पैसा चोरीको आरोपमा बालक कुटिए

 

नेपालगन्ज,१३ असोज । पाँच सय रुपियाँ चोरेको झुठो आरोपमा बाँके शमशेरगन्ज–७ पिपिरीका १२ वर्षीय बालक शिक्षकबाट निर्घात पिटिएका छन् । घरनजिकै रहेको नमुना विद्यासदनमा युकेजीमा अध्ययनरत श्रवणकुमार वर्मा विद्यालयका शिक्षकबाट कुटिएका हुन् । कुटाइबाट उनको अण्डकोश र तिघ्रामा गम्भीर चोट लागेको छ ।
१२ दिनयता बालकको नेपालगन्जस्थित वैष्णवी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले अण्डकोशमा गम्भीर चोट लागेको र यहाँ उपचार गर्न नसक्ने भन्दै भारतको लखनउ रिफर गरेको छ । तर, बालकका अभिभावकले त्यहाँ लैजान पैसा जुटाउन नसकेपछि वैष्णवी अस्पतालमै राखिएको छ ।
‘बालकको अण्डकोश सुन्निएको छ भने साँप्रोमा रगत जमेको छ । अस्पताल भर्ना भएयता उनले हिँडडुल गर्न सकिरहेका छैनन् । अत्यधिक चोटका कारण उनी छिनछिनमै बेहोस हुने गरेको बाबु विजय वर्माले जानकारी दिए । उनले खान पनि सकेका छैनन् ।
‘डाक्टर लखनउ लैजाऊ भन्छन्, पैसा छैन कसरी लैजाने,’ बालकका बाबु बिजयले भने । ३१ भदौमा विद्यालयमा घटना भएको थियो । सँगै पढ्ने लक्ष्मण खड्काले घरबाट ल्याएको पाँच सय रुपियाँ चोरी गरेको आरोपमा आफूलाई शिक्षकले बाँसको भाटाले हानेको पीडित बालक श्रवणले बताए ।
‘पैसा चोरी गर्ने को हो भन्दै आठजना साथीलाई कक्षाबाट बाहिर ल्याएर पालैपालो पिट्नुभयो,’ उनले भने, ‘पछि पैसा हामीसँगै पढ्ने नीरज चौधरीको खल्तीमा भेटियो ।’ उनलाई पिट्ने शिक्षक को हुन् भन्ने खुलेको छैन । श्रवणका अनुसार उनको कक्षामा नपढाउने शिक्षकले कुटेका थिए । शिक्षक देखे पहिचान गर्ने उनले बताए ।
शिक्षकले श्रवणलाई पिटेपछि उपचारका लागि नेपालगन्ज ल्याइएको थियो । सुरुका दिनमा विद्यालयका शिक्षकले श्रवणलाई पिटेको स्वीकार गरी उपचारका लागि आठ हजार रुपियाँ दिएका थिए ।
विद्यालयका प्रिन्सिपल शिव डाँगीले बालकलाई हातमा हानेको तर निर्घात नकुटेको दाबी गरे । ‘हातमा हानेको हो, अब अहिले चोट कसरी तिख्रामा देखियो, हामी अचम्ममा परेका छौँ,’ उनले भने ।

प्रतिक्रिया