गठबन्धनमा आमसभाको तयारी तिव्र

काठमाडौं, ९ असोज । सत्तारुढ दल आबद्ध ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ले आगामी सातादेखि शुरु गर्न लागेको आमसभाको तयारी युद्धस्तरमा भईरहेको जनाएको छ ।
गठबन्धनका प्रवक्ता प्रमेबहादुर सिंहका अनुसार असोज–१७ गते विराटनगरलगायतका प्रमुख शहरमा हुन लागेका आमसभाहरुको तयारी अन्तिम चरणमा रहेको बताए । आमसभा तयारीको जिम्मा तीन स्थानमा एमाओवादीले लिएको छ भने एक ठाउँमा मधेसी मोर्चाको जिम्मेवारीमा छ । काठमाडौंमा भने सचिवालयले गर्ने छ ।
‘विराटनगर, नेपालगञ्ज र पोखराको आमसभाको संयोजन एमाओवादीले गर्छ,’ प्रवक्ता सिंहले भने, ‘जनकपुरमा मधेसी मोर्चाले तयारी गरिरहेको छ ।
आमसभालाई आवश्यक पर्ने आर्थिक, भौतिक तथा व्यवस्थापनलगायतको पूर्वाधार जुटाउन पनि एमाओवादी र मधेसी मोर्चाले आन्तिरिक रुपमा जिम्मेवारी बाँडफाँट गरेका छन् ।
प्रवक्ता सिंहका अनुसार आमसभाका लागि अत्याधिक रकम आवश्यक पर्ने जनाएका छन् । उनले कति रकम आवश्यक पर्ने हो त्यस बारेमा केही बताएनन् ।
गठबन्धनका साना दलले आमसभाको तयारी गर्ने हैसियत राख्न नसके पछि एमाओवादी र मधेसी मोर्चाले मात्रै आमसभा तयारीको जिम्मेवारी लिएको स्रोतले जनाएको छ ।
‘गठबन्धनमा रहेका साना दलहरुले तयारी गर्न नसक्ने जवाफ दिए पछि दुई ठूला दलले मात्रै तयारीको जिम्मा लिएका हुन्’ स्रोतको भनाई छ ।
नयाँ संविधान, पहिचान सहितको संघीयता तथा निर्वाचनको माहोल बनाउन एमाओवादी नेतृत्वको गठबन्धनले मुलुकका पाँच स्थानमा आमसभा गर्दैछ । पहिलो आमसभा असोज–१७ गते विराटनगर, १९ गते जनकपुर, २१ गते नेपालगञ्ज, २३ गते पोखरा र अन्तिममा २६ गते काठमाडौंमा हुने छ । गठबन्धनको विपक्षी दलहरुले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया