बलेवा विमानस्थल सञ्चालनमा निजी क्षेत्रले सहयोग गर्ने

बाग्लुङ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले बाग्लुङको बलेवा विमानस्थल सञ्चालन र हेलिकोप्टर खरिदका लागि स्थानीयस्तरबाट पहल गरे आफूले सहयोग गर्ने बताएका छन् ।

पर्वत उद्योग वाणिज्य सघंले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले विमानस्थल सञ्चालनमा ल्याएर स्थानीय स्तरमा लगानी गरी हेलिकोप्टर किन्न सहयोग गर्ने बताएका हुन् ।
‘तपाईंहरू विमानस्थल सञ्चालनमा ल्याउनुस् र लगानी गर्न तयार हुनुस्’ वैद्यले भने, हेलिकोप्टर किन्न लाग्ने रकमको २० प्रतिशत रकम लगानी गर्न म आफँै तयार छु ।’ निजी क्षेत्रको पहलमा निर्माण हुन लागेको कुस्मा–बलेवा यान्त्रिक पुलको अवलोकनका अवसरमा उनले स्थानीय उद्योगी/व्यवसायीको प्रयासको प्रशंसा समेत गरे ।
वैद्यले मुलुकमा देखिएको राजनीतिक अस्थिरताका कारण निजी क्षेत्र सबैभन्दा बढी संकटमा परेको गुनासो गरे । पूर्णबजेट नआएसम्म मुलुकको आर्थिक विकास हुन नसक्ने भन्दै वैद्यले सरकार यसप्रति गम्भीर हुनुपर्ने धारणा राखे । उनले आंशिक बजेट ल्याएर मुलुकलाई कुनै फाइदा हुन नसक्ने दाबी गर्दै यसबाट विकास निर्माणका कामले पनि गति लिन नसक्ने जनाए । दलहरू सधैँ सत्ता मोह र जनतालाई झुक्याउने खेलमा मात्रै लागेका कारण निजी क्षेत्र तथा बाह्य लगानीमैत्री वातावरण नबनेकामा उनले रोष व्यक्त गरे । कार्यक्रममा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले यान्त्रिक पुलको निर्माण प्रक्रिया र अवस्थाका बारेका जानकारी गराएका थिए । (सौस)

प्रतिक्रिया