शीर्ष खेलाडीको विजयी सुरुआत

इलाम, १० असोज । जिल्ला सदरमुकाम इलामबजारस्थित स्थानीय महेन्द्ररत्न बहुमुखी क्याम्पसमा मंगलबारबाट रामप्रसाद गौतम स्मृति अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका खेलहरू सुरु भएका छन् । प्रतियोगिताको पहिलो दिन दुई चरणका खेल सम्पन्न भए । पहिलो दिनको खेलमा शीर्ष वरीयताका अधिकांश खेलाडीले जित हासिल गरे ।
इलाम बुद्धिचाल संघ र गजुरमुखी चेस क्लबद्वारा संयुक्तरूपमा आयोजित प्रतियोगितामा रसियन ग्रान्डमास्टर अलेक्जेन्डर फोमेनी, अस्ट्रेलियाका इन्टरनेसनल मास्टर अलेक्जेन्डर वोल र नेपाली फिडेमास्टरहरू मनीष हमाल र सुजेन्द्रप्रसाद श्रेष्ठले सहज जित हासिल गरे । त्यस्तै, भारतका निलद्रिशेखर भट्टाचार्य, पूर्वनेपाल च्याम्पियन बद्रीलाल नेपालीले पनि अपराजित रहँदै दुई अंक हासिल गरे । झापाका निरज निरौला, अनिल राजवाहक, भारतका दिलिप दास, भक्तपुरका गणेशमान दुवाल, कृष्ण थापा र मदनकृष्ण कायस्थले पनि पोल्टामा दुई अंक हासिल गरे । स्थानीय तीर्थमान राई काजीले पनि दुवै चरणमा सफलता हात पारे । तर तेस्रो बोर्डमा रहेका बंगलादेशी फिडेमास्टर अमिनुल इस्लाम भने दोस्रो चरणमा भारतका रौनक मण्डलसँग बराबरीमा रोकिएपछि १.५ अंक मात्र बटुल्न सफल रहे । स्मरण रहोस्, इस्लाम गत साता चरिकोटमा सम्पन्न माउन्ट गौरीशंकर अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता हुन् ।
गजुरमुखी निर्माण कम्पनीको मुख्य प्रायोजन र नेपाल निर्माण व्यवसायी महासंघ काठमाडौंको सहप्रायोजनमा सञ्चालित प्रतियोगितामा ग्रान्डमास्टर फोमेनीले पहिलो चरणमा आशुतोष कुमार र दोस्रो चरणमा राजेन्द्र राईलाई पराजित गरे । इन्टरनेसनल मास्टर बोलले भने पहिलो चरणमा भारतका अभिरूप कुन्डु तथा दोस्रोमा विकासकुमार द्विवेदीलाई पन्छाए । मनीषले भने प्रशान्त चेमजोङ र अनुष्टुप विश्वासलाई हराए । सुजेन्द्रले गणेश घिमिरे र डा. बद्रीप्रसाद थैबलाई हराए । पहिलो चरणमा बाइ पाएका गणेशमानले देवदास राहुललाई पराजित गरेका थिए । इलामका तीर्थमानले पहिलो चरणमा मकवानपुरका बलराम सञ्जेल तथा दोस्रोमा माधव चौलागाईंलाई हराए ।
धुव्रतारा क्लब झापाका निरजले पहिलो र दोस्रोमा भारतका धन्य दास र दोस्रोमा नेपालका राजेन्द्रप्रसाद रिजाललाई हराएका थिए ।
पहिलोमा देवराज घिमिरेलाई हराएका गोल्डेनगेट कलेजका मदनकृष्णले दोस्रोमा राहुल गुरुङलाई पराजित गरेका थिए । पुरुषोत्तम चौलागाईंले पनि दुवै चरणमा जित हासिल गरे । प्रतियोगिताका सबैभन्दा पाका खेलाडी सीताराम अग्रवालले भने मिश्रित नतिजा हासिल गरे । कामपा २५ वडा टोलसुधार समितिका उनले पहिलो चरणमा कृष्ण गोपाल नापितसँग पराजित भए पनि दोस्रोमा वेदमंगल खतिवडालाई हराउँदै खाता खोले  ।
फिडेको स्विस लिग प्रणालीअनुसार १० चरणसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले ६० हजार, दोस्रो हुनेले ४० हजार तथा तेस्रो हुनेले २५ हजार रुपियाँ प्राप्त गर्नेछन् । जम्मा नगद पुरस्कार ३ लाख रुपियाँ रहेको प्रतियोगितामा विभिन्न ४० विधामा उत्कृष्ट खेलाडीले नगद पुरस्कार हात पार्नेछन् । प्रतियोगितामा नेपालसहित रुस, अस्ट्रेलिया, अमेरिका, क्यानाडा, भारत र बंगलादेशका १३९ खेलाडीको सहभागिता रहेको आयोजक गजुरमुखी चेस क्लबका अध्यक्ष माधव चौलागाईंले बताए ।

प्रतिक्रिया