उल्टाउने संकेत

नयाँदिल्ली : भारतको खुद्रा व्यापारमा विदेशी पुँजी खुला गर्ने निर्णयबाट केन्द्र सरकार विवादमा तानिएपछि भारतको मुख्य विपक्षी दलले यस्तो परिस्थितिबाट लाभ उठाउन खोजेको छ । आगामी निर्वाचनबाट आफ्नो सरकार सत्तामा आए विदेशी पुँजी निवेश खुला गर्ने वर्तमान सरकारको निर्णय उल्टाउने संकेत विपक्षी दल भारतीय जनता पार्टीले बुधबार गरेको छ ।
भाजपा अधिकारीहरूको जारी बैठकले औपचारिक रूपमै डा. मनमोहन सिंह नेतृत्वको सरकारको कदमको आलोचना गर्ने तयारी गरेको छ । बैठक आरम्भमा पार्टी प्रमुख नितिन गडकरीले पुँजी निवेश खुला गर्ने निर्णयको विरोध गरेको पार्टी प्रवक्ता रविशंकर प्रसादले जानकारी दिए । यसबारे थप प्रस्ट्याउँदै उनले भने, ‘खुद्रा व्यापारमा ५१ प्रतिशत विदेशी पुँजीलाई अनुमति दिने सरकारको निर्णय मुलुक र कृषकको हितमा छैन ।’ खस्कँदो अर्थव्यवस्था उकास्न सरकारले आर्थिक सुधारका कार्यक्रम ल्याएपछि सरकारको आलोचना हुन थालेको छ । यद्यपि, प्रवक्ता प्रसादले आफ्नो दल सुधारको विपक्षमा नरहेको प्रस्ट पारेका छन् । सुधार जनताको हितका लागि हुनुपर्छ भन्ने मान्यतामा आफ्नो पार्टी रहेको उनले जनाएका छन् ।
भाजपाले शासन गरेका राज्यमा खुद्रा व्यापारमा विदेशी पुँजीको विरोध भएको जनाउँदै उनले भने, ‘हामी खुद्रा व्यापारमा विदेशी पुँजी निवेशका विपक्षमा छौँ ।’ ‘तपाईंको पार्टी सत्तामा आए निर्णय उल्टाउनुहुन्छ ?’ भनी सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘हामी खुद्रा व्यापारमा विदेशी पुँजी प्रवेशको विरोधमा छौँ । हामीलाई सत्तामा आउन दिनुस्, यसको प्रभाव तुरुन्तै देखिन थाल्नेछ ।’ सम्बोधनका क्रममा भाजपा अध्यक्ष गडकरीले कंग्रेस आई नेतृत्वको सत्तारुढ संयुक्त प्रगतिशील गठबन्धन (युपिए) असक्षम र भ्रष्ट बनेको आरोप लगाए । मुलुक स्वतन्त्रता भएयताकै सबैभन्दा भ्रष्ट सरकारले मुलुक सञ्चालन गरिरहेको आरोप उनले लगाए । (एजेन्सी)

प्रतिक्रिया