जीप दुर्घटनामा ६ यात्रुको मृत्यु

बाग्लुङ, १० असोज । पर्वत जिल्लाको शालिग्राम गाविसमा यात्रुबहाक जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा ३ यात्रु घाइते भएका छन् ।
स्याङ्गजाको वालिङ्गबाट पर्वतको उरामपोखरा तर्फ जाँदै गरेको ग १ ज ४६७९ नम्बरको जीप मंगलबार राति शालिग्राम–२, दरौखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर पवर्त जिल्लाकै उरामपोखराका ६८ वर्षीया बसुन्धरा भट्टराई, ५६ वर्षीय डिल्लीराम भुसाल, ६४ वर्षीय मनबहादुर बस्याल, यामबहादुर थापा, १८ वर्षीया जीतकुमारी थापा र ७६ वर्षीय भक्तराम रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका सहायक निरीक्षक श्याम अर्यालले जानकारी दिए ।
घाइते तीन यात्रुको स्याङ्गजाको वालिङ्गमा उपचार भैरहेको छ । जीप रानीपानी–हुवास सडक खण्डमा करिव ४ सय मिटर तल भीरबाट खसेको थियो । उकालो सडकमा जीप आफै पछाडी गएपछि नियन्त्रण हुन नसक्दा दुर्घटना भएको प्रहरी भनाई छ ।

प्रतिक्रिया