बैंकसँग खुद्रा पैसा अभाव

बाग्लुङ, १२ असोज । दसैं नजिकिँदै जान थालेपछि धौलागिरिमा खुद्रा पैसाको अभाव देखिएको छ ।
धौलागिरिका बाग्लुङ, म्याग्दी र पर्वतमा खुद्रा पैसाको अभाव देखिएको बैंक तथा वित्तीय संस्थाले जनाएका छन् । म्याग्दी सदरमुकाम बेनीमा रहेका बैंक तथा वित्तीय संस्थामा २०, ५० र एक सय रुपियाँको नोट अभाव देखिएको पश्चिमाञ्चल बैंकका शाखा प्रबन्धक गणेशप्रसाद पौडेलले बताए । ५ र १० रुपियाँका नोटसमेत दसँैसम्म अभाव हुनसक्ने सम्भावना बढेको पौडेलको भनाइ छ ।
नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक , माछापुच्छे बैंक, निलगिरि विकास बैंक , आइएमई फाइनान्स, सिटिजन्स बैंक , कृषि विकास बैंक , बैंक अफ काठमाडांै, काष्ठमण्डप डेभलपमेन्ट बैंक, प्रभु फाइनान्स, धौलागिरि बचत तथा ऋण सहकारी संस्था, बेनी बचत तथा ऋण सहकारी संस्थालगायत करिब एक दर्जन सहकारी संस्थाले कारोबार गर्छन् ।
सेवाग्राहीलाई आवश्यकताअनुसार खुद्रा नोट उपलब्ध गराउन समस्या भइरहेको नेपाल बैंक लिमिटेडका प्रबन्धक सूर्यप्रसाद बरालले जानकारी दिए । नेपाल बैंक लिमिटेड म्याग्दीले व्यापारीसँग समेत खुद्रा पैसाको अभाव देखिन थालेपछि केन्द्रीय कार्यालयमा खुद्रा पैसाको व्यवस्थापनका लागि पत्राचार गरिसकेको उनले बताए । दसैँ–तिहारमा बेनीका बैंक तथा वित्तीय संस्थामा करिब आठ करोडभन्दा बढी खुद्रा नोटको आवश्यकता पर्ने सेवाप्रदायक संस्थाले जनाएका छन् ।
यता बाग्लुङमा पनि वडादसँैको आगमनसँगै खुद्रा पैसाको अभाव देखिएको नेपाल बैंक लिमिटेड बाग्लुङ शाखाका प्रबन्धक विष्णु सुवेदीले बताए । दुई लाख खुद्रा पैसा माग गरेकामा २० हजार मात्र जिल्लामा आएको छ उनले बताए । मागअनुसार खुद्रा पैसा निकै न्यून देखिएको छ । प्रबन्धक सुवेदीले केन्द्रमा थप पैसा माग गरिएकाले अबको १५/२० दिनमा समस्या समाधान हुने बताए । बाग्लुङमा सात करोडभन्दा बढी खुद्रा पैसा आवश्यक हुने बैंकहरूले बताएका छन् । एक्कासि खुद्रा पैसाको अभाव देखिन थालेपछि चाडपर्वलाई लक्षित गरीबैंक तथा वित्तीय संस्थाले नोट सञ्चित गर्न थालेका छन् । खुद्रा पैसा अभाव हुने देखिएपछि पैसा होल्ड गर्दा पनि अभाव देखिने गरेको उनीहरूले बताएका छन् । पर्वतमा पनि खुद्रा पैसा लिनेको संख्यामा वृद्धि हुँदै गएकाले अभाव देखिएको हो ।

प्रतिक्रिया