सवा ५ लाखले गरे गर्भपतन

काठमाडौं, ११ असोज । पछिल्लो १० वर्षको अवधिमा देशभरमा सवा ५ लाख महिलाले सुरक्षित गर्भपतन गराएको पाइएको छ । गर्भपतनले कानुनी मान्यता पाएको १० वर्षको अवधिमा पाँच लाख ३३ हजार सात सय ४६ महिलाले सुरक्षित गर्भपतन गराएका हुन् ।

१० वर्षको समीक्षा गर्न बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । दस वर्षमा नेपालमा सूचीकृत संस्थामा गएर सुरक्षित गर्भपतन गराउनेको संख्या पाँच लाख ३३ हजार भए पनि सूचीकृत संस्था भने उल्लेख्य रूपमा वृद्धि हुन सकेको छैन । तथ्यांकअनुसार देशभर चार सय ८७ सूचीकृत केन्द्र र एक हजार दुई सय ७६ चिकित्सक र नर्सले सुरक्षित गर्भपतन सेवा दिने अनुमति पाएका छन् ।
कानुनी व्यवस्थाअनुरूप डाक्टरलाई १२ साता र नर्सलाई आठ साताको विशेष तालिम दिएर मात्रै गर्भपतनको अनुमति दिइन्छ । तालिमप्राप्त जोकोहीबाट ८ सातासम्मको र विशेष परिस्थतिमा १८ सातासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था छ । यसका साथै १८ साताको गर्भपतन सेवा स्त्रीरोग विशेषज्ञको सिफारिसमा निश्चित ठूला अस्पतालमा मात्रै उपलब्ध छ । विकलांग, गर्भवतीको मानसिक सन्तुलन गुमेको र बलात्कारबाट गर्भ रहेको अवस्थामा मात्र प्रक्रिया पुर्‍याएर १८ सातासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था छ ।
असुरक्षित गर्भपतनको संख्यामा कमी ल्याउन सरकारी संस्थामा एक हजार रुपियाँमा गर्भपतन गराउने व्यवस्था गरिएको र सबै जिल्लामा गर्भपतन गराउने संस्थामा विस्तार गरिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार स्वस्थ्य महाशाखाले जनाएको छ । महाशाखाकी जनस्वास्थ्य नर्स टीका उपाध्यायका अनुसार सरकारले १६ जिल्लामा स्वास्थ्यचौकीमा समेत सुरक्षित गर्भपतनको सेवा पुर्‍याउने तयारी गरिरहेको छ ।
सुरक्षित गर्भपतनसम्बन्धी काम गर्दै आएको गैरसरकारी संस्था पिएसआईका डा. आशिष केसीले सूचीकृत संस्था र व्यक्तिबाट गर्भपतन गराउनेको संख्यामा वृद्धि हुँदै गएको बताए । सुरक्षित गर्भपतन सेवाका कारण मातृ मृत्युदरमा धेरै कमी आएको डा. केसीको भनाइ थियो ।
सरकारी अस्पताल, मेरिस्टोप्स क्लिनिक, नेपाल परिवार नियोजन संघलाई सरकारले गर्भपतनको अनुमति दिएको छ । निजी स्तरमा खुुलेका थुप्रै स्वास्थ्य संस्था तथा केही स्वास्थ्यकर्मीबाट नै असुरक्षित गर्भपतन भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । (तस्विर गुगल)

प्रतिक्रिया