नेपाली समाजका कथाहरू

कथाकार किशन थापा ‘अधीर’ सचेततापूर्वक कथा लेख्ने सर्जकका रूपमा चिनिन्छन् । कथाको मर्मज्ञ र समीक्षकका रूपमा पनि कलम चलाउने कथाकार ‘अधीर’ले आफ्नो नयाँ कथासंग्रह प्रकाशित गरेका छन्, ‘सँघारमा’ । डिकुरा पब्लिेकसनबाट प्रकाशित यस संग्रहमा सत्ताइस कथा समेटिएका छन् ।
संग्रहको पहिलो कथा ‘अब मूल प्रश्न’ दोस्रो जनआन्दोलनको सन्दर्भलाई लिएर लेखिएको छ जसमा लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रमाथि खतरा मडारिरहेको र त्यसको बचाउका लागि सबै नेपाली सचेत हुनुपर्ने आवश्यकता औँल्याइएको छ । यसरी नेपालको राजनीति र युगीन प्रतिचापमाथि उनले यहाँ ‘वर्तमान’, ‘अपरिवर्तन’, ‘विवेक’, ‘उत्खनन’, ‘निकास’, ‘सँघारमा’ जस्ता कथामा एकपछि अर्को रोचक कथानक र निष्कर्ष प्रस्तुत गर्दै सिर्जना गरेको देखिन्छ । यी कथाले बौद्धिक सन्दर्भ त उठाएका छन् नै, त्यसमाथि नेपालकै निकट भविष्यलाई संकेत गर्ने काम गरेका छन् ।
नारीवर्गको स्वर उँचो बनाउने कथाका रूपमा ‘भरोसा’ र ‘एउटा नसुनिएको कथा’लाई लिन सकिन्छ । ‘भरोसा’कथामा त त्यति मात्र नभएर वृद्ध पुस्ताप्रति नवपुस्ता अनुत्तरदायी बन्दै गएकोमा विरोधभाव व्यक्त भएको छ । पश्चिमेली संस्कृतिको तीव्र प्रभावका कारण जन्मदाताप्रति पनि सन्तानको बढ्दो सरोकारहीनताले समाजको गति कुन रूपमा देखिन गयो भन्ने कुराप्रति चिन्तन गरिएको छ । अग्रज पुस्ताप्रति युवापुस्तामा विद्यमान उत्तरदायित्वपनको विश्लेषण ‘द्वन्द्व’ कथामा पनि गरिएको छ । यहाँ पुस्तागत द्वन्द्व नै प्रस्तुत छ । तटस्थ भावले दुवै पुस्ताबीचका कमीकमजोरी केलाइएकाले यस कथाले यस्तै परिवेश भोगिरहेका घरघरका पुस्तालाई छिटै समाउने सम्भावना छ । यस संग्रहको प्रमुख आकर्षणमा युवापुस्ता छन् । सबै कथामा युवाको प्रसंग कतै न कतैबाट समेटिएको पाइन्छ । यस दृष्टिले हेर्दा कथाकार थापामा युवापुस्ताभित्र सम्भावना खोज्ने प्रवृत्ति टड्कारै देखिन्छ । संगृहीत कथामध्ये ‘प्रेम ?’, ‘अब यताबाट…’, ‘अहिरो’, ‘युग’, ‘यो समय’, ‘सुन्न सक्छयौ ?’, ‘उमेर’, ‘माध्यम’, ‘जित’ जस्ता कथामा प्रमुख रूपमा युवापुस्ताका मानसिकता, प्रयत्नहरू, चेतनास्तर, निराशाजस्ता पक्षहरूमाथि विचार गरिएको छ । तिनमा कतै उत्तरदायित्वहीनता, कतै प्रेम प्रसंग छन् त कतै स्वच्छन्दतातर्फको यात्रा कतै महत्त्वाकांक्षाको परिणतिको चित्रण छ ।
दसबर्से द्वन्द्वको परिणतिका रूपमा ‘निस्तेज आँखा’ र ‘अनुभूति’ जस्ता कथालाई पनि यहाँ समेटिएको पाइन्छ । यी कथामा कथाकारले तटस्थ मुद्रा धारण गर्नुका साथै तिनमा देखिएका दीर्घकालीन असरप्रति सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने आवाज उठाएका छन् । विभिन्न उपकथा जोडेर सिर्जित ‘अव्यवस्था’ कथामा नेपाल सिंगो देश नै अव्यवस्थाको घेराबन्दी भएको निष्कर्ष निकालिएको छ । नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्न थालेको रेमिट्यान्स भित्र्याउने बिदेसिएकाहरूको मर्म, अवस्था, तिनप्रतिको उत्तरदायित्वलाई बिर्सन नमिल्ने माग ‘कसले गरोस् अनुभूत †’ कथामा गरिएको छ । नेपालका कतिपय कारागारमा महिला कैदीमाथि गरिने विभिन्न प्रकारका शोषणका कथाव्यथालाई ‘एउटा नसुनिएको कथा’मा प्रस्तुत गरिएको छ । शिक्षा केवल औपचारिक प्रमाणपत्र प्राप्त गर्नसक्ने क्षमतायुक्त बनाइदिनुमा मात्र सीमित भएको हाम्रो देशमा वातावरण, सिर्जनात्मकता, भविष्यप्रति जिम्मेवार हुनुपर्ने धारणालाई ‘शिक्षा’ कथामा अभिव्यक्त गरिएको छ ।
‘सँघारमा’का कथाले परम्पराभन्दा भिन्न विषयलाई पस्केका छन् । कथाले समकालीन समयलाई अभिव्यक्त गर्दछन् । हाम्रो समाज सकारात्मक परिवर्तनतर्फ उन्मुख हुनुको साटो क्षयोन्मुखतातर्फ अग्रसर भएको स्पष्ट जनाउ दिएका छन् यी कथाले । हाम्रो मानसिकता, धरातल, वातावरण, शैक्षिक अवधारणा, राजनीति, चेतनाजस्ता महत्त्वपूर्ण पक्षहरूले क्षयोन्मुखताको बाटोतर्फ लागेको सत्यलाई यी कथाले अभिव्यक्त गरेका छन् । यस दृष्टिले प्रस्तुत कथासंग्रह निकै रोचक बन्न पुगेको छ ।

प्रतिक्रिया