।
जस्तो साइकोलोजिस्ट रोबर्ट स्टेनबर्गले प्रेमको एउटा त्रिकोणात्मक सिद्धान्त प्रतिपादन गरेका छन् जसमा प्रेमका तीनवटा पक्षलाई उद्घाटन गरेका छन् । आत्मीयता, दायित्व र लगाव । आत्मीयता त्यस्तो अवस्था हो जसमा दुई व्यक्तिले आ–आफ्नो व्यक्तिगत जीवनका सम्पूर्ण भेदहरू साटासाट गर्ने गर्छन् । दायित्व सम्बन्धलाई स्थायित्व दिने आधार हो । त्यसैगरी लगाव चाहिँ आकर्षण र यौन चाहनाको प्रतिफल हो । सबैखाले प्रेम, प्रेमका यी तीन पक्षका अवयव हुन् भन्दा फरक नपर्ला ।
नेपाली साहित्यमा विभिन्न लेखकले आफ्ना विभिन्न कृतिमार्फत् प्रेमलाई फरक/फरक रूपमा व्याख्या/विश्लेषण गरेका छन् । वास्तवमा प्रेम त्यही एउटै तत्व हो जुन विभिन्न खुड्किलो पार गरेर आफ्नो यात्रा तय गरेको हुन्छ । यहाँ उल्लेखित केही आख्यान सबै प्रेमकै सेरोफेरोमा घुमेका छन् । तर, भिन्न भिन्न अवस्थामा ।
नरेन्द्रदाइ
बिपी कोइरालाको ‘नरेन्द्रदाइ’ उपन्यास त्रिकोणात्मक प्रेमकथा हो । तर, यहाँ अलिक चर्चेय तात्कालीन समाजको आँखामा अवैधानिक ठहरिएको नरेन्द्र–मुनरियाको भन्दापनि नरेन्द्र–गौरीको सम्बन्ध छ । नरेन्द्रको प्रेम नपाएर भित्रभित्रै तड्पिएकी गौरी, रुग्ण अवस्थामै भएपनि नरेन्द्रलाई पाएर सम्पूर्ण परिवर्तित हुन्छे । यसका उदाहरणस्वरूप, गौरीले सानोबाबुलाई लेखेको चिठीमा देखिन्छ ।
‘…मैले आजकाल मासु खान थालेँ । छक्क परौला तिमी यो सुनेर । उहाँलाई मासु पकाउनै पथ्र्यो । उहाँको भोजन मेरा लागि अभोज्य कसरी हुन सक्थ्यो ? मैले सधवा भएर पनि विधवाको व्यवहार गर्नु उचित होइन । पतिको जे गति, मेरो पनि त्यही गति ।’
जीवनको त्यतिका समय पार गरिसक्दा मासु नखाएकी गौरीले आफ्ना पतिका खातिर मासु खाइन् । प्रेमले मानिसलाई के के गराउँछ ? गौरीले कहिल्यै सोचिनन् होला, नरेन्द्र फर्केर आउँछन् र उनलाई प्रेमको त्यो उचाइमा लैजान्छन् । सोच्दै नसोचेको घटना उनको जीवनमा घटित भो । त्यसैले सायद उनी ‘सक’ मा गइन् । यसको अर्को पनि उदाहरण छ । गौरीले सानोबाबुलाई लेखेको चिठी ।
एकातिर उनी लेख्थिन्– ‘नरेन्द्रको मुखबाट रगत आउन थामिएको छैन, ज्वरो पनि जस्ताको तस्तै छ । अर्कोतिर लगत्तै लेखिएको हुन्थ्यो– रमाइलोसित दिन बितिरहेका छन् । चौबीसै घन्टा उनैको सहचार्यमा रहन्छु । उनी ममा पूरा निर्भर रहन थाले । ओछ्यानमा कोल्टे फेर्न पनि म नभै नहुने भो उनलाई । उनी भन्छन्– ‘गौरी, म धेरै माया गर्छु तिमीलाई ।’ आजकाल साँच्चै सानोबाबु, उनी मलाई धेरै माया गर्छन्, मैले साँच्चै भनेको प्यारो देवर, धेरै । के म बुझ्दिनँ माया गरेको र’
गौरीलाई नरेन्द्रको स्वास्थको चिन्ताभन्दा आफूले नरेन्द्रबाट पाएको प्रेमको बढ्ता चासो छ । उनले सानोबाबुलाई लेख्ने प्रत्येक चिठीबाट यही आशय निकाल्न सकिन्छ । उनी पागल भइन् । वास्तवमा मान्छेले जीवनमा अपेक्षा नगरेको खुसी पाउँदा ऊ त्यो सम्हाल्न नसकी बौलाउँदो रहेछ । ०००
संसारमा कुनै प्रेम छैन जुन आफूलाई बिर्सेर गरिएको होस् । हरेक प्रेमले प्रत्यक्ष आफ्नो सुख/दु:खसित सरोकार राखेको हुन्छ । तर, आफूलाई गौण बनाएर चित्त कतै विलीन गराइन्छ भने, त्यो प्रेम होइन, ध्यान हुन जान्छ । वास्तवमा हामी जेलाई प्रेम भन्छौँ, त्यो हामीभित्रको अहंको अवस्था हो ।
शिरीषको फूल
नेपाली साहित्यको एकदमै अब्बल मानिने पारिजातको ‘शिरीषको फूल’ले प्रेमलाई निस्सारताको उत्कर्षमा पुर्‍याएको छ । आफूलाई ‘बूढो रक्स्याहा’ भनेर मूल्यांकन गर्ने अधबैँसे सिपाही सुयोगवीरले आवेशमा आएर बरीलाई गरेको चुम्बनप्रति बरी शाब्दिकरूपमा प्रतिक्रियाहीन बनिदिन्छे । सुयोगवीर छट्पटिन्छ । बरी मर्छे । अनि सुयोगवीर भन्छ– ‘बरी मेरो सत्य प्रेमको आवेगलाई एउटा बलात्कार सिद्ध गरेर मरेकी छ ।’
वास्तवमा बरीको जीवनप्रतिको दृष्टिकोण, उसको भावभङ्गी, चालचलन आदिभन्दा धेरै भिन्न भइदियो उसको जीवनको अन्त्य । यो उपन्यासको सबभन्दा ठूलो रहस्य हो । आफ्नो एउटा भावावेशका कारण भएको बरीको मृत्युप्रति खेदले भरिएका सुयोगवीरका विचारहरू यसरी प्रस्फुटित हुन्छन्– ‘मेरी सकमबरी र एक दिन खुब फुर्ती लगाएर भन्थ्यौ कि जीवघाती सुनगाभाको जस्तो तन्तु राख्नुपर्छ, खोइ आज तिमीले के गर्‍यौ ? बरु राखेकी छु भन्ने विश्वासमा तिमीले मलाई मारेकी भए हुने ।’
प्रेमको चरम असफलता शिरीषको फूलले दर्शाएको छ । पढ्दा सकमबरीको भन्दा सुयोगवीरको बढ्ता माया लाग्छ । उसको यौनजीवनका तीता फ्ल्यासब्याकले पनि ऊप्रतिको दृष्टिकोणमा विचलन आउँदैन । ‘आफ्नो लागि मात्र फूल्ने, भ्रमरालाई व्यर्थ किन आफ्नो जवानी लुटाउने’ भन्ने रुखो दर्शन बोकेर हिँडेकी सकमबरीको एकोहोरो प्रेममा फसेको सुयोगवीरका भावना साँच्चै टीठलाग्दा छन् ।
‘अब मलाई शरीरभरि खोपेर हिँड्न मन लागेको छ, जीवन असफलता हो, यो जीवन दुर्भाग्य हो, मानिस यसै पनि दु:खी छ, उसै पनि दु:खी छ ।’
अनुराधा
प्रेमको कुरा गर्दा अर्को कृतिको नाउँ लिन मन लाग्छ । विजय मल्लको– अनुराधा । रेल्वे स्टेसनमा मूर्छित अवस्थामा फेला परेकी अनुराधालाई ‘म’ पात्रले आफूकहाँ लगेर उपचार गराउँछ । उसको जीवनको सम्पूर्ण कथा सुनिसकेपछि ऊ अनुराधासित प्रेम गर्न थाल्छ । तर, अपसोच र प्राय: मूर्छित् र विचेत अवस्थामा रहेकी अनुराधालाई उसमा ‘म तिमीलाई प्रेम गर्छु’ भनेर भन्न नसक्ने विडम्बना छ । म पात्र भन्छ– ‘एकपल्ट मात्र पागलपनबाट उनी सचेतनतामा उत्रिदिएकी भए, के म आफ्नो छाती उघारेर देखाइदिन पाउँदिन ? तिनको मीठो बोलीले मलाई अंगीकारसम्म गरिदिएको भए, के म कुनै स्वर्ग रोज्थेँ ? अनुराधा म तिमीलाई प्रेम गर्दछु, आफ्नै स्वरको आपैँm प्रतिध्वनि सुन्दछु, छट्पटाउँछु, बस्दछु । तर, अनुराधा मलाई घुरेर हेरिरहन्छिन्, किन त्यो आँखा मेरो कुरा केही बुझ्दैन ? किन मलाई देखेर उनी हाँस्दिनन् ?’
अधिकांश अर्धचेत अवस्थामा अवस्थित अनुराधाप्रतिको आशक्ति प्रेमको अर्को अनुपम उदाहरण हो । जब कसैप्रति आशक्त भइन्छ, तब केही देखिन्नँ । चेतनाका साह्रा ढोका बन्द हुन्छन् । विवेकका प्वालहरू टालिन्छन् । तर्कका मुहान सुक्छन् । सत्य/असत्य, नैतिक/अनैतिक आदि बीचको पार्थक्य थाहा पाउन पनि असक्षम भइन्छ । के एउटी पागल आइमाई (अनुराधा) प्रति आशक्त हुनु म पात्रको चेतनाच्युत स्थिति होइन ? त्यसैले त भनिन्छ, प्रेममा कुनै तर्क चल्दैन । जहाँ तर्क हावी हुन थाल्छ, त्यहाँ प्रेम टिक्नै सक्दैन ।
राधा
कृष्ण धरावासीको उपन्यास ‘राधा’ पढिसकेपछि त प्रेमको अलिकति मीमांसा नगरी झन् चित्तै बुझ्दैन । कृष्णका सोह्र सय गोपिनी र तर, जब प्रेमको कुरा आउँछ, राधाप्रतिको आशक्ति नै अमर प्रेम बन्यो । राधालाई प्राप्त गर्न नसके पनि कृष्णको खोज रोकिएन । हरेक स्त्रीमा कुनै न कुनै रूपमा, कुनै न कुनै कोणबाट कृष्णले राधा देख्न थाले । कसैको नाक राधासँग मिल्थ्यो, कसैको ओठ, कसैको चालचलन कसैको के कसैको के आदि आदि । आफूभित्रका प्यासलाई कृष्णले यसैगरी किस्ताबन्दीमा मेटाउन चाहे । तर कहिल्यै तृप्त भएनन् । सोह्र सय गोपिनीलाई एउटी राधामा कसै गरे पनि समाहित गराउन सकेनन्, चाहे किस्ताबन्दीमै किन नहोस् । त्यसैले कृष्णको प्यास कहिल्यै मेटिएन । उनको जीवनमा जतिवटी आए पनि उनी सधौ तृषित रहिरहे । ०००
माथि उल्लिखत कुनै पनि कृतिमा प्रेमले सफलताको स्वाद चाख्न पाएको छैन । जहाँ पनि प्रेम विदु्रप छ । असफल छ । असन्तोषले प्रलेपित छ । काँडासरी छ । जुन प्रेम सफल रहन्छ, ती इतिहासको गर्तमा फुस्सासरी विलीन हुन्छन् । तिनका कृति लेखिँदैनन् । चर्चा गरिन्नन् । प्रेम गरेर को सुखी भएको देखिन्छ ? नरेन्द्र ? गौरी ? या मुनरिया ? शरीरभरि खोपेर हिँड्न मन लाग्ने सुयोगवीरको हालत त्यस्तै । अनुराधालाई चाहने ‘म’ पात्र उस्तै दु:खी छ । भगवान् भनिने कृष्ण त दु:खी रहिरहे भने अरूका के कुरा ? त्यसैले साहित्यमा तिनै प्रेम कहानी चल्छन् जुन विद्रुप हुन्छन्, निस्सार हुन्छन्, असफल हुन्छन् । र मान्छेको वास्तविक जीवनमा पनि  ।
वास्तवमा मान्छेलाई त्यही प्रेम मात्र सम्झिन मन लाग्छ, जसले धेरै रुवाएको हुन्छ ।

प्रतिक्रिया