ट्रकबाट चन्दा रकम माग गर्ने पक्राउ

दाङ, १० असोज । दाङ जिल्लाको बिजौरीमा सवारी साधनबाट चन्दा रकम उठाउने दुई यवालाई आज प्रहरीले पक्राउ गरेको छ ।
मलखाद लिएर आउँदै गरेको ट्रक रोकेर रकम माग गर्ने बिजौरी–६ बस्ने २२ बर्षीय लोकबहादुर बस्नेत र २५ बर्षीय बसन्त ओलीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
रुपन्देहीबाट तुल्सीपुरतर्फ मलखाद लिई आउँदै गरेको ना.१ ख ९५२३ नम्वरको ट्रकलाई रा. १ प ६४५२ नम्वरको मोटरसाइकलमा आएका उनीहरुले रोकेर ५० हजार रुपियाँ माग गरेका थिए ।
ट्रक चालकको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
यसैवीच, काठमाडौंको मनमैजु लोकतान्त्रिक चोकस्थित मानसिंह धर्म उच्च माध्यामिक बिद्यालयमा परीक्षा विथोल्न खोज्ने विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
डिप्लोमा तथा प्रमाणपत्र तहको नियमित सिभिल ईन्जिनियरिङ तेस्रो बर्ष दोस्रो खण्डको परीक्षा संचालन भइरहेको अवस्थामा नियमित परिक्षार्थी जुम्ला जिल्ला लार्मा–१ घर भई गंगबु बानियाटार बस्ने २४ बर्षीय सूर्य डाँगीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले अचानक आफनो र परीक्षा दिईरहेका अन्य बिद्यार्थीको उत्तर पुस्तिका च्यातेर परीक्षा बिथोल्न खोजेकाले डाँगीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया