दसैँका लागि टिकट बुकिङ खुल्यो

काठमाडौं, ११ असोज । दसँैको समयमा राजधानीबाहिर जाने यात्रुका लागि विभिन्न रुटमा बसको अग्रिम टिकट बुकिङ बुधबारबाट खुला भएको छ । गण्डकी अञ्चलबाहेक मुलुकका सबै क्षेत्रमा चल्ने बसले अग्रिम टिकट खुलाएका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार बुधबारबाट मेची–महाकालीका सबै क्षेत्रका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । विगतभन्दा यस वर्ष यात्रुको चाप बढी हुने अनुमान रहेकाले सवारी संख्यासमेत बढाइने महासंघले जनाएको छ ।
महासंघका कोषाध्यक्ष सरोज सिटौलाले दसैँमा राजधानीबाहिर जाने यात्रुलाई ध्यानमा राखेर सवारीसाधनको व्यवस्था मिलाउन महासंघले सबै यातायात व्यवसायीलाई निर्देशन दिएको बताए । उनले विगत वर्षभन्दा चाप बढी हुने भएकाले विभिन्न रुटमा बस तथा अन्य सवारीसाधनको संख्या थपिने जानकारी दिए ।
‘बुधबारबाट गण्डकी अञ्चलबाहेक अरू सबै क्षेत्रका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ,’ उनले भने, ‘यात्रुको अवस्था र चापलाई ध्यनमा राखेर करिब सात सय नयाँ गाडी थपिने छन ।’ अग्नि यातायातले भने असोज–१ देखि नै अग्रिम टिकट खुलाइसकेको छ । सबै रुटमा गरेर आगामी १५ गतेबाट दैनिक तीन हजार देखि तीन हजार पाँच सयसम्म गाडी चल्ने उनले बताए । तर, लोडसेडिङको समस्याले गाडी मर्मत र निर्माणमा समस्या भएको व्यवसायीको भनाइ छ ।
कतिपय रुटमा बाटाको अवस्था नाजुक भएकाले तत्काल मर्मत नगरिए दसैँको समयमा चाप धान्न नसकिने उनको भनाइ छ । नौबीसे–नारणगढ रुटको करिब एक सय ३६ किमि बाटोमा खाल्डाखुल्डी परेको भन्दै सिटौलाले तत्काल मर्मत नभए दसैँको समयमा चाप धान्न नसक्ने बताए । महासंघले अग्रिम टिकट बुकिङका लागि राजधानीको गोंगबुस्थित नयाँ बसपार्कमा व्यवस्था गरेको जनाएको छ । सो स्थानमा परिचयपत्र भएका आधिकारिक कर्मचारीबाट मात्र टिकट खरिद गर्न महासंघले यात्रुलाई अपिलसमेत गरेको छ ।
टिकट खरिद गर्न यात्रुलाई सहज होस भनेर कर्मचारीको व्यवस्था पर्याप्त मात्रामा गरिएको व्यवसायीले बताएका छन् । चाडबाडको समय भएकाले दलाल र ठगी गर्नेबाट यात्रु ठगिने भन्दै प्रहरीको समयोगमा यात्रुलाई ठगिनबाट मुक्त गर्ने अभियान सुरु गरेको जनाएको छ । यस्तै, यात्रुको बढी चाप हुने स्थान कलंकी, नयाँ बसपार्क, कोटेश्वरलगायत क्षेत्रमा ट्राफिक प्रहरीको सहयोगमा हेल्प डेक्स स्थापना गर्ने तथा ती स्थानमा ट्राफिक संख्या बढाउन सरकारसँग आग्रह गरेको सिटौलाले जनाए ।
यो वर्ष विगतभन्दा यात्रुको चाप बढी नै हुने भएकाले सुरक्षाका लागिसमेत सरकारसँग विषेश व्यवस्था मिलाउन महासंघले माग गरेको छ । त्यस्तै, दसैँका लागि भनेर मन्थली–जिरी रुटमा रात्री बस सञ्चालन हुने पनि सिटौलाले बताए । महासंघले दसैँको अवधिमा बढी भाडा लिन सक्ने भन्दै यात्रु ठगी रोक्न प्रहरीसहित नियमित अनुगमन गर्ने र भाडादरसमेत कन्ट्रोल हुने बताए ।

प्रतिक्रिया