एनआरटी र एपिएफ पराजित, मध्यपुर र मच्छिन्द्र विजयी

काठमाडौं, १० असोज । राजधानीमा जारी एनसेलकप फुटबल प्रतियोगितामा मंगलबार दुई ठूला क्लब एनआरटी र सशस्त्र प्रहरी बल (एपिएफ) पराजित भए भने यसै सिजन ए डिभिजनमा उक्लिएको मध्यपुर युथ एसोसिएसनले सानदार प्रदर्शनलाई कायम राख्यो ।

समूहको दोस्रो खेलमा भिड्ने क्रममा एपिएफ मध्यपुर युथ एसोसिएसनविरुद्ध १–० ले पराजित भयो भने एनआरटीले मच्छिन्द्रलाई २–१ ले नतिजा सुम्पियो । समूहको पहिलो खेलमा नेपाल आर्मीसँग पराजित भएको एनआरटी यस नतिजासँगै समूहचरणबाटै बाहिरिने सम्भावना बलियो भएको छ ।
पहिलो खेलमा थ्री–स्टारविरुद्ध बराबरी खेलेको मध्यपुरका लागि सानदार नतिजा दिलाउने क्रममा भेट्रान निराजन रायमाझीले निर्णायक गोल गरेका थिए । २७औँ मिनेटमा डी–बक्सभित्रबाट हेडमार्फत गोल गर्दै निराजनले भक्तपुरको एकेडेमी क्लब मध्यपुरलाई जित दिलाएका हुन् । थ्री–स्टारबाट यसै सिजन मध्यपुर आएका राजकुमार घिसिङको फ्री–किक प्रहारलाई निराजनले सदुपयोग गरेका हुन् । त्यसको दुई मिनेटअघि मात्र राजकुमारले काउन्टर मुभ खेर फालेका थिए ।
दोस्रो हाफपछि एपिएफ आक्रामक देखिए पनि मध्यपुरका गोलकिपर विकेश कुथुको प्रदर्शन सराहनीय रहयो । ५२औँ मिनेटमा एपिएफका सुदीप श्रेष्ठको फ्री–किक प्रहार मध्यपुरका कुथुले आकर्षक बचाउ गरेका थिए । लगत्तै एपिएफले अर्को अवसर पाएको थियो तर सुदीप सिख्राकारको प्रहारलाई विफल तुल्याउन गोलकिपर कुथुले प्रशस्त मिहिनेत गरे । ६०औँ मिनेटमा कुथुद्वारा कृष्ण लामाको शक्तिशाली प्रहारको उत्कृष्ट बचाउ भयो । त्यसको तीन मिनेटपछि एपिएफका राजेन्द्र रावल गोलनजिक पुगे पनि अघिजस्तै यसपटक पनि राष्ट्रिय टिमका गोलकिपरसमेत रहेका कुथु बाधक बने । ८७औँ मिनेटमा बल पन्च गर्दै कुथुले टोलीको अन्तिम खतरा टारेपछि मध्यपुर विजयी भएको हो । दोस्रो हाफको इन्जरी समयमा मध्यपुर अग्रता दोब्बर बनाउने स्थितिमा देखिएको थियो तर राजकुमार घिसिङको सशक्त प्रहारको गोलकिपर समित राजभण्डारीले राम्रो बचाउ गरे ।
अन्तिम खेलमा मध्यपुरले फ्रेन्ड्सको सामना गर्नेछ । समूहको अर्को खेलमा थ्री–स्टार र एपिएफ भिड्नेछन् । मध्यपुरको चार अंक छ भने फ्रेन्ड्स र एपिएफको तीन तथा थ्री–स्टारको एक अंक छ । राष्ट्रिय टिमका सहायक प्रशिक्षकसमेत रहेका उपेन्द्रमान सिंहको प्रशिक्षणमा रहेको मध्यपुरका गोलकिपर विकेससँगै डिफेन्डर सरोज दाहाल र स्ट्राइकरद्वय जीवन सिन्केमान र राजकुमार घिसिङबाट प्रेरित छ ।
दोस्रो हाफको इन्जरी समयमा कर्ण लिम्बूले गोल गरेपछि मच्छिन्द्र, एनआरटीलाई लगातार दोस्रो हार सामना गराउन सफल भएको हो । तीन मिनेट इन्जरीबापत थपिएको समयमा कर्णले काउन्टर एटयाकमा गोल गरेका थिए । हिमालयन शेर्पाका पूर्वखेलाडी दीपक राईले काउन्टर एटयाकमा गोलकिपर राजु योगी अगाडि बढेको मौका छोपी बल फ्लिक गरे पनि बारमा लागेर बल फर्किएपछि कर्णले अगाडि बढ्दै रिबाउन्डमा गोल गरेका हुन् । खेलको अन्तिम समयमा मैदान छिरेर निर्णायक बन्ने छवि बनाएका जावलाखेलका पूर्वखेलाडी कर्णले यसपटक पनि आफ्नो छविलाई कायम राखे ।
यसअघि सुरुआती अग्रता लिन असफल भएको मच्छिन्द्र दोस्रो हाफमा पुनरागमन गर्न सफल भयो । १९औँ मिनेटमा सुशील केसीले राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको एनआरटीलाई अग्रता दिलाउन सफल भएका थिए । दिपेन राईले गरेको प्रहार मच्छिन्द्रका गोलकिपरले नियन्त्रणमा लिन नसक्दा अनमाक्र्ड देखिएका सुशीलले गोल गरेका थिए । ३५औँ मिनेटमा मच्छिन्द्रका दीपकले गरेको प्रहार साइडबारको नजिकैबाट गएको थियो । पहिलो हाफमा मच्छिन्द्रको डिफेन्स लाइन नियन्त्रित देखिएको थिएन भने उसका स्ट्राइकरहरूले पनि विपक्षी डिफेन्स लाइनलाई बिट गर्न सकेका थिएनन् । दोस्रो हाफमा भने मच्छिन्द्रले खेल सुधार गर्‍यो । डी–बक्सको नजिकै पाएको फ्री–किक अवसरलाई सदुपयोग गर्दै दीपकले ५३औँ मिनेटमा खेल बराबरीमा ल्याइपुर्‍याए । एनआरटीका गोलकिपर राजुले डाइभ गर्दै दीपकको प्रहार बचाउने प्रयास गरे पनि सफल हुन सकेनन् । ८८औँ मिनेटमा एनआरटीका रोशन लामिछानेले डी–बक्सबाहिरबाट गरेको प्रहार क्रसबारको नजिकैबाट बाहिरिएको थियो ।
यसै सिजन जावलाखेलका पहिलो रोजाइका आधा दर्जन खेलाडी तथा आरसिटीका प्रवेश कटुवाल र हिमालयनका दीपकलाई भित्र्याएर आफूलाई बलियो बनाउने प्रयास गरेको मच्छिन्द्रले समूहको पहिलो खेलमा मनाङ–मस्र्याङदीविरुद्ध हार व्यहोरेको थियो । समूहको अन्तिम खेलमा मच्छिन्द्रले नेपाल आर्मी र एनआरटीले मनाङको सामना गर्नेछ । मनाङको ६ अंक छ भने नेपाल आर्मी र मच्छिन्द्रको समान तीन अंक छ ।

प्रतिक्रिया