बारामा बसेर अरु जिल्लामा आतंक

बारा, ११ असोज । बारा जिल्लामा प्रहरीले फोनबाट धम्की दिएर रकम असुल्ने एक यवकलाई पक्राउ गरेको छ ।
धम्की दिएर रकम असुल्ने कार्यगर्दै आएका कलैया नगरपालिका–७ बस्ने २५ बर्षीय सुनिल यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उद्योगी, व्यापारीलाई रकम माग गरेर धम्काउने गरेको उजुरी परे पछि प्रहरीले खोजी गर्दै जाँदा यादव पक्राउ परेका हुन् ।
उनले भैरहवा, बुटवल, नेपालगञ्ज, झापालगायतका शहरहरुमा आर्थिक कारोवार हुने संघ संस्था, सरकारी कार्यालय, स्कुललाई टेलिफोनबाट धम्की दिएर रकम लिने गरेको प्रहरी भनाई छ । उनले व्यापारिकघरानाका व्यक्तिलाई अलग अलग टेलिफोनबाट फोन गरेर रकम माग्ने गरेका थिए ।
यादवलाई प्रहरीले कलैयास्थित लक्ष्मी फाइनान्सबाट रकम लिएर घरमा जान लागेका समयमा पक्राउ गरेको थियो ।
उनीसँग ५० हजार रुपियाँ, सीमकार्ड ५ थान, मोवाइल सेट ८ थान र ना. १९ प ३२६० नम्वरको मोटरसाइकल एवं पीडितहरुको नामावली रहेको डायरी पनि प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया