सर्वाधिक पुरस्कार राशिको लन्डन स्नुकर आजबाट

काठमाडौं : नेपाली स्नुकरको इतिहासमै सर्वाधिक नगद पुरस्कार राशिको प्रथम लन्डन खुला स्नुकर प्रतियोगिता मंगलबारदेखि सुरु हुँदै छ । पहिलो हुनेले एक लाख, दोस्रोले ५० हजार र तेस्रो हुने द्वयले समान १५–१५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता आयोजक लन्डन स्नुकर हाउसका अध्यक्ष शिवकुमार राईले जनाएका छन् । यसअघिका स्नुकर प्रतियोगिताहरूमा विजेताले ५० हजार रुपियाँसम्म नगद पुरस्कार पाएका छन् ।
त्यस्तै सर्वाधिक ब्रेककर्तालाई १५ हजार रुपियाँ प्रदान गरिनेछ भने प्रि–क्वार्टरफाइनलसम्म पुग्ने खेलाडीलाई प्रोत्साहनस्वरूप ३ हजार रुपियाँ दिइनेछ । प्रतियोगितामा १ सय २८ खेलाडीको सहभागिता निश्चित भइसकेको स्नुकर राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीले बताए । व्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । अनुमानित बजेट ६ लाख रुपियाँ रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा भगवती हाउजिङ प्रालि रहेको छ भने सह–प्रायोजकमा नूतन कलेक्सन बुटिक, क्रिस्टल पार्टी प्यालेस तथा महालक्ष्मी पार्टी भेन्यु छन् । खेल ललितपुरको मानभवनस्थित लन्डन स्नुकर हाउसमा हुनेछन् । (सौस)

प्रतिक्रिया