‘एमाओवादी विध्वंसकारी हो’

काठमाडौं, १३  असोज । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादी नयाँ नेपाल बनाउने योजनाका साथ आएको पार्टी नभई विध्वंसकारी शक्तिका रूपमा मात्रै आएको बताएका छन् ।
प्रेस चौतारी काठमाडौं, भक्तपुर र ललितपुरले शुक्रबार राजधानीमा आयोजना गरेको भेलामा नेता नेपालले एमाओवादीलाई यस्तो आरोप लगाउँदै एमाओवादीका ढाँट कुरामा अलमलिन नहुने बताए । ‘प्रचण्ड र बाबुरामले काम गरेको पनि देखियो । उनीहरूले नयाँ नेपाल बनाउने भनेको के रहेछ भन्ने पनि बुझियो,’ नेपालले भने, ‘उनीहरूले नयाँ नेपाल बनाउने ढाँट कुरा गरेका हुन्, उनीहरू विध्वंसकारी मात्र हुन् ।’
एमाओवादीको सत्ता कब्जा गर्ने योजना थाह हुँदाहुँदै पनि नबुझ्नु आफूहरूको नालायकीपन भएको उनले स्वीकार गरे । ‘एमाओवादी नेताहरूले २०/२५ वर्षसम्म सत्तामा बसिन्छ भनेर घोषणा गरेका छन् र कार्यकर्तालाई पनि सत्ता कब्जा गरिन्छ भनिरहेकै छन्,’ नेपालले भने, ‘यस्तो घोषणा गर्दा पनि ढाँटहरूले सहमतिको कुरा गरेको नबुझ्ने हाम्रै नालायकीपन हो एमाओवादीलाई ढाँटको पार्टी भनेरै बुझ्नुपर्छ ।’
उनले यथास्थितिमा एमाओवादीसँग कुनै कुराकानी नहुने बताए । ‘अहिले सहमति हुने स्थिति छैन । प्रधानमन्त्रीले कहिले पद त्याग गर्ने हो, त्यो एउटै प्वाइन्टमा मात्रै कुरा हुन्छ,’ उनले भने, ‘प्रधानमन्त्रीले कहिले पद त्याग गर्ने भन्ने स्पष्ट नभएसम्म अब कोठामा बसेर एमाओवादीसँग कुरा हुँदैन ।’ सरकारदेखि स्थानीय तहमा विद्यालय व्यवस्थापन समिति गठनसम्म धम्क्याएरै सत्ता कब्जा गर्ने व्यवहार एमाओवादीले प्रदर्शन गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया