प्रधानमन्त्री भट्टराई जंगी अड्डामा

काठमाडौं, ९ असोज । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली सेनाको भद्रकालीस्थित जंगी अड्डा पुगेर सैनिक गतिविधी र अन्य विविध विषयमा जानकारी लिएका छन् ।
मन्त्रीहरुको दलबल सहित पुगेका भट्टराईले सेनाको कामकारबाही, र अन्य विविध विषयमा जानकारी लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । नयाँ प्रधान सेनापतिले जिम्मेवारी सम्हालेको र सेना समायोजनको काम अन्तिम चरणमा पुगेका बेला भट्टराईले जंगी अड्डाको भ्रमण गरेका हुन् ।
प्रधानमन्त्री र मन्त्रीहरुको प्रधानसेनापति गौरब शम्शेर जबराले स्वागत गरेका थिए । सहायक रथीद्वय पदम विलाश कार्की र  हरिबहादुर बस्नेतले नेपाली सेनाको सांगठनिक संरचना, जिम्मेवारी र नेपाली सेनाबाट भईरहेका काम तथा विभिन्न गतिविधीहरुका सम्बन्धमा जानकारी गराएको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री भट्टराईसँग उप–प्रधानमन्त्री समेत रहेका गृह मन्त्री विजय गच्छदार, भौतिक योजना तथा निर्माणमन्त्री हृदयश त्रिपाठी, अर्थ मन्त्री वर्षमान पुन एवं मुख्य सचिव लीलामणि पौडेल र रक्षा सचिव तिलकराम शर्मालगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया