चीनद्वारा फिलिपिन्सलाई चेतावनी

बेइजिङ : ‘साउथ चाइना सी’का विवादित टापुको अनुगमनका लागि खटिएका आफ्ना चालकरहित विमान (ड्रोन)माथि हमला नगर्न चीनले फिलिपिन्सलाई चेतावनी दिएको छ । फिलिपिन्सले आफ्नो दाबी गर्दै आएको हुनग्यान टापुको आकाश क्षेत्रमा चिनियाँ ड्रोन प्रवेश गरे खसाल्ने फिलिपिनी अधिकारीले जनाएको प्रत्युत्तरमा भोलिपल्ट बिहीबार चीनले यस्तो चेतावनी दिएको हो ।
फिलिपिन्सको प्रतिरक्षा मन्त्रालयका प्रवक्ताले हुनग्यान टापुको आकाशमा चिनियाँ ड्रोन देखापरे खसाल्ने चेतावनी दिएका थिए । हुनग्यान टापुलाई फिलिपिन्समा स्कारबोरफ सोहलका नामले चिनिन्छ । यसको प्रत्युत्तरमा चिनियाँ प्रतिरक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले ‘साउथ चाइना सी’मा उत्तेजना फैलाउने कार्यको चीनले सदैव विरोध गर्ने बताए । विवादित टापु अनुगमनका लागि चीनले ड्रोन प्रयोग गर्ने उल्लेख गर्दै उनले ड्रोन परिचालन वैधानिक एवं न्यायसंगत रहेको जिकिर गरे । हुनग्यान र नान्सा टापु तथा यस आसपासका जलक्षेत्रमा चीनको अविवादित सार्वभौमिकता रहेको दाबीसमेत उनले गरे । गत आइतबार चीनले जलक्षेत्रको अनुगमन वृद्धिका लागि ड्रोन तैनाथ गर्ने घोषणा गरेको थियो । यसप्रति आपत्ति जनाउँदै फिलिपिन्सले आफ्नो भूमिका अनधिकृत तबरले प्रवेश गर्ने ड्रोन खसाल्ने चेतावनी दिएको हो ।
विवादित टापुको स्वामित्वलाई लिएर गत अप्रिलमा दुई देशबीच संघर्ष चुलिएको थियो । विवादित टापुछेउ दुवै देशले पानीजाहाज तैनाथ गरेपछि झडपको अवस्था सिर्जना भएको थियो । तर, आपसी सहमतिमा जहाज हटाउने निर्णय दुई मुलुकबीच भएको थियो ।
चीनले ‘साउथ चाइना सी’ का लगभग सबैजसो क्षेत्रमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । तर, भियतनाम, फिलिपिन्स, ब्रुनाई, ताइवान, मलेसियालगायत राष्ट्रले चिनियाँ दाबीलाई अनुचित मान्दै आएका छन् । सो जलक्षेत्रमा प्राकृतिक ग्यासको अथाह भण्डार रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको छ । विश्वको महत्त्वपूर्ण व्यापारिक नाका पनि सोही क्षेत्रमा पर्ने भएकाले ‘साउथ चाइना सी’ को सार्वभौमिकतासम्बन्धी विवादमा अमेरिकाले चीनइतरका राष्ट्रलाई सहयोग गर्दै आएको छ ।
चीन–जपान जुहारी
जापानी प्रधानमन्त्री योसिहिको नोदाले चीन र जापानबीच विवादित टापुका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति चीनले आपत्ति जनाएको छ । बुधबार एक अवसरमा प्रधानमन्त्री नोदाले टापुसम्बन्धी विवाद उत्पन्न हुनुमा जापानको कुनै गल्ती नरहेको बताएका थिए । आफ्नो गल्ती नभएकाले समझदारीका लागि जापानले पहल नगर्ने उनले प्रस्ट पारेका थिए । विवादमा रहेका दुई टापु जापानको अभिन्न क्षेत्र रहेको र अन्तर्राष्ट्रिय काुनन तथा इतिहासले पनि प्रमाणित गरेको उनले बताएका थिए । (एजेन्सी)

प्रतिक्रिया