म विवाहमण्डपमा मनभित्र भ्रान्ति बोकेर भित्रभित्र रोइरहेकी थिएँ । मेरो विवाह भइरहेको थियो । स्वयम्बरमा मैले थाकेको, गलेको, पोलेको मनले मेरो हुनेवाला श्रीमान्लाई दुबोको माला लगाइदिएँ । उनी निक्कै खुसी देखिन्थे ।
व्यवस्था परिवर्तनपछाडि मेरो बाबाको पदोन्नति हुने पक्का भएछ । पुलिस र आर्मीका अफिसरहरू हात मिलाउँदै अग्रिम बधाई दिन्थे । सबै मेरो बिहेका निम्तालु थिए । सयौँको संख्यामा आगन्तुकहरू आए । मलाई टीका लगाई आफ्नो इज्जत धान्न खामभित्र पैसा घुसारेर दिए । मैले गहिरो वेदनामा डुबेर खाम हातमा लिँदै छेउमै रहेकी मेरी बहिनी पर्नेलाई थमाइदिएँ । मेरो बिहे घमासानसँग भयो । दाइजोको गिन्ती थिएन । बाइक, टिभी, दराज, सोफा, टेबुल आदिआदि । मेरो बिहेमा बाबाले मन फुकाएर धन खर्चनुभयो । तर, मलाई खल्लोखल्लो अनुभूति भइरहेको थियो ।
त्यो मेरो दोस्रो विवाह थियो ।
ममीलाई बाहेक कसैलाई थाहा थिएन– त्यो मेरो दोस्रो विवाह हो भनेर । म रातोसारी, चोलो, रातै घुम्टोमा विवाह विधिमा संलग्न भएँ । मेरा श्रीमान् कसोकसो मेरो नजिक बस्न चाहन्थेँ । अलि नजिक टाँसिन्थे । म पर हट्न खोज्थेँ । मेरो नचाहेको विवाह थियो– त्यो । बाबाममीले मलाई एक वचन सोध्नुभएन । मेरो राय र स्वीकृतिबिनाको बिहेमा म खुसी हुन सकिनँ । मेरो खुसीको प्याला घोप्टिएर बत्ती बर्तिइसकेको थियो ।
भाग्यवादी सोच राख्नुहुँदैन भन्ने सागरको विचार बिर्सिएर म भाग्य–भविष्यको अनिर्णित चार दिवारभित्र छिरेँ । बिहेको रातभरि म सोचमै भएँ । रोमाञ्च, खुसी कतै थिएन । कहीँ अँध्यारो थिएन रातमा । झलमल्ल बत्ती बलिरहेका थिए । तर, मेरो मन अँध्यारोमै कुण्ठित भइरह्यो । मेरो पहिलाको कुरा नयाँ श्रीमान्ले थाहा पाए के होला ? सागरका हस्तलिपिलाई कहाँ लुकाउनु ?
सबै रमाइरहेका थिए । तर, म रोइरहेकी थिएँ । म मातृवियोग हुन आँटेर रोएकी होइन । सागरको जीवन समाप्तिको कारणले रोएकी थिएँ । सबै विधि पुर्याएर बिहे भयो । रातभरिको अनिँदो, मनभरिको असीम पीडाले म खङ्ग्रिएकी थिएँ । त्यहाँ मेरो आर्तपुकार सुन्ने कोही थिएन । ठूलो इज्जत कमाउने आशामा हुनुहुन्थ्यो– मेरो बाबा ।
बिहान अन्मिने बेलामा ममीले मलाई एकान्त कोठामा लगेर केही दीक्षा दिनुभयो । पराइघरमा गर्नुपर्ने काम बताउनुभयो । ममीले मलाई मातृवत्सल हातले चिउँडो समाएर भन्नुभयो, ‘करूणा † आजबाट तिमी अर्कैको घरमा जाँदैछ्यौ । छोरीको जात अर्काको घर जानै पर्छ । अब त तिमी पनि बुझ्ने भइसक्यौ । यसभन्दा अगाडि जे भयो सकियो । पहिलेका कुरा अहिलेसम्म कतै चुहेका छैनन् । यसबारे कसैलाई थाह नहोस् । राम्ररी घर गर्नू । यो सम्पत्ति तिम्रै हो । श्रीमान्को आज्ञालाई शिरोपर गर्नुपर्छ । रिसाउनु, झर्कनु हुँदैन ।’
म घुम्टोभित्र थिएँ । मलाई ममीको वचनप्रति प्रश्न सोध्न मन लागेथ्यो– के श्रीमतीले श्रीमान्ले जस्तो गल्ती गरे पनि प्रश्न उठाउन पाउँदिन ? सधैँ आज्ञाकारी बन्नुपर्ने किन ? हाम्रो विचार, सिद्धान्त हुँदैन र ?
सागरको प्रगतिशील विचारको प्रभाव ममा परेको थियो ।
मलाई धनाढ्यको हातमा सुम्पने बाबाको अभीष्ट पूरा भएरै छाड्यो । बाबा आफँैले मलाई बोकेर सिँगारिएको अत्याधुनिक कारमा लगी राखिदिनुभयो । पाहुनाहरूको भीड लाग्यो कार वरिपरि । ममीले धाप मारेर बिदाई गर्नुभयो । मेरो श्रीमान् मेरो छेउमा आएर बस्नुभयो । कारको अगाडि मेरो ससुरा र ड्राइभर थिए । ड्राइभरले गाडी अगाडि बढायो । बाबाले मेरो ससुरालाई खै के भन्नुभयो, मैले थाहा पाइनँ ।
मलाई मेरो जीवन खरानीको डल्लोजस्तो लाग्यो । मेरो शरीरमा केही परिवर्तन देखापरिसकेका थिए । ती के थिए, मलाई मात्र थाहा थियो । अब मैले मलाई कसरी त्यो भयंकर छाल, ज्वारभाटाबाट जोगाउने ? यी प्रश्नहरू ज्वलन्त थिए ।
मेरो श्रीमान् मेरो नजिकै बस्नुभयो । मैले अनौठो मानिनँ । म त उहाँकै भइसकेकी थिएँ । अब म भागेर, आत्तिएर जाने ठाउँ थिएन । म त अभेद्य पर्खालभित्र छिरिसकेकी थिएँ । उहाँको खुसी अब मेरो पनि खुसी हुनुपर्छ । मलाई न्याय दिने अदालत कतै थिएन । मलाई परेको अन्यायलाई मैले न्यायको आँखाले हेर्नुपर्ने थियो ।
म गहिरो सोचमा थिएँ । तर, सोचाइमा स्थिरता थिएन । कहालीलाग्दो थियो, भय, त्रस्तता आदि मात्र । श्रीमान्ले मलाई पछाडिपट्टिबाट हात घुमाएर छुनुभएको थियो । मैले लाज सरम पचाएँ, यताउता सरिनँ । पछाडि अरू गाडीमा जन्ती उन्मादित देखिन्थे । एउटाले स्वास्नी ल्याउँदा यिनीहरू किन खुसी ? जन्तीको जातै हुलदंगे । पिकअपमा रहेका रक्सीको मातमा सुसेली हालिरहेका थिए । कस्ता असभ्य † तर कतै मेरो आवाज चिप्लेला कि भन्ने डर थियो मलाई ।
मेरो जीवनको नूतन यात्रा सुरु भयो । मभित्र बाध्यता, अनिच्छा, अस्वीकार्य थियो ।
(सयपत्रीको रत्न पुस्तक भण्डारबाट प्रकाशोन्मुख उपन्यास ‘सीमान्त विचलन’को एक अंश )
प्रतिक्रिया