सुकेटार विमानस्थल गौचरणमा परिणत

ताप्लेजुङ, १० असोज । सुकेटार विमानस्थल गाईभैँसी चराउने स्थल बनेको छ । धावनमार्गमा तारबार नगरिएकाले विमानस्थलमा गोठालाले खुलेआम गाइवस्तु चराउने गरेका छन् ।

गाईवस्तु तथा यातायातका अन्य साधन प्रवेश निषेध गरे पनि तारबार नभएपछि समस्या भएको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेसन मेनेजर हेमन्तकुमार उप्रेतीले जानकारी दिए । तारबार गर्ने काम गत वैशाखदेखि नै सुरु गर्ने भनिएकोमा अहिलेसम्म भएको छैन । निर्माणको जिम्मा लिएको रौताहा कन्ट्रक्सन प्रालिका ठेकेदार राजकुमार दाहालले वर्षात्को कारण देखाउँदै निर्माणकार्य ढिला भएको बताए । निर्माणका लागि करिब ७७ लाख रुपियाँ विनियोजन भइसकेको उनले बताए । मौसम अनुकूल बन्दै गएकाले अब चाँडै तारबार निर्माण गरिने उनको भनाइ छ । विमानस्थलको सुरक्षामा आठ जनाको प्रहरी टोली खटिए पनि अहिले विमानस्थल सुरक्षा तथा चौपाया नियन्त्रण भएको छैन । आफूले प्रहरीलाई विमानस्थल क्षेत्रमा गाईभैँसी, मोटरसाइकल र अन्य गाडी सञ्चालनमा निषेध गर्न आग्रह गरिएको उनले जानकारी दिए ।
यसैबीच प्रतिकूल मौसमका कारण बन्द रहेको तीन महिनापछि गत शुक्रबारबाट नै हवाईसेवा सुरु गर्ने तयारी भएकोमा टावरका कर्मचारी (एयर ट्राफिक कन्ट्रोलर) नआएकै कारण उडान स्थगन भएको उप्रेतीले बताए । उप्रेतीका अनुसार हवाईसेवा विभागमा १५ दिनअगावै उडान सञ्चालन गर्ने विषयमा जानकारी गराइएको थियो । उनले सम्बन्धित अन्य निकायमा समेत पत्राचार गरी सोहीबमोजिम उडानको तयारी गरिएको बताए । विमानस्थलमा हरेक वर्षायाममा मौसम अनुकूल नहुँदा १ जुलाईदेखि १५ सेप्टेम्बरसम्म उडान बन्द गर्ने गरिन्छ । यो वर्ष पनि वर्षात्सँगै विमानस्थल हिलाम्मे भएपछि १० जुन अर्थात् गत २८ जेठबाट नै उडान बन्द गरिएको थियो ।
मौसममा आएको सुधारसँगै उडान सञ्चालन गरिने भएपछि शुक्रबारका लागि १४ यात्रुले टिकट लिएका थिए । तर जहाज नआएपछि टिकटको रकम फिर्ता गरिएको उप्रेतीले जानकारी दिए । उपचारमा जाने बिरामीले समेत टिकट लिएका थिए । उनीहरूलाई एम्बुलेन्समार्फत अन्यत्र लगिएको छ ।
पर्यटकीय सिजन सुरु भएको र चाडपर्व पनि नजिकिइरहेका बेला जहाज नआउँदा यो मार्ग भई यात्रा गर्नेलाई समस्या भएको छ । विमानस्थल विस्तारपछि पनि सहज हवाईसेवा पाउन नसकिएको यात्रुले गुनासो गरेका छन् । यसअघि विमानस्थल पुन: निर्माणको क्रममा डेढ वर्षसम्म बन्द भएकोमा गत माघदेखि निर्माण सुचारु भएको थियो ।

पोखरामा उडान अवरोध

पोखरा, १० असोज । पोखरामा क्षेत्रीय विमानस्थल माग्दै आन्दोलनरत समूहले मंगलबार साढे तीन घण्टा पोखरा विमानस्थल ठप्प पारेका छन् । पोखरेलीले गरेको प्रदर्शनका कारण पोखरा विमानस्थलमा बिहान ८:३० बजेदेखि १२ बजेसम्म उडान ठप्प भएको हो ।
विमानस्थल बन्द गराउने क्रममा साढे ८ बजेपछि पनि उडान भरेको भन्दै आन्दोलनकारीले यति एयरलाइन्सको सिटी अफिसमा सामान्य तोडफोडसमेत गरेका थिए । तोडफोडबाट अफिसमा सामान्य क्षति पुगेको यति एयरलाइन्सले जनाएको छ । तोडफोडपछि विमानस्थलमा सुरक्षा तैनाथी बढाइएको थियो । विमानस्थलको माग गर्दै पोखरेलीले गठन गरेको विमानस्थल निर्माण सरोकार समितिको आह्वानमा १५ असोजसम्म प्रत्येक दिन दैनिक साढे तीन घन्टा उडान ठप्प हुने सरोकार समितिले जनाएको छ ।
विमानस्थल ठप्प हुँदा हवाईमार्गबाट पोखरा भित्रिने र बाहिरिने हवाईयात्रु मर्कामा परेका थिए । प्रदर्शनकारीले विमानस्थल गेटमा नाराबाजी गर्नुका साथै विभिन्न गीत प्रस्तुत गरेका थिए ।
नागरिक दबाबअन्तर्गत पोखरा विमानस्थल अगाडिको रिले अनशन र धर्ना कार्यक्रम मंगलबार पनि जारी छ । मंगलबार बिहान ८ बजेदेखि राति ८ बजेसम्म भारतीय भूपू सैनिक संगठनका पदाधिकारी अनशनमा बसेका छन् ।
सरोकार समितिले विमानस्थल निर्माणमा दबाब दिन १६ असोजमा सिंहदरबार घेराउ कार्यक्रम निर्धारण गरेको समितिका सदस्य आनन्दराज मुल्मीले जानकारी दिए ।

प्रतिक्रिया